News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपालमा एफडीआई प्रतिबद्धता ३९ अर्ब २३ करोड ६१ लाख रुपैयाँ पुगेको छ।
- साउन महिनामा सबैभन्दा बढी २४ अर्ब १० करोड रुपैयाँ बराबर एफडीआई स्वीकृत भए पनि त्यसयता लगानी प्रतिबद्धता निरन्तर घटेको छ।
- पुससम्म दर्ता भएका उद्योगमध्ये ५४ प्रतिशत सूचना प्रविधिमा आधारित र ३१ प्रतिशत पर्यटन क्षेत्रमा केन्द्रित छन्।
२ माघ, काठमाडौं । जेनजी आन्दोलनपछि नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता निरन्तर घट्दै गएको देखिएको छ ।
उद्योग विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिना (साउन–पुस) सम्म एफडीआई प्रतिबद्धता ३९ अर्ब २३ करोड ६१ लाख रुपैयाँ बराबर आएको छ । यो गत आवको तुलनामा बढी हो ।
तर, साउनमा सबैभन्दा बढी लगानी प्रतिबद्धता आएकोमा त्यसयताका सबै महिना निरन्तर घट्दो क्रममा देखिएको छ ।
साउनमा २४ अर्ब १० करोड रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको थियो । त्यसयता पाँच महिनामा भने १५ अर्ब रुपैयाँ हाराहारी मात्र लगानी प्रतिबद्धता आएको तथ्यांकले देखाउँछ ।
त्यस्तै भदौमा ८ अर्ब ९८ करोड बराबर लगानी प्रतिबद्धता आएको थियो । २३ र २४ भदौको जेनजी आन्दोलनपछिका महिनामा भने यसरी आउने लगानी प्रतिबद्धतामा ह्वात्तै ब्रेक लागेको तथ्यांक छ ।
साउन र भदौमा गरी कुल ३३ अर्ब ९ करोड बराबर लगानी प्रतिबद्धता आएको थियो । असोजसम्म ३५ अर्ब १३ करोडमात्र लगानी प्रतिबद्धता पुग्यो । कात्तिकमा पुग्दा कुल ३६ अर्ब ६८ करोड लगानी प्रतिबद्धता आएको देखिएको छ ।
मंसिरसम्म ३८ अर्ब ५१ करोड रुपैयाँ बराबर प्रतिबद्धता पुगेको थियो । पुस मसान्तसम्म यो केवल ३९ अर्ब २३ करोडमा पुगेको छ । पुसमा मात्र ५९ करोड ९५ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।
चालु आव पहिलो दुई महिनामा ह्वात्तै लगानी प्रतिबद्धता आएकोमा आन्दोलनको प्रत्यक्ष प्रभाव वैदेशिक लगानीकर्तामा देखिएको छ । अघिल्लो वर्ष २०८१/८२ पहिलो ६ महिनामा २५ अर्ब ७७ करोड रुपैयाँ बराबर एफडीआई प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।
६ महिनामा अटोमेटिक रुटबाट २ अर्ब ८० करोड र अप्रुभल रुटबाट ३६ अर्ब ४२ करोड बराबर लगानी प्रतिबद्धता आएको छ । यस अवधिमा कुल ४ सय ७५ उद्योग दर्ता भएका छन् ।
उद्योग विभागका अनुसार अहिलेसम्म ६ खर्ब ७५ अर्ब ४३ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता आएको तथ्यांक छ । यस वर्ष दर्ता भएका उद्योगले कुल २० हजार १ सय २२ रोजगारी सिर्जना लक्ष्य राखेका छन् ।
साना उद्योगमा केन्द्रित लगानी प्रतिबद्धता
तथ्यांक अनुसार लगानी साना उद्योगमा केन्द्रित छ । पुससम्म दर्ता भएका उद्योगमध्ये ७ ठूला उद्योग छन् । मझौला उद्योग संख्या ८ छ । साना उद्योग संख्या ४ सय ६० छ । पुसमा मात्र दर्ता भएका सबै उद्योग साना प्रकृतिका छन् । जुन ३६ वटा छन् ।
सूचना प्रविधि र पर्यटनमा लगानी आकर्षित
तथ्यांक अनुसार पुससम्म दर्ता उद्योगमध्ये ५४ प्रतिशत सूचना प्रविधिमा आधारित छन् । कुल २ सय ५७ उद्योग एफडीआईमा दर्ता भएका छन् ।
पर्यटनमा १ सय ४५ उद्योग दर्ता भएका छन् । जुन ३१ प्रतिशत बराबर हो । यसबाहेक सेवा उद्योग ३१, उत्पादनमूलक २७ र कृषिमा १३ उद्योग दर्ता भएको देखिएको छ ।
प्रतिक्रिया 4