News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्ष २०८२/८३ को ७ महिनामा ४० अर्ब २८ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ।
- माघसम्म सूचना प्रविधि क्षेत्रमा २ सय ८८, पर्यटनमा १ सय ५० उद्योग दर्ता भएका छन् भने कृषिमा सबैभन्दा बढी २१ अर्ब ९० करोड रुपैयाँ लगानी प्रतिबद्धता छ।
- यस अवधिमा दर्ता भएका उद्योगले कुल २० हजार ८ सय ९६ रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
१ फागुन, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ७ महिना (साउन-माघ) मा ४० अर्ब २८ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ ।
उद्योग विभागका अनुसार यस अवधिमा अटोमेटिक रुटबाट ३ अर्ब २५ करोड र अप्रुभल रुटबाट ३७ अर्ब ३ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।
यो अघिल्लो आव सोही अवधिको तुलनामा साढे १३ अर्ब रुपैयाँले धेरै हो । गत आव माघसम्म २६ अर्ब ८४ करोड १७ लाख बराबर एफडीआई स्वीकृत भएको थियो ।
यस वर्ष पहिलो महिना साउनमै २० अर्बभन्दा बढी लगानी प्रतिबद्धता आएको थियो । जसको आडमा ७औं महिनासम्म एफडीआई प्रतिबद्धता ४० अर्ब नाघेको हो ।
माघसम्म एफडीआईका कुल ५ सय २५ उद्योग दर्ता भएको विभागले जनाएको छ । यसमध्ये अटोमेटिक रुटबाट ३ सय ५१ र अप्रुभल रुटबाट १ सय ७३ उद्योग दर्ता भएका छन् । सरकारले यसै वर्षबाट अटोमेटिक रुटमा माथिल्लो सीमा हटाएर लगानी सहजीकरण समेत गरेको छ ।
यस अवधिसम्म ८ ठूला, ८ मझौला र ५ सय ७ साना उद्योग दर्ता भएको समेत विभागले जनाएको छ । माघमा मात्र कुल १ अर्ब ४ करोड रुपैयाँ बराबर एफडीआई प्रतिबद्धता आएको छ । कुल ४९ उद्योग दर्ता भएका छन् । यस महिना आएका उद्योगमा एक ठूलो उद्योग छ । अन्य साना उद्योग दर्ता भएको विभागको तथ्यांक छ ।
माघसम्म सबैभन्दा धेरै सूचना प्रविधिसँग सम्बन्धित उद्योग दर्ता भएका छन् । यस्ता उद्योग २ सय ८८ छन् । पर्यटनमूलक उद्योग १ सय ५० छन् । उत्पादनमूलक उद्योग ३५, सेवामूलक ३४, कृषि १४, खनिज २ र ऊर्जामा एक उद्योग दर्ता भएका छन् । रकमका हिसाबमा सबैभन्दा धेरै कृषिमा २१ अर्ब ९० करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता आएको छ ।
दोस्रो स्थानमा पर्यटन छ । जसमा १० अर्ब ८६ करोड बराबर प्रतिबद्धता आएको छ । सेवामूलकमा ३ अर्ब ५४ करोड र उत्पादनमूलकमा २ अर्ब ४० करोड बराबर लगानी प्रतिबद्धता आएको छ ।
यस अवधिमा दर्ता भएका उद्योगले कुल २० हजार ८ सय ९६ रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । माघमा मात्र दर्ता भएका उद्योगले ६ सय ८७ जनालाई रोजगारी दिने बताएका छन् ।
उद्योग विभागका अनुसार अहिलेसम्म कुल ६ खर्ब ७६ अर्ब ४८ करोड रुपैयाँ बराबर एफडीआई प्रतिबद्धता आइसकेको छ । कुल ७ हजार ७ सय ६२ उद्योग दर्ता भएका छन् । जसले ३ लाख ६२ हजार ३ सय ८५ रोजगारी सिर्जनाको प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रतिक्रिया 4