News Summary
Generated by OK AI. Editorially reviewed.- वन तथा वातावरणमन्त्री गीता चौधरीले सामुदायिक वनमार्फत उद्यमशीलता, प्रशोधन र हरित रोजगारी सिर्जनालाई सरकारले उच्च प्राथमिकता दिएको बताएकी छन् ।
- उनले सामुदायिक वन क्षेत्रलाई आर्थिक र वातावरणीय रूपमा सशक्त बनाउन तीनै तहका सरकार र सरोकारवालाहरूबीच निरन्तर सहकार्य आवश्यक रहेको कुरामा जोड दिइन् ।
- हाल देशभर २३ हजार ८९ सामुदायिक वन उपभोक्ता समूहले २५ लाख १७ हजार ७६५ हेक्टर वन क्षेत्र व्यवस्थापन गर्दै आइरहेका छन् ।
२५ साउन, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सामुदायिक वनमा आधारित उद्यमशीलता, प्रशोधन, बजारीकरण र हरित रोजगारी सिर्जनालाई प्राथमिकता दिने सरकारको लक्ष्य रहेको बताएकी छन् ।
सामुदायिक वन दिवसका अवसरमा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा सामुदायिक वनले स्थानीय आवश्यकता पूर्ति, जीविकोपार्जनमा सुधार, उद्यमशीलता र युवा सहभागितामार्फत रोजगारी सिर्जना गरी राष्ट्रिय समृद्धिमा टेवा पुर्याउने विश्वास समेत व्यक्त गरिन् ।
विगत चार दशकको अनुभव र सिकाइलाई आधार मानी वन क्षेत्रलाई आर्थिक, सामाजिक र वातावरणीय रूपमा सशक्त बनाउन तीनै तहका सरकार, समुदाय, निजी क्षेत्र र विकास साझेदारहरूबीच निरन्तर सहकार्य रहने उनले बताइन् ।
मन्त्री चौधरीले सुशासन, पारदर्शिता, सामाजिक समावेशीकरण, र समग्र वन क्षेत्रको डिजिटलाइजेसनमा जोड दिइएको धारणा राखिन् ।
‘काठ, बाँस, गैरकाठ वन पैदावारजस्ता स्वदेशी उत्पादनको प्रवर्धनका साथै वातावरणीय पर्यापर्यटन मार्फत स्थानीय समुदायको आयआर्जन बढाउने लक्ष्य रहेको छ,’ उनले भनिन् ।
वन्यजन्तुका लागि वनभित्रै खाना र बासस्थानको व्यवस्था मिलाई मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उल्लेख उनले गरिन् ।
‘समृद्ध समुदाय, समृद्ध वन र समृद्ध नेपाल’ को अभियानलाई सफल बनाउन एकजुट भई हातेमालो गर्न आह्वान समेत उनले गरिन् ।
हाल देशभर २३ हजार ८९ सामुदायिक वन उपभोक्ता समूहले २५ लाख १७ हजार ७६५ हेक्टर वन क्षेत्र व्यवस्थापन गरिरहेको सामुदायिक वन उपभोक्ता महासंघले जनाएको छ ।
प्रतिक्रिया 4