९ साउन, काठमाडौं । वरिष्ठ अभिनेता नसीरुद्दीन शाहले २१ जुलाईमा सामाजिक सञ्जालमार्फत एउटा भावुक र आक्रोशपूर्ण भिडियो सन्देश सार्वजनिक गरे। त्यसको एक दिनअघि, २० जुलाईमा, कक्रोच जनता पार्टी (सीजेपी)ले जन्तर-मन्तरबाट आयोजना गरेको संसद् मार्चका क्रममा प्रहरी बलले निर्मम तरिकाले विद्यार्थीहरूमाथि दमन गरेको थियो । शाहले शिक्षा सुधारको माग गर्दै प्रदर्शन गरिरहेका विद्यार्थीहरूलाई समर्थन गर्दै उक्त भिडियो पोस्ट गरेका हुन् ।
यसबीच द वायरलाई दिएको शाहको अन्तर्वार्ता पनि चर्चामा रह्यो। देशव्यापी बहसको विषय बनिसकेको विद्यार्थी आन्दोलन र प्रहरी दमनबारे बलिउडका चर्चित कलाकार किन मौन छन् भन्ने प्रश्न उनलाई सोधिएको थियो।
शाहले आफ्नो चिरपरिचित शैलीमा मौन बसेका कलाकारमाथि कटाक्ष गरे।
‘उनीहरूको विवेकले अह्राएपछि उनीहरू बोल्लान्,’ उनले भने, ‘एउटा उखान छ- मुखमा हड्डी च्यापेको कुकुर भुक्न सक्दैन। मुखबाट हड्डी खसेपछि वा दाँत भाँचिएपछि मात्रै उनीहरू भुक्न सक्छन्।’

प्रदर्शनकारी विद्यार्थीप्रति ऐक्यबद्धता जनाउँदै सार्वजनिक गरेको भिडियोमा शाहले विद्यार्थीमाथि भएको बल प्रयोगको कडा निन्दा गरेका छन्।
उनले भनेका छन्, ‘म तपाईंहरूलाई दुईवटा कुरा भन्न चाहन्छु। पहिलो, यदि एउटा अज्ञानी व्यक्तिले यो देशको नेतृत्व गर्छ भने उसले पूरै देश आफूजस्तै अज्ञानी, अबोध, अक्षम र निर्दयी बनोस् भन्ने चाहन्छ। नेसनल स्कुल अफ ड्रामा र फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डियामा अभिनयका दुईवटा कोर्स पूरा गरे पनि अभिनयबारे सबैभन्दा धेरै मैले तिनै बालबालिका र विद्यार्थीबाट सिकेको छु, जसलाई मैले कुनै समय सिकाउने प्रयास गरेको थिएँ।’
विद्यार्थीमाथि भएको दमनले आफूलाई भावुक र आक्रोशित बनाएको उनले बताए।
‘म उनीहरूप्रति गहिरो सहानुभूति राख्छु। अहिले मेरो मन भरिएको छ, रगत उम्लिरहेको छ,’ उनले भने, ‘हाम्रा युवामाथि भइरहेको अत्याचार देख्दा मलाई अमेरिकामा मुख छोपेर हिँड्ने एजेन्टहरूको सम्झना आउँछ। आफ्ना छोराछोरीबारे पनि सोच। एक दिन तिमीहरूले आफ्ना कर्मको परिणाम भोग्नुपर्नेछ।’
विद्यार्थीलाई सम्बोधन गर्दै शाहले आशा नमार्न आग्रह गरेका छन्। देशका युवाप्रति आफ्नो भरोसा पहिले पनि रहेको र अहिले त्यो अझ बलियो भएको भन्दै उनले अधिकारका लागि संघर्ष जारी राख्न प्रेरित गरेका छन्। साथै राज्यसत्तालाई पनि विद्यार्थीमाथि भएको दमन बिर्सिइने छैन भन्ने चेतावनी दिएका छन्।
जन्तर-मन्तरबाट संसद्तर्फ
कक्रोच जनता पार्टीले गत महिनादेखि दिल्लीको जन्तर-मन्तरमा प्रदर्शन सुरु गरेको थियो। शिक्षाविद् तथा वातावरण अभियन्ता सोनम वाङचुक अनिश्चितकालीन अनशनमा बसेपछि आन्दोलनले थप गति लियो।

