News Summary
Generated by OK AI. Editorially reviewed.- कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएर सम्पर्कविहीन भएका तीन जना महिला सकुशल फेला परेका छन्।
- निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणको टोलीले आज बिहान उनीहरूलाई लल्लेरी पोष्टबाट चार किलोमिटर टाढा फेला पारी परिवारको जिम्मा लगाएको छ।
- भीमदत्त नगरपालिकाबाट बेपत्ता भएका १४ महिलाको खोजी कार्य भने अझै जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
४ साउन, धनगढी । च्याउ खाेज्न गएका बेला सम्पर्कविहीन भएका कञ्चनपुरकाे बेल्डाँडी गाउँपालिका-३ काे चउन्नीका तीन जना महिला फेला परेका छन् ।
आइतबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र च्याउ खाेज्न गएकी लक्ष्मी थापामगर, मञ्जु क्षेत्री र सीता चाैधरी साेमबार बिहान पाैने ६ बजेतिर टेलिफोनमार्फत सम्पर्कमा आएका थिए ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका सहसेनानी सुमन केसीको टोलीले आज बिहान उनीहरूलाई सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको सेनाले जनाएको छ ।
तीन जनालाई निकुञ्जभित्रको लल्लेरी पोष्टबाट करिब चार किलोमिटर टाढाको दुरीमा सेनाले फेला पारेको हो । सेनाका अनुसार उनीहरू आइतबार लुकीछिपी च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतका अनुसार उनीहरूले फाेन गरेर रूखमा बसिरहेकाे बताउँदै लिन आउन समेत आग्रह गरेका थिए ।
च्याउ खाेज्न गएकै बेला सम्पर्कविहीन भएका भीमदत्त नगरपालिका-१९ का १४ महिलाकाे खाेजी कार्य भने अझै जारी छ ।
प्रतिक्रिया 4