९ साउन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सरकारहरुमा एमाले र नेकपाबीच जुटेको सत्ता सहकार्यबारे कुनै नकारात्मक टिप्पणी नरहेको बताएका छन् ।
उपसभापति शर्माले अनलाइनखबरसँग कांग्रेसले रोजेको राजनीतिक कोर्सबारे भने बोलेका छन् । उनका अनुसार विगतका गलत प्रवृत्ति सच्याउन कांग्रेस प्रतिपक्षमा बस्न तयार भएको हो । ‘सत्ता, सत्ता र सत्ता । जसरी पनि सत्ता । जे-जस्तै सम्झौता गरेर पनि सत्ता,’ शर्मा भन्छन्, ‘हाम्रो राजनीतिमा केही समय यता नराम्रोसँग विकसित गलत प्रवृत्तिका विरुद्ध नेपाली कांग्रेस फरक सन्देशका साथ उभिन पुगेको छ ।’
प्रदेशहरुमा प्रतिपक्षविहीन स्थिति ल्याउनेगरी राखिएको प्रस्ताव कांग्रेसले अस्वीकार गरेको उनले बताए । ‘सतप्रतिशत गल्ती गर्न हामी एक प्रतिशत पनि सहमत भएनौं,’ उनले भने ।
पार्टीको थप धारणा सार्वजनिक गर्न भोलि बिहान साढे ९ बजे प्रदेश सभापतिहरु र मुख्यमन्त्रीहरु सहितको बैठक बस्ने शर्माले बताए ।
तर संविधान संशोधन लगायतका प्रश्नमा एमाले र नेकपासँग आवश्यक सहकार्य गर्न कांग्रेस तयार रहेको पनि शर्माले बताए । ‘कांग्रेस, एमाले र माओवादी शान्ति प्रक्रिया र संविधान निर्माणका सहयात्री दल हुन्,’ उनले भने, ‘संविधान संसोधन लगायतका प्रश्नमा हामी ३ दल र अन्य दलहरूबीच पनि सहकार्य जरुरी छ र त्यो स्वभाविक हुन्छ ।’
प्रदेश सरकारबारे उपसभापति विश्वप्रकाश शर्माले अनलाइनखबरलाई दिएको टिप्पणी-
-एमाले र नेपाली कम्युनिस्ट पार्टी बीचको सहमतिप्रति हाम्रो कुनै नकारात्मक टिप्पणी छैन ।
-कांग्रेस, एमाले र माओवादी शान्ति प्रक्रिया र संविधान निर्माणका सहयात्री दल हुन् । संविधान संसोधन लगायतका प्रश्नमा हामी ३ दल र अन्य दलहरूबीच पनि सहकार्य जरुरी छ र त्यो स्वभाविक हुन्छ l तर प्रदेश सभालाई प्रतिपक्ष विहीन जस्तै बनाएर ७ वटै प्रदेशमा तीन वटै दल मिलेर सरकारमा बस्नु सतप्रतिशत गलत हुन्थ्यो ।
-शतप्रतिशत गल्ती गर्न हामी एक प्रतिशत पनि सहमत भएनौं l हिजो शुक्रबार अपरान्ह सभापति गगन थापा, उपसभापति, महामन्त्री, कांग्रेसका चार मुख्यमन्त्री र प्रदेश सभापतिहरुसहित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठक यो बिषयमा दृढ ढंगले स्पष्ट र एक मतमा रह्यो ।
-सत्ता, सत्ता र सत्ता l जसरी पनि सत्ता l जे-जस्तै सम्झौता गरेर पनि सत्ता l हाम्रो राजनीतिमा केही समय यता नराम्रोसँग विकसित गलत प्रवृत्तिका विरुद्ध नेपाली कांग्रेस फरक सन्देशका साथ उभिन पुगेको छ ।
-आइतबार बिहान ९.३० मा पार्टी केन्द्रीय कार्यालयमा प्रदेश सभापतिहरु र मुख्यमन्त्रीहरु सहित बस्ने बैठकबाट हामी हाम्रो धारण प्रस्ट पार्छौ ।
प्रतिक्रिया 4