२० जुलाईमा संसद्को मनसुन अधिवेशन सुरु हुँदै गर्दा देशका विभिन्न भागबाट विद्यार्थी र युवा नयाँ दिल्लीमा जम्मा भए। उनीहरू जन्तर-मन्तरबाट संसद्तर्फ अघि बढ्न खोजे। दिल्ली प्रहरीले मार्च रोक्न बल प्रयोग गरेपछि त्यसका दृश्य सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिए र सरकार तथा प्रहरीको तीव्र आलोचना भयो।
प्रदर्शनकारीहरूले केन्द्र सरकारसँग संवाद र शिक्षा प्रणालीमा देखिएका अनियमिततामाथि जवाफदेहिता मागेका छन्। उनीहरूको प्रमुख मागमध्ये नीट–यूजी प्रश्नपत्र चुहावट तथा परीक्षा प्रणालीमा देखिएका अन्य अनियमितताको जिम्मेवारी लिँदै केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुपर्ने पनि थियो।
आन्दोलन विस्तार हुँदै जाँदा बलिउडका कलाकारहरू पनि बिस्तारै बोल्न थाले।
करिना कपूरदेखि वरुण धवनसम्म
करिना कपूर खानले विद्यार्थीको समर्थनमा इन्स्टाग्राममार्फत सन्देश सार्वजनिक गरिन्। केही दिनदेखि यो विषयबारे सोचिरहेको र अब मौन बस्न नसक्ने उनले बताइन्।
‘म केही दिनदेखि यसबारे सोचिरहेकी थिएँ। अब धेरै समय चुप लाग्न सक्दिनँ,’ उनले लेखिन्, ‘यति धेरै युवा आफ्ना कुरा सुनियोस् भनेर आवाज उठाइरहेका छन्। उनीहरूको आवाजलाई बेवास्ता गर्न सकिँदैन र गरिनु पनि हुँदैन।’
करिनाले विद्यार्थीहरू निष्पक्षता र विश्वासमा आधारित शिक्षा प्रणालीका हकदार रहेको बताइन्।

‘यो कुनै ठूलो माग होइन। यो त न्यूनतम अपेक्षा हो,’ उनले लेखेकी छन्, ‘सिंगो पुस्ताले आफ्नो भविष्यबारे एउटै स्वरमा बोलिरहेको बेला उनीहरूलाई सुन्नु हाम्रो कर्तव्य हो।’
उनले आजका बालबालिकाले वयस्क पुस्ताको व्यवहार नजिकबाट हेरिरहेको भन्दै अहिले समाज र राज्यले दिने प्रतिक्रियाले उनीहरूलाई निष्पक्षता र विश्वास वास्तविक मूल्य हुन् वा केवल भाषणमा प्रयोग हुने शब्द हुन् भन्ने सिकाउने उल्लेख गरेकी छन्।
‘उनीहरू भोलिका लागि मात्रै तयारी गरिरहेका छैनन्,’ करिनाले भनेकी छन्, ‘उनीहरू नै भोलि हुन्।’
अभिनेता वरुण धवनले पनि विद्यार्थीलाई देशको भविष्य भन्दै आन्दोलनप्रति समर्थन जनाए। एउटा विद्यार्थीको सपना भत्किँदा त्यो एउटा व्यक्तिको मात्रै नभई सिंगो परिवारको सपना भत्किने उनले उल्लेख गरेका छन्।

‘विद्यार्थीहरू हाम्रो देशको भविष्य हुन्। जब एउटा विद्यार्थीको सपना टुट्छ, तब एउटा सपना मात्रै टुट्दैन, सिंगो परिवारको सपना टुट्छ,’ उनले लेखेका छन्, ‘प्रणालीले आफूलाई असफल बनाएको महसुस हुँदा उनीहरूलाई प्रश्न गर्ने अधिकार हुन्छ। उनीहरूको आवाज सुनिनुपर्छ, संरक्षण गरिनुपर्छ र उनीहरूका समस्या गम्भीरतापूर्वक सम्बोधन गरिनुपर्छ।’
उनले अधिकारीहरूलाई विद्यार्थीका प्रश्नको निष्पक्ष, पारदर्शी र अर्थपूर्ण समाधान खोज्न तथा जवाफदेहिता सुनिश्चित गर्न आग्रह गरे।
