+
+
Shares

एक वर्षमा ५८ अर्ब प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता, अघिल्लो वर्षभन्दा कम

अघिल्लो आव २०८१/८२ मा ६५ अर्ब रुपैयाँ हाराहारी प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त आएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १ गते १७:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले आर्थिक वर्ष २०८२/८३ मा कुल ५८ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त गरेको छ।
  • अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष लगानी प्रतिबद्धता रकममा केही कमी आएको उद्योग विभागले जनाएको छ।
  • चालू आवमा दर्ता भएका कुल १ हजार १ सय १६ उद्योगमध्ये अधिकांश सूचना प्रविधि क्षेत्रका रहेका छन्।

१ साउन, काठमाडौं । नेपालले एक वर्ष अवधि (आव २०८२/८३) मा ५८ अर्ब रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त गरेको छ ।

उद्योग विभागका अनुसार यसरी आएको लगानी प्रतिबद्धता अघिल्लो आव २०८१/८२ को तुलनामा भने घटेको छ । त्यसबेला ६५ अर्ब रुपैयाँ हाराहारी लगानी प्रतिबद्धता प्राप्त भएको थियो ।

यस वर्ष कुल १ हजार १ सय १६ उद्योग दर्ता भएका छन् । यसमध्ये ८ यस ९७ उद्योग अटोमेटिक रुटबाट दर्ता भएका हुन् । अप्रुभल रुटबाट ४८ अर्ब ४१ करोड र अटोमेटिक रुटबाट ९ अर्ब ५८ करोड बराबर प्रत्यक्ष लगानी प्रतिबद्धता आएको छ ।

असार २०८३ मा १० अर्ब ३८ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता आएसँगै अन्तिम समयमा कुल रकम ह्वात्तै बढेको हो । यस आव साउनमा मात्र २० अर्ब हाराहारी लगानी प्रतिबद्धता आएको थियो । साउन, फागुन र असार बाहेक अन्य महिना भने प्रतिबद्धता आउने दर दर न्यून रह्यो ।

ठूला र मझौला उद्योग १२/१२

यस वर्ष आएको लगानी प्रतिबद्धतामध्ये ठूला र मझौला उद्योग १२/१२ मात्र दर्ता भएका छन् । विभागका अनुसार अन्य १ हजार ९२ उद्योग भने साना प्रकृतिका छन् । असारमा मात्र दर्ता भएका २ सय २ उद्योगमध्ये ठूला ३, मझौला १ र अन्य साना प्रकृतिका छन् ।

यस वर्ष सबैभन्दा धेरै सूचना प्रविधिमूलक उद्योग ७ सय २७ दर्ता भएका छन् । यी उद्योगमा २ अर्ब ८३ करोड बराबर लगानी प्रतिबद्धता आएको छ ।

त्यस्तै पर्यटनमूलक उद्योग २ सय २७ दर्ता भएका छन् । जसमा १३ अर्ब ९९ करोड लगानी प्रतिबद्धता आएको देखिएको छ । सेवामूलक उद्योग ७१ दर्ता भएकोमा ४ अर्ब ९१ करोड बराबर लगानी प्रतिबद्धता आएको छ ।

कृषिमा १८ उद्योग दर्ता भएकोमा लगानी प्रतिबद्धता सर्वाधिक २३ अर्ब १८ करोड बराबर आएको विभागले जनाएको छ । उत्पादनमूलकमा ६३ उद्योग दर्ता भएको र लगानी प्रतिबद्धता ३ अर्ब ९१ करोड बराबर आएको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?