+
+
Shares

मधेशी भएकै कारण फिल्मबाट निकालिएको अभिनेत्री कर्णको आरोप

कलाकार संघले छलफलमा बोलायो

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २८ गते ११:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री काजल कर्णले 'चिरञ्जीवि भवः' फिल्मको सेटमा आफूमाथि मधेशी भएकै आधारमा विभेद र उपहास गरिएको भन्दै गम्भीर आरोप लगाएकी छन् ।
  • निर्देशक दीपक आचार्यले अभिनेत्रीको आरोपको खण्डन गर्दै सेटमा कसैलाई विभेद नभएको र दोषी पाइए कारबाही गरिने प्रतिबद्धता जनाउनुभएको छ ।
  • चलचित्र कलाकार संघले दुवै पक्षलाई छलफलमा बोलाउँदै सामाजिक सञ्जालमा बहस नगरी आपसी संवादमार्फत समस्या समाधान गर्न आग्रह गरेको छ ।

काठमाडौं । छायांकनरत फिल्म ‘चिरञ्जीवि भवः’ को विवाद सतहमा आएको छ । अभिनेत्री काजल कर्णले शुक्रबार राति सामाजिक सञ्जालमार्फत मधेशी भएकै आधारमा आफूलाई विभेद गर्दै फिल्मबाट निकालिएको दाबी गरेकी छन् ।

३५० भन्दा धेरै मैथिली, भोजपुरी र नेपाली म्यूजिक भिडियोमा काम गरेकी कर्णले उक्त फिल्मको सेटमा आफूलाई मधेशिनी भन्दै जिस्काइएको, वर्ण तथा भूगोलमाथि उपहास गरिएको बताएकी छन् ।

उनले फिल्मको सेटमा आफूमाथि प्राविधिक र छायांकन सदस्यद्वारा भएको भनिएका उपहास र विभेदको वर्णन गरेकी छन् । उनले केही प्राविधिक सदस्यको नामै लिएर उनीहरू यस्तो कार्यमा सहभागी भएको टिप्पणी गरेकी हुन् ।

यतिमात्र होइन, आफूलाई पारिश्रमिक समेत नदिएको आरोप उनको छ । सम्भवतः कुनै कलाकारले यसरी आफू मधेशी भएको कारण प्रोजेक्टबाट निकालिएको आरोप लगाएको यो पहिलोपटक हो ।

के भन्छन् निर्देशक काकु ?

यो फिल्मका निर्देशक दीपक आचार्य ‘काकु’ले अभिनेत्री कर्णको आरोपमा कुनै सत्यता नरहेको दाबी गरेका छन् । ‘मलाई उहाँले कुनै जानकारी गराउनुभएको छैन’ काकु फेसबुकमा लेख्छन्, ‘यदि कुनै सदस्यबाट उहाँले आरोप लगाएजस्तो व्यवहार गरेको पुष्टि भएमा गल्ती गर्ने जो कोहीलाई पनि १ सेकन्ड अविलम्व नगरी कारबाही गरिनेछ ।’

कर्णले अभिनय गरेका हरेक अभिनयको फुटेज आफूहरू सुरक्षित रहेको भन्दै काकुले गोबर सोहर्न लगाएकोजस्ता आरोप पुष्टि गर्न चुनौती समेत दिएका छन् । पारिश्रमिकको तेस्रो किस्ता चाहिँ सबै कलाकारलाई डबिङ पछि मात्र दिइने उनले बताएका छन् ।

कलाकार संघले छलफलमा बोलायो

चलचित्र कलाकार संघले यो विवादमा अहिलेसम्म संस्थामा उजुरी नपरेको र दुवै पक्षलाई छलफलमा बोलाएको जनाएको छ । संघले विज्ञप्ति जारी गर्दै अभिनेत्री कर्णले लगाएका आरोप गम्भीर प्रकृतिका भएकाले छलफल र अनुसन्धानपछि मात्र विवाद निरुपण गर्न सकिने बताएको छ ।

कलाकार संघले यस घटनामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘चलचित्र कलाकार र निर्माण पक्षबीच यस्तो प्रकारको परिस्थिति सिर्जना हुनु समग्र नेपाली चलचित्र उद्योगका लागि सकारात्मक विषय होइन’ कलाकार संघले भनेको छ, ‘यस विषयलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा अभिव्यक्त गर्नुको सट्टा दुवै पक्ष संयमित भई आपसी संवाद र छलफलमार्फत समस्याको समाधान गर्न नेपाल चलचित्र कलाकार संघ हार्दिक अपिल गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?