News Summary
Generated by OK AI. Editorially reviewed.- भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले प्रश्नपत्र चुहावट प्रकरणको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन् ।
- सन् १९९७ मा प्रश्नपत्र चुहावटविरुद्ध आन्दोलन गर्दा प्रहरीको लाठीबाट घाइते भएका प्रधान आफैं अहिले राजीनामाको मागसहितको प्रदर्शनको केन्द्रमा परेका छन् ।
- विपक्षी दलहरूले राजीनामाको मागलाई जोड दिएका छन् भने भाजपाले यसलाई नयाँ शिक्षा नीतिको विरोधमा गरिएको राजनीति भनी टिप्पणी गरेको छ ।
९ साउन, काठमाडौं । यसलाई विडम्बना नै भन्नुपर्छ, कुनै समय प्रश्नपत्र चुहावटविरुद्ध आन्दोलनको नेतृत्व गर्दै प्रहरीको लाठी प्रहारबाट घाइते भएका भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले आज (शनिबार) फेरि अर्को प्रश्नपत्र चुहावट प्रकरणको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका छन् ।
उता, उनको राजीनामाको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरू पनि प्रहरीको लाठीचार्जबाटै घाइते भएका छन् ।
सन् २०२१ मा प्रकाशित ‘द न्यु इन्डियन एक्सप्रेस’को एउटा समाचार अहिले फेरि भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा व्यापक ‘भाइरल’ भइरहेको छ ।
समाचारअनुसार, सन् १९९७ मा ओडिशाका तत्कालीन मुख्यमन्त्री स्वर्गीय जे.बी. पटनायकको कार्यकालमा भएको प्रश्नपत्र चुहावटको विरोधमा अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी) ले राज्य सचिवालयअगाडि आयोजना गरेको प्रदर्शनको नेतृत्व धर्मेन्द्र प्रधानले गरेका थिए ।
उक्त प्रदर्शनमा प्रहरीको लाठीचार्ज हुँदा उनी आफैं घाइते भएका थिए ।
घटनाको झण्डै २९ वर्षपछि, २० जुलाई २०२६ मा धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै संसद्तर्फ मार्च गरिरहेका विद्यार्थी र युवामाथि प्रहरीले लाठीचार्ज गर्यो । जसमा धेरै प्रदर्शनकारी घाइते भई अस्पताल भर्ना भए ।
त्यसबेला प्रदर्शनमा सहभागी रहेका तथा हाल भुवनेश्वरस्थित राजा मधुसूदन देव कलेजका विद्यार्थी संघका अध्यक्ष प्रशान्त राउतले बीबीसीसँग कुरा गर्दै घटनाको पुष्टि गरेका छन् ।
‘त्यतिबेला म एबीभीपीको भुवनेश्वर शाखाको अध्यक्ष थिएँ र धर्मेन्द्र प्रधान संगठनका राष्ट्रिय महासचिव थिए,’ उनले भनेका छन्, ‘जुलाई १९९७ को तेस्रो सातातिर, प्लस–टु परीक्षाको प्रश्नपत्र चुहावटविरुद्ध सयौँ कार्यकर्ता विधानसभाअगाडि प्रदर्शनमा सहभागी भएका थिए । धर्मेन्द्र प्रधानले त्यसको नेतृत्व गरेका थिए ।’
राउतका अनुसार, सन् १९८८ देखि १९९७ सम्म लगभग हरेक वर्ष प्रश्नपत्र चुहिने गरेको थियो । जसलाई उनीहरूले ‘प्रश्नपत्र चुहावटको दशक’ भन्ने गर्थे ।
उनले थप भने, ‘प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न र्यापिड एक्सन फोर्स (आरएएफ) परिचालन गर्दै अन्धाधुन्ध लाठीचार्ज गरेको थियो । त्यस क्रममा ६४ जना कार्यकर्ता घाइते भएका थिए, जसमा म र धर्मेन्द्र प्रधान पनि थियौं ।’
विद्यार्थी राजनीतिबाट सुरु भएको यात्रा
धर्मेन्द्र प्रधानको राजनीतिक यात्रा सन् १९८० को दशकमा विद्यार्थी राजनीतिबाट सुरु भएको थियो ।
बाल्यकालदेखि नै उनी राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) निकट विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी) सँग आबद्ध थिए । उनी तालचेर कलेज विद्यार्थी संघका अध्यक्ष पनि बने ।
पछि उनी उत्कल विश्वविद्यालय विद्यार्थी संघको अध्यक्ष पदका लागि चुनाव लडे । तर, एसएफआईका उम्मेदवार तथा वर्तमान बिजु जनता दल (बीजेडी) का वरिष्ठ नेता अरुण साहुसँग पराजित भए । त्यो चुनावमा धर्मेन्द्र प्रधान तेस्रो स्थानमा रहे भने दोस्रो स्थानमा विद्यार्थी जनता दलका सिन्धुज्योति त्रिपाठी थिए ।

