+
+
Shares

सिमरा सेज : खण्डहर बन्दै ४५ करोडका पूर्वाधार

सिमरा सेजको ब्लक ‘ए’ मा विभिन्न सेवामूलक कार्यालय सञ्चालन गर्ने उद्देश्यले बनेका भौतिक संरचनाहरू प्रयोगमा नआउँदा खण्डहरमा परिणत हुन थालेका छन् ।

सुनिल गाउँले सुनिल गाउँले
२०८३ साउन १५ गते १८:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाराको सिमरा आर्थिक क्षेत्र प्राधिकरणमा ४५ करोड रुपैयाँको लागतमा निर्मित भौतिक संरचनाहरू प्रयोगविहीन हुँदा खण्डहरमा परिणत हुन थालेका छन् ।
  • सेवामूलक कार्यालय सञ्चालनका लागि बनेका सात वटा भवनहरूमा बैंक तथा अन्य निकायले चासो नदेखाउँदा संरचनाहरू जीर्ण बन्दै गएका हुन् ।
  • सेजका फिल्ड प्रमुख अजय चौधरीले भने, 'बैंकहरूले संरचना ठूलो भयो भनेर फर्कनु भयो' र हाल उद्योगहरूले पनि कार्यालय राख्न रुचि देखाएका छैनन् ।

१५ साउन, बारा । बाराको सिमरा आर्थिक क्षेत्र प्राधिकरण (सेज) मा ४५ करोडको लागतमा बनेका भौतिक पूर्वाधार खण्डहरमा परिणत हुँदै गएका छन् ।

जितपुरसिमरा उपमहानगरपालिका–४ स्थित सिमरा सेजको ब्लक ‘ए’ मा विभिन्न सेवामूलक कार्यालय सञ्चालन गर्ने उद्देश्यले बनेका भौतिक संरचनाहरू प्रयोगमा नआउँदा खण्डहरमा परिणत हुन थालेका हुन् ।

सिमरा सेजको ब्लक ‘ए’ मा उद्योगहरू धमाधम बनिरहेका छन् । तर सेजको उद्देश्य बमोजिमका सेवामूलक कार्यालय सञ्चालनमा सम्बन्धित क्षेत्रले चासो नदिएपछि भन्सार, बैंक, इन्स्योरेन्स, पोस्ट अफिस, पोलिक्लिनिक, डे–केयर लगायतका सेवा सञ्चालन गर्ने उद्देश्यले बनेका भवनहरू झाडीले छोप्न थालेका छन् । झ्याल ढोकाहरू फुट्न थालेका छन् भने रेलिङहरू भाँचिन थालेका छन् ।

विशेष क्षेत्र प्राधिकरणको सिमरा कार्यालयका अनुसार यहाँ बनेका सेवा भवन सञ्चालनका लागि प्राधिकरणले दुई वर्षअघि नै सूचना प्रकाशन गरेर प्रस्ताव आह्वान गरेको थियो ।

केही बैंक तथा वित्तीय संस्थाहरूले सेवा सञ्चालनमा रुचि देखाए पनि उनीहरूको आवश्यकताभन्दा ठूला संरचना बनेकाले सम्झौता हुन नसकेको सिमरा सेजका फिल्ड प्रमुख अजय चौधरीले जानकारी दिए ।

‘सेजले प्रस्ताव मागेपछि केही बैंकहरूले रुचि देखाएका थिए । बैंकबाट हेर्न पनि आउनु भयो, तर भवन ठूलो भयो भनेर फर्कनु भयो,’ चौधरीले भने ।

उद्देश्य अनुसारका सेवा क्षेत्र नआएपछि सेजले यहीँ सञ्चालनमा आएका तथा बन्दै गरेका उद्योगहरूको कार्यालय प्रयोजनका लागि समेत भवन भाडामा दिने नीति अघि सारेको छ । तर सेजमै चलिरहेका तथा बनिरहेका उद्योगहरूले समेत सेवा भवनमा कार्यालय राख्न चासो नदिएको सेजका फिल्ड प्रमुख चौधरीले बताए ।

‘जुन सेवा क्षेत्रलाई आह्वान गरिएको थियो, उनीहरू नआएपछि यहीँका उद्योगको अफिस राख्नसमेत यी भवन दिने भनेका छौं । कोही आउनु भएको छैन,’ चौधरीले भने ।

सिमरा सेजको प्रशासनिक भवनसहित भन्सार, बैंक, इन्स्योरेन्स, पोस्ट अफिस, पोलिक्लिनिक, डे–केयर लगायतका सेवा सञ्चालन गर्ने उद्देश्यले बनेका कूल सात वटा भवन ४५ करोडको लागतमा बनेका थिए । प्रशासनिक भवन भने साउन अन्तिम साताबाट उपयोगमा ल्याउने गरी तयारी भइरहेको कार्यालयले जनाएको छ ।

सिमरा सेजको ब्लक ‘ए’ मा बन्ने २२ वटा उद्योगमध्ये हाल ६ वटाले उत्पादन गरिरहेका छन् । थप १० वटा उद्योग अन्तिम चरणमा निर्माणाधीन छन् भने थप ६ वटाले पूर्वाधार निर्माणको तयारी गरिरहेका छन् ।

लेखक
सुनिल गाउँले

दुई दशकदेखि पत्रकारिता गरिरहेका गाउँले अनलाइनखबरका बारास्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?