साथै आन्दोलन विद्यार्थी र उनीहरूका मागमै केन्द्रित रहनुपर्ने उनको धारणा छ। शान्तिपूर्ण विरोध लोकतान्त्रिक अधिकार भएको पनि उनले स्मरण गराएका छन्।
‘सच्चा देशभक्ति’
सारा अली खानले विद्यार्थी आन्दोलनलाई ‘सच्चा देशभक्ति’को अभिव्यक्ति भनेकी छन्।
‘हाम्रा विद्यार्थीहरू हाम्रो भविष्य हुन्। उनीहरूको भविष्यसँग हाम्रो देशको भविष्य जोडिएको छ,’ उनले लेखेकी छन्, ‘उनीहरूको दृढताले मेरो आँखामा आँसु ल्याउँछ। आफूले विश्वास गरेको कुराका पक्षमा उभिने साहस भएका मानिसमै सच्चा देशभक्ति हुन्छ।’

विद्यार्थीको साहसले आफूलाई भावुक बनाएको उल्लेख गर्दै उनले सरकारले उनीहरूमाथि न्याय गर्ने विश्वास व्यक्त गरेकी छन्।
अनन्या पाण्डेले भने जेनजी पुस्तालाई हेर्ने परम्परागत दृष्टिकोणमाथि प्रश्न गरेकी छन्।
‘जेनजी पुस्तालाई सधैं अनेक किसिमका ट्याग लगाइयो, तीमध्ये सबै सकारात्मक थिएनन्,’ उनले लेखेकी छन्, ‘तर यो क्षणले यो पुस्ता वास्तवमा के हो भन्ने सम्झाइदिएको छ। यो पुस्ता पुराना कुरालाई प्रश्न नगरी स्वीकार गर्दैन। उनीहरूले कुनै छोटो बाटो खोजिरहेका छैनन्, उनीहरूले न्यूनतम निष्पक्षता मात्रै मागिरहेका छन्।’
उनले प्रश्न गर्नु अनादर र आवाज उठाउनु विद्रोह नभएको बताएकी छन्। ‘यो आशा हो। परिस्थिति अझ राम्रो हुन सक्छ भन्ने विश्वास हो,’ उनको भनाइ छ, ‘परिवर्तन यसरी नै सुरु हुन्छ।’
लेखिका तथा पूर्वअभिनेत्री ट्विंकल खन्नाले पनि दिल्ली र मुम्बईमा भएका प्रदर्शनका तस्बिर सेयर गर्दै युवाको साहसको प्रशंसा गरेकी छन्।
‘हाम्रा युवामा अझै पनि असहमति जनाउने साहस बाँकी छ। उनीहरूमा अश्रुग्यास र लाठीको सामना गर्ने साहस छ,’ उनले लेखेकी छन्, ‘म यस्ता युवा भएको देशको नागरिक हुन पाउँदा गर्व गर्छु। तर उनीहरूले आफ्नो कुरा सुनाउन यसरी सडकमा उत्रिनुपरेकोमा दुःख पनि लाग्छ।’
जन्तर-मन्तरमै पुगे कलाकार
‘चलो संसद’ मार्चअघि वरिष्ठ अभिनेत्री शबाना आजमी र अभिनेता तथा निर्देशक प्रकाश राज जन्तर-मन्तर पुगेर प्रदर्शनकारीसँग ऐक्यबद्ध भएका थिए।

शबाना आजमीले आन्दोलन शान्तिपूर्ण रहेको र संवैधानिक अधिकारको प्रयोगका रूपमा भइरहेको बताइन्।
‘हामी यहाँ उपस्थित सबै जना शान्तिपूर्ण प्रदर्शनका लागि आएका हौँ,’ उनले भनिन्, ‘हामी संविधानले दिएको अधिकार प्रयोग गरिरहेका छौँ। महात्मा गान्धीले हामीलाई शान्तिपूर्ण विरोध कसरी गर्ने भनेर सिकाउनुभएको थियो। हामी त्यही जगमा उभिएर यहाँ आएका हौँ। हाम्रो हिंसा फैलाउने कुनै उद्देश्य छैन।’
जन्तर-मन्तरको प्रदर्शनमा प्रकाश राज, कुणाल कामरा र स्वरा भास्करलगायत कलाकार पनि प्रत्यक्ष सहभागी भए।
प्रकाश राज भारतीय संविधानको प्रति हातमा बोकेर अनशनस्थल पुगे। निर्वाचित सरकारलाई जनता र युवाप्रति जवाफदेही बनाउनुपर्ने उनको भनाइ थियो।
