News Summary
Generated by OK AI. Editorially reviewed.- राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले देशको जलन उपचार प्रणाली र आन्दोलनका घाइतेहरूको व्यवस्थापनबारे सरकारको ध्यानाकर्षण गराएकी छिन्।
- सांसद ओलीले सरकारका निर्देशनहरू प्रचारमुखी मात्र भएको टिप्पणी गर्दै बर्न वार्ड सञ्चालन गर्ने निर्देशनको आधिकारिकतामाथि प्रश्न उठाएकी छिन्।
- उनले कीर्तिपुर बर्न अस्पताललाई राष्ट्रिय प्रशिक्षण केन्द्र बनाउन र रोक्का रहेको ८ करोड रुपैयाँ तत्काल निकासा गर्न सरकारसँग माग गरेकी छिन्।
३० असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले देशको स्वास्थ्य प्रणाली, जलन (बर्न) उपचारको अवस्था र आन्दोलनका घाइतेहरूको व्यवस्थापनका विषयमा सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ओलीले सरकारका निर्देशनहरू प्रचारमुखी मात्र भएको र धरातलीय यथार्थभन्दा टाढा रहेको टिप्पणी गरेकी हुन् ।
प्रमुख सचेतक ओलीले प्रधानमन्त्री कार्यालयले विभिन्न अस्पतालमा ‘बर्न वार्ड’ पूर्ण रूपमा सञ्चालन गर्न दिएको भनिएको निर्देशनको आधिकारिकतामाथि प्रश्न उठाइन् ।
सम्बन्धित निकायहरूबाट औपचारिक निर्देशन प्राप्त नभएको जानकारी आएको उल्लेख गर्दै उनले निर्णय भएको भए स्पष्ट पार्न र नभएको भए खण्डन गर्न सरकारलाई चुनौती पनि दिइन् ।
सांसद ओलीले कीर्तिपुर बर्न अस्पताललाई ‘राष्ट्रिय प्रशिक्षण केन्द्र’ बनाएर देशभरका स्वास्थ्यकर्मीलाई कम्तीमा एक वर्ष वा तत्कालका लागि एक महिनाको भएपनि विशेष जलन व्यवस्थापन तालिम दिन सुझाव दिइन् ।
साथै, प्रदेश अस्पतालहरू सक्षम नहुँदासम्म देशभरका जलनका बिरामीलाई कीर्तिपुरमा नि:शुल्क र शिघ्र रिफर गर्ने राष्ट्रिय संयन्त्र निर्माण गर्न माग उनले गरिन् ।
कीर्तिपुर अस्पतालका लागि विनियोजित ८ करोड रुपैयाँ अघिल्लो सरकारको समयदेखि नै रोक्का भएको भन्दै उनले उक्त रकम तत्काल उपलब्ध गराउन आग्रह गरिन् ।
‘नेपालका १८ वटा अस्पतालमा बर्न वार्ड त छन्, तर भवन र शय्या हुनु मात्रै उपचारको सुनिश्चितता होइन । दक्ष जनशक्ति, प्लास्टिक सर्जन, प्रशिक्षित नर्स र आवश्यक उपकरणबिनाको बर्न वार्डले बिरामीको ज्यान जोगाउन सक्दैन,’ उनले भनिन् ।
कीर्तिपुर बर्न अस्पतालको स्थलगत अवलोकन र सरोकारवालासँगको छलफललाई उद्धृत गर्दै उनले नेपालमा वार्ड मात्र नभई समग्र ‘बर्न उपचार प्रणाली’ मै सुधारको खाँचो रहेको औँल्याए ।
प्रतिक्रिया 4