News Summary
Generated by OK AI. Editorially reviewed.- संसद्मा दर्ता आर्थिक विधेयकको करको दर हेरफेर गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा मागेको छ ।
- राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले "नैतिकता र निश्पक्षताको दृष्टिकोणले उहाँ (अर्थमन्त्री) जिम्मेवारीबाट पर रहनुपर्छ" भनिन् ।
- जेठ १५ मा संसद्मा दर्ता विधेयकका १६ पृष्ठ हटाएर अर्थ मन्त्रालयले फेरबदल गरेपछि सरकारको आलोचना भएको छ ।
२६ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा मागेको छ ।
आर्थिक विधेयकमा करको दर हेरफेर गरेको विषयमा राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले छानबिनको माग गर्दै छानबिन प्रक्रिया अगाडि बढाउन अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताएकी हुन् ।
‘नैतिकता र निश्पक्षताको दृष्टिकोणले उहाँ (अर्थमन्त्री) जिम्मेवारीबाट पर रहनुपर्छ’ उनले भनिन् ।
संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकका १६ पेज हटाएर अर्थमन्त्रालयले नयाँ रूपमा विधेयक अगाडि सारेपछि यो विषयमा सरकारको आलोचना भइरहेको छ ।
अर्थमन्त्री डा. वाग्लेले यही जेठ १५ गते आर्थिक विधेयक ल्याएका थिए ।
उक्त विधेयकमा आर्थिक विधेयक पृष्ठ संख्या ४६४ छ । अर्थ मन्त्रालयले फेरबदल गरेर आफ्नो वेबसाइटमा राखेको विधेयकको पृष्ठ संख्या ४४८ छ ।
अर्थमन्त्रालयले १६ पेज हटाएर विधेयक सार्वजनिक गरेको हो ।
संसद पेस गरेको र अर्थ मन्त्रालयले आफ्नो वेबसाइटमा पछिल्लो पटक राखेको आर्थिक विधेयकमा करसम्बन्धी व्यवस्थामै फरकपन छ ।
संसद्का जानकारहरूका अनुसार संसद्मा पेस भइसकेको विधेयकमा संशोधन गर्न संसद्को अनिवार्य स्वीकृति चाहिन्छ । संसद्मा पेस गरिसकेको आर्थिक विधेयकमा भएका विषय सच्याउनका लागि पहिला संसद्मा संशोधन ल्याउनुपर्ने हुन्छ । संसद्मा पुगिसकेको विधेयकमा अर्थ मन्त्रालयले आफैं सच्याउन पाउने कानुन छैन ।
यसबारेको प्रश्नमा यसअघि नै श्रम संस्कृति पार्टीले अर्थमन्त्रीको राजीनामा मागिसकेको छ । यस्तैमा राप्रपाले पनि अर्थमन्त्रीको राजीनामा मागेको हो ।
प्रतिक्रिया 4