९ साउन, रोल्पा। रोल्पामा सामाजिक सञ्जालमा भाइरल भएका तीन बालिकाले उच्च शिक्षासम्म नि:शुल्क अध्ययन गर्न पाउने भएका छन्।
पानी परिरहेका बेला रेनकोट ओढेर विद्यालय जाँदै गर्दा भाइरल भएका मनजीता पुन, सियाँ घर्ती र मनजीता घर्तीलाई स्थानीय बोर्डिङ स्कुल र गाउँपालिकाले नि:शुल्क पढाउने प्रतिवद्धता गरेका हुन् ।
अहिले सियाँ ३ वर्षकी छन् भने दुई मनजीता ५ र ६ वर्षका छन् । रुन्टीगढी गाउँपालिका-४ टोलबाङका उनीहरुलाई सुर्पाल बजारमै रहेको एडभान्स चाइल्ड केयर सेन्टरमा, नर्सरी, एलकेजी र एक कक्षामा अध्ययनरत छन् ।
उनीहरुलाई हाल पढेरहेकै विद्यालयले कक्षा-६ सम्म नि:शुल्क अध्ययन गर्ने व्यवस्था गरेको छ । कक्षा-७ देखि उच्च शिक्षा (स्नातक)सम्म भने रुन्टिगढी गाउँपालिकाले अध्ययन गराउने प्रतिबद्धता जनाएको छ ।
समाजसेवी तथा पत्रकार भुवन थापाको समन्वयमा शुक्रबार रुन्टिगढी गाउँपालिकाका अध्यक्ष जनक पुन, सुर्पाल बजारस्थित एडभान्स चाइल्ड केयर इङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल तेजबहादुर पुन र भिडियो खिच्ने लोकेन पुनलगायतका व्यक्ति ती बच्चाहरुको घरमा पुगेका थिए ।

तीनै बालिकाका बुवाहरू रोजगारीका सिलसिलामा विदेश रहेका छन् । दुई जना एकै घरका हुन् भने एक जना छिमेकी हुन् । घरमा पुगेर तीनैजना बालिकाका आमाहरूसँग उच्च शिक्षासम्म नि:शुल्क अध्ययन गर्न पाउने सहमति भएको समाजसेवी तथा पत्रकार भुवन थापाले जानकारी दिए । ‘हामी हिजो तीनै बालिकाको घरमा अभिभावक भेट्न स्थानीय सरकारका प्रमुख, बोर्डिङका प्रिन्सिपल र भिडियो भाइरल गराउने व्यक्ति लगायत घरमा पुगेका थियौं र घरमा गएर उच्च शिक्षासम्म नि:शुल्क पढाउने सहमति भयो‘, पत्रकार थापाले भने ।
सहमति अनुसार सम्बन्धित एडभान्स चाइल्ड केयर इङलिस बोर्डिङ स्कूलले कक्षा ६ सम्म निःशुल्क शिक्षा उपलब्ध गराउनेछ । ‘हामीले यी तीन बच्चालाई कक्षा-६ सम्म निःशुल्क शिक्षा उपलब्ध गराउने हाम्रो प्रतिवद्धता भयो’, एडभान्स चाइल्ड केयर इङलिस बोर्डिङ स्कूलका प्रिन्सिपल तेजबहादुर पुनले भने ।
कक्षा-७ देखि उच्च शिक्षासम्मको अध्ययनका लागि आवश्यक व्यवस्था र जिम्मेवारी गाउँपालिकाले लिने रुन्टिगढी गाउँपालिकाका अध्यक्ष प्रमुख जनक पुनले बताए । ‘उच्च शिक्षासम्मको अध्ययनका लागि आवश्यक व्यवस्था र जिम्मेवारी हाम्रो रहन्छ यो मेरो प्रतिबद्धता हो,’गाउँपालिका अध्यक्ष पुनले भने।
पानी परिरहेको मौसममा रेनकोट ओढेर उकालो हिँडिरहेका तीन जना बच्चाहरुको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा गुलाफी, हरियो र पहेँलो रेनकोट ओढेका एकनासका देखिने बच्चाहरु आफ्नै सुरमा उकालो बाटो हिँडिरहेका छन् ।
प्रतिक्रिया 4