त्रिपाठीका अनुसार धर्मेन्द्र प्रधान सामान्य विद्यार्थी थिए । उम्मेदवार घोषणा हुनुअघि धेरैले उनलाई चिन्दैनथे । तर त्यतिबेला विश्वविद्यालयमा एबीभीपीको संगठन निकै बलियो भएकाले उनले राम्रो मत प्राप्त गरेका थिए ।
धर्मेन्द्र प्रधानलाई पराजित गरेका अरुण साहु पछि बिजु जनता दलका प्रमुख नेता तथा ओडिशाका उच्च शिक्षा मन्त्री बने । प्रधानको राजीनामाको मागबारे उनले बीबीसीसँग भनेका छन्, ‘हाम्रा नेता नवीन पटनायकले स्पष्ट रूपमा उहाँले राजीनामा दिनुपर्छ भन्नुभएको छ, र मेरो धारणा पनि त्यही हो ।’
प्रधानको राजनीतिक उन्नतिबारे उनले भने, ‘भाजपामा धेरै निर्णय संघकै प्रभावमा हुन्छन् । धर्मेन्द्र प्रधान लामो समयदेखि संघसँग जोडिएकाले पार्टी र सरकारमा उच्च जिम्मेवारी पाउनु स्वाभाविक थियो ।’
राष्ट्रिय राजनीतिमा उदय
विश्वविद्यालयको चुनाव हारे पनि धर्मेन्द्र प्रधानको राजनीतिक उन्नति भने निरन्तर जारी रह्यो ।
१९९४–१९९७ : एबीभीपीका राष्ट्रिय महासचिव
२००४–२००६ : भारतीय जनता युवा मोर्चाका अध्यक्ष
त्यसपछि : भाजपाका राष्ट्रिय महासचिव
उत्तर प्रदेश, बिहार, कर्नाटकलगायत राज्यमा पार्टी संगठन विस्तारमा सक्रिय भूमिका
चुनावी यात्रा
२००० : पाललहडा विधानसभा क्षेत्रबाट पहिलो पटक विधायक निर्वाचित
२००४ : देवगढ लोकसभा क्षेत्रबाट सांसद निर्वाचित
२०१२–२०१८ : बिहारबाट राज्यसभा सदस्य
२०१८–२०२४ : मध्यप्रदेशबाट राज्यसभा सदस्य
२०१४ : नरेन्द्र मोदी सरकारमा पेट्रोलियम राज्यमन्त्री
२०२४ : ओडिशाको सम्बलपुरबाट लोकसभा सांसद निर्वाचित
अमित शाहसँगको सम्बन्धबारे चर्चा
प्रधानका सहपाठी सिन्धुज्योति त्रिपाठीले केन्द्रीय गृहमन्त्री अमित शाह र जेपी नड्डासँगको निकट सम्बन्धले प्रधानको राजनीतिक उन्नतिमा भूमिका खेलेको दाबी गरेका छन् ।
उनका अनुसार, अदालतले अमित शाहविरुद्ध तडिपार आदेश जारी गरेको बेला केही दिन उनी धर्मेन्द्र प्रधानको तालचेरस्थित घरमा बसेको चर्चा विश्वसनीय स्रोतबाट सुनेको दाबी गरे । यद्यपि, उनले त्यसको प्रत्यक्ष प्रमाण भने आफूसँग नभएको बताए ।

ओडिशामा भाजपाको विस्तार
वरिष्ठ पत्रकार रुबेन बनर्जीका अनुसार ओडिशामा भाजपाको संगठन विस्तार गर्ने प्रमुख व्यक्तिमध्ये धर्मेन्द्र प्रधान अग्रणी हुन् ।
उनका अनुसार सन् २०१४ मा केन्द्रमा मन्त्री बनेपछि प्रधानले लगभग प्रत्येक सप्ताहन्त ओडिशामै बिताउँदै स्थानीय कार्यकर्तासँग भेटघाट र संगठन विस्तारमा ध्यान दिएका थिए । त्यसलाई कतिपयले मजाकमा ‘वीकेन्ड पार्टी’ समेत भन्ने गर्थे ।
प्रधानका पूर्व निजी सचिव सम्बित त्रिपाठीले पनि यसलाई पुष्टि गर्दै भनेका छन्, ‘उहाँले राज्यभरिका कार्यकर्तालाई व्यक्तिगत रूपमा चिन्नुहुन्थ्यो र केन्द्रमा रहेको आफ्नो प्रभाव प्रयोग गरेर स्थानीय समस्या समाधानमा सधैं सक्रिय रहनुहुन्थ्यो ।’
राजीनामाबारे भाजपाको प्रतिक्रिया
प्रधानका समर्थकहरूको भनाइमा उनको राजीनामाको माग ‘राजनीतिक’ हो । भाजपाका नेता सज्जन शर्माले भनेका छन्, ‘निट परीक्षालाई बहाना बनाएर विपक्षीहरूले राजनीति गरिरहेका छन् । परीक्षा सफलतापूर्वक सम्पन्न भइसकेको र विद्यार्थीहरूले सफलता मनाइरहेका बेला आन्दोलनको पछाडि राजनीतिक उद्देश्यबाहेक अर्को कारण देखिंदैन ।’
अर्का नेता गोलक महापात्रले भने, ‘निट त केवल बहाना हो । वास्तविक असन्तुष्टिको कारण नयाँ शिक्षा नीति हो । विपक्षीहरूले शिक्षामन्त्रीको राजीनामा मागिरहेका छन्, तर उनीहरूले आफ्नै शासनकाल (२०१९–२०२४) मा ओडिशामा नौ पटक प्रश्नपत्र चुहिएको तथ्य बिर्सिएका छन् ।’
(बीबीसी हिन्दीबाट)
प्रतिक्रिया 4