News Summary
Generated by OK AI. Editorially reviewed.- सांसद परशुराम तामाङले राष्ट्र बैंकका अधिकारीहरू निजी बैंकमा जाने र पुनः राष्ट्र बैंकमा फर्कने प्रवृत्तिले स्वार्थको द्वन्द्व सिर्जना गरेको बताएका छन् ।
- अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथिको छलफलमा उनले यस्ता समस्या समाधानका लागि स्पष्ट कानूनी व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
- उनले मौद्रिक नीति निर्माण प्रक्रियालाई थप स्वायत्त बनाउन छुट्टै समितिमार्फत नीति तयार गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।
३ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद परशुराम तामाङले राष्ट्र बैंकका उच्चअधिकारी सेवा निवृत्तपछि निजी बैंकमा जाने र निजी बैंकबाट पुनः राष्ट्र बैंकको नेतृत्व तहमा आउने प्रवृत्ति बढेको बताएका छन् ।
प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनले यस्तो प्रवृत्तिले स्वार्थको द्वन्द्व ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ सिर्जना गरेको प्रश्न उठेको बताएका हुन् ।
राष्ट्र बैंक ऐन संशोधन गर्दा यसलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा स्पष्ट व्यवस्था हुनुपर्ने उनको जोड छ ।
उनले राष्ट्र बैंकका कर्मचारीहरूकै संलग्नतामा कतिपय बैंक स्थापना भएको भन्ने चर्चा पनि बजारमा रहेको उल्लेख गर्दै यस्ता विषयको समाधान कानुनी रूपमै खोज्नुपर्ने बताए ।
उनले भने, ‘यहाँ धेरैजसो के देखिन्छ भन्दाखेरि राष्ट्र बैंकको विशेष श्रेणीका अधिकृतहरू रिटायर्ड भएपछि प्राइभेट बैंकमा जाने, अनि प्राइभेट फेरि राष्ट्र बैंकको गभर्निङ बडीमा आउन खोज्ने । यो कन्फ्लिक्ट अफ इन्ट्रेस्ट कतै आयो कि ?’
उनले अगाडि भने, ‘अहिले राष्ट्र बैंकको ऐन संशोधन गर्दा हामीले ध्यान पुर्याउनुपर्छ । यहाँ कन्फ्लिक्ट अफ इन्ट्रेस्टका कुराहरू छन् कि ?, छन् भने के–के हुन् ?, त्यसलाई हामीले कसरी हेर्ने भन्ने कुरामा बढी ध्यान दिन आवश्यक छ ।’
उनले राष्ट्र बैंकले हालै सार्वजनिक मौद्रिक नीति पनि अपेक्षाअनुसार नआएको बताए ।
मौद्रिक नीति निर्माण प्रक्रियालाई थप स्वायत्त बनाउनुपर्ने उनले आवश्यकता औँल्याए ।
राष्ट्र बैंकको संस्थागत स्वायत्ततासँगै मौद्रिक नीति पनि छुट्टै समितिमार्फत तयार गर्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया 4