गायक तथा अभिनेता दिलजीत दोसाञ्जले प्रहरीको लाठीचार्जको निन्दा गर्दै अधिकारीहरूलाई विद्यार्थीका माग सुन्न आग्रह गरे। उनले जनताको आवाजलाई ईश्वरको आवाजसँग तुलना गरे। किसान आन्दोलनका बेला आफूले समर्थन जनाउँदा ‘राष्ट्रविरोधी’को आरोप खेपेको स्मरण गर्दै फेरि त्यस्तै आरोप लाग्न सक्ने पनि बताए।
दक्षिण भारतीय अभिनेता कमल हासनले पनि प्रहरी दमनको कडा आलोचना गरे। हलिउड अभिनेता जोन कुस्याकले समेत सामाजिक सञ्जाल एक्समार्फत भारतीय विद्यार्थीप्रति ऐक्यबद्धता जनाए।
मुम्बईमा भएको विद्यार्थी ऐक्यबद्धता र्यालीमा अभिनेता इमरान खान, अलाया एफ, र्यापर रफ्तार र गायक अनुव जैन पनि सहभागी भए।
मौन रहनेहरूमाथि प्रश्न
तर बलिउडका सबै कलाकारले आन्दोलनको समर्थन गरेका छैनन्।
गायक सोनु निगम विद्यार्थी आन्दोलनबारे बोल्न अस्वीकार गरेपछि सामाजिक सञ्जालमा आलोचनाको केन्द्र बने।
मिडियासँग कुरा गर्ने क्रममा पत्रकारहरूले उनलाई जारी विद्यार्थी आन्दोलनबारे प्रतिक्रिया दिन आग्रह गरेका थिए। सोनुले आफू त्यस विषयमा कुरा गर्न त्यहाँ नआएको भन्दै प्रश्न पन्छाए। पत्रकारहरूले प्रश्न गरिरहेपछि उनी असहज देखिए र अन्ततः ‘अहिलेलाई भयो, पुग्यो’ भन्ने संकेत गर्दै संवाद अगाडि बढाउन चाहेनन्।
त्यसको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलियो। प्रतिक्रियाहरू भने मिश्रित थिए। कतिपयले हरेक सार्वजनिक व्यक्तिले सबै मुद्दामा बोल्नैपर्छ भन्ने बाध्यता नरहेको बताए भने केहीले कलाकारहरूले व्यापक समर्थन जनाइरहेको मुद्दामा सोनुको मौनताको आलोचना गरे।
बलिउडका ‘किंग खान’ शाहरुख खानले विद्यार्थी आन्दोलनबारे प्रतिक्रिया दिन्छन् कि दिँदैनन् भन्ने चासो पनि उनका प्रशंसकमाझ थियो।

यहीबीच शाह रुखको पोस्ट भनिएको एउटा स्क्रिनसट सामाजिक सञ्जालमा व्यापक रूपमा फैलियो। त्यसपछि धेरै प्रयोगकर्ताले उनले विद्यार्थी आन्दोलनबारे मौनता तोडेको ठाने।
तर उनको आधिकारिक सामाजिक सञ्जाल खातामा त्यस्तो कुनै पोस्ट फेला परेन। यसले भाइरल भएको स्क्रिनसट वास्तविक नभएको संकेत गर्छ।
आमिर खान पनि मौनताका कारण आलोचनामा छन्। सामाजिक विषयमा मुखर कलाकारका रूपमा चिनिएका आमिरले आफ्नो फिल्म र टेलिभिजन कार्यक्रममार्फत विगतमा थुप्रै सामाजिक विषय उठाएका थिए।
यही कारण जारी विद्यार्थी आन्दोलनमा उनको मौनतालाई लिएर प्रश्न उठेको छ।
यसअघि सोनम वाङचुकले ‘थ्री इडियट्स’का दृश्यहरू आफ्नो जीवन वा कामबाट प्रेरित नभएको अभिव्यक्ति दिएपछि पनि आमिरसँग जोडेर बहस भएको थियो।
अक्षय कुमार, अमिताभ बच्चन र दीपिका पादुकोणजस्ता बलिउडका शीर्ष कलाकारले पनि यो विषयमा सार्वजनिक रूपमा प्रतिक्रिया नदिएको भन्दै सामाजिक सञ्जालमा प्रश्न उठेका छन्।
अरुन्धती रोयको प्रश्न : आन्दोलन शिक्षामन्त्रीको राजीनामामै सीमित छ ?
बुकर पुरस्कार विजेता लेखिका तथा सामाजिक अभियन्ता अरुन्धती रोय पनि जन्तर-मन्तर पुगेकी थिइन्।
द वायरमा प्रकाशित आफ्नो लेख ‘कक्रोच डेमोक्रेसी : अनआर्म्ड एन्ड डेन्जरस’मा उनले यो आन्दोलनलाई केवल शिक्षामन्त्रीको राजीनामाको मागमा सीमित घटनाका रूपमा हेरेकी छैनन्।
उनको विश्लेषणमा यो आन्दोलन भारतको शासन प्रणालीप्रति युवा पुस्तामा सञ्चित आक्रोशको अभिव्यक्ति हो। शिक्षा प्रणालीमा भएको अनियमितताबाट सुरु भएको असन्तुष्टि राज्यसत्ता, नागरिक अधिकार, धार्मिक र जातीय विभेद तथा लोकतान्त्रिक संस्थाको अवस्थासम्म विस्तार भएको उनको तर्क छ।
रोयका अनुसार प्रदर्शनकारीको प्रारम्भिक माग शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा थियो। तर २० जुलाईको विशाल प्रदर्शनपछि त्यसको राजनीतिक अर्थ धेरै फराकिलो भइसकेको छ।

उनले विद्यार्थी र युवाले आफ्नो निर्भीक उपस्थिति र प्रतिरोधमार्फत वर्षौंदेखि समाजमा जकडिएको भयलाई चुनौती दिएको लेखेकी छन्।
प्रदर्शनमा हिन्दू, मुस्लिम, इसाई, सिख, बौद्ध तथा विभिन्न जात, वर्ग र समुदायका मानिस एकअर्कालाई सहयोग गर्दै सडकमा देखिएको दृश्यलाई रोयले आफूले कल्पना गरेको सुन्दर भारतको झलकका रूपमा व्याख्या गरेकी छन्।
तर उनी आन्दोलनप्रति केवल रोमान्टिक आशावाद प्रस्तुत गर्दिनन्। यस्ता स्वतःस्फूर्त आन्दोलनलाई स्थायी राजनीतिक परिवर्तनमा रूपान्तरण गर्नु कठिन हुने उनको चेतावनी छ। संगठित राजनीतिक काम सुरु नभए सडकमा देखिएको आक्रोश विस्तारै सेलाउन सक्ने उनी बताउँछिन्।
उनले भारतका विगतका जनआन्दोलनको अनुभव स्मरण गर्दै युवा आन्दोलनलाई बंगलादेश, नेपाल वा श्रीलंकामा भएका सत्ता परिवर्तनसँग सोझै तुलना गर्नु पनि उचित नहुने तर्क गरेकी छन्। कक्रोच जनता पार्टीको आन्दोलन आफ्नै समय र परिस्थितिबाट जन्मिएको विशिष्ट राजनीतिक घटना भएको उनको विश्लेषण छ।
रोयका लागि अहिलेको सबैभन्दा महत्त्वपूर्ण प्रश्न केवल एउटा मन्त्रीको पद वा एउटा परीक्षाको अनियमितता होइन। प्रश्न नागरिक अधिकार, लोकतान्त्रिक संस्था, धर्म र जातिका आधारमा हुने भेदभाव, निर्वाचन प्रणालीप्रतिको विश्वास र राज्यसँग नागरिकको सम्बन्धसम्म पुगेको छ।
यही कारण उनी युवा आन्दोलनलाई उत्साहका साथ हेर्छिन्, तर राज्यको सम्भावित प्रतिशोधप्रति उत्तिकै सचेत पनि छिन्।
२० जुलाईको ‘संसद् मार्च’का क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीलाई सुरक्षाकर्मीले संसद् क्षेत्रबाट सुरक्षित स्थानतर्फ लगेको प्रसंगलाई जोड्दै रोय आफ्नो लेखको अन्त्यमा तीखो राजनीतिक टिप्पणी गर्छिन्, ‘एकपटक प्रधानमन्त्री भौतिक रूपमा भागेपछि, राजनीतिक रूपमा भाग्नुपर्ने दिन पनि धेरै टाढा हुँदैन।’
तर त्यसलगत्तै उनी चेतावनी पनि दिन्छिन्- यो सत्ता सजिलै जाने छैन। आन्दोलनकारी युवाले दिएको आशालाई अर्थपूर्ण राजनीतिक परिवर्तनमा रूपान्तरण गर्ने जिम्मेवारी अब उनीहरूको मात्रै नभई सिंगो समाजको हो।
प्रतिक्रिया 4