+
+
Shares

डोल्पा पूर्वाधार विकास कार्यालयमा लागेको ताला दुई घण्टापछि खुल्यो

गाउँसम्म सडक नपुगेको भन्दै डोल्पाको पूर्वाधार विकास कार्यालयमा वडाध्यक्षसहित स्थानीयले लगाएको ताला दुई घण्टापछि खुलेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २५ गते १८:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डोल्पाको तिब्ला गाउँमा सडक नपुगेको भन्दै स्थानीयले पूर्वाधार विकास कार्यालयमा लगाएको ताला प्रशासनसँगको छलफलपछि दुई घण्टामा खोलिएको छ ।
  • सडक निर्माण कार्य वर्षौंदेखि अलपत्र परेपछि दबाब स्वरूप आफूहरू कार्यालयमा तालाबन्दी गर्न बाध्य भएको वडाध्यक्ष जुद्धबहादुर रोकायाले बताए ।
  • प्रशासनसँगको छलफलमा वैकल्पिक माध्यमबाट भए पनि तिब्ला गाउँसम्म सडक पुर्‍याउने गरी आवश्यक समन्वय र सहजीकरण गर्ने सहमति भएको छ ।

२५ साउन, डोल्पा । गाउँसम्म सडक नपुगेको भन्दै डोल्पाको पूर्वाधार विकास कार्यालयमा वडाध्यक्षसहित स्थानीयले लगाएको ताला दुई घण्टापछि खुलेको छ ।

ठूलीभेरी नगरपालिका–४ तिब्ला गाउँका वडाध्यक्ष जुद्धबहादुर रोकायासहित पूर्वजनप्रतिनिधि र स्थानीयले सदरमुकाम दुनैदेखि तिब्ला जोड्ने सडक निर्माण कार्य वर्षौं बितिसक्दा पनि पूर्णता नपाएको भन्दै सोमबार कार्यालयमा तालाबन्दी गरेका थिए ।

तालाबन्दीपछि स्थानीय जनप्रतिनिधि, स्थानीयवासी र जिल्ला प्रशासन कार्यालयबीच छलफल भएको थियो ।

प्रमुख जिल्ला अधिकारीसहित बसेको बैठकले निर्माणाधीन सडकलाई वैकल्पिक माध्यमबाट भए पनि तिब्ला गाउँसम्म पुर्‍याउने गरी आवश्यक समन्वय र सहजीकरण गर्ने सहमति गरेपछि कार्यालयमा लगाइएको ताला खोलिएको हो ।

वडाध्यक्ष रोकायाका अनुसार तिब्ला गाउँसम्म सडक पुर्‍याउन तथा निर्माणाधीन सडक खण्डलाई पूर्णता दिन सम्बन्धित कार्यालय, जिल्ला प्रशासन र सरोकारवाला निकायसँग पटक–पटक आग्रह गर्दा पनि काम अघि नबढेपछि दबाब स्वरूप तालाबन्दी गरिएको हो ।

‘सडक निर्माण सुरु भएको वर्षौं बितिसक्यो । गाउँसम्म सडक पुगेको छैन । सम्बन्धित निकायसँग पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि तालाबन्दी गर्न बाध्य भएका हौँ,’ रोकायाले भने ।

उनका अनुसार प्रशासन कार्यालयमा भएको छलफलमा तत्कालको अवस्थामा सडक निर्माणका लागि वैकल्पिक माध्यम अपनाएर भए पनि गाउँसम्म सडक पुर्‍याउने सहमति भएको छ । उक्त सहमतिपछि करिब दुई घण्टापछि कार्यालयको ताला खोलिएको हो ।

सोही वडाका पूर्ववडाध्यक्ष जीवराम बुढाका अनुसार कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा बहुवर्षीय आयोजनाका रूपमा सदरमुकाम दुनैदेखि तिब्ला, थरगाउँ हुँदै रुकुम पूर्वको सिमाना तोरीद्वारीसम्म सडक निर्माणका लागि बजेट स्वीकृत गरेको थियो । तर, निर्माण सुरु भएको लामो समय बितिसक्दा पनि सडकले पूर्णता पाउन सकेको छैन ।

‘समयमै सडक निर्माण सम्पन्न हुनुपर्ने हो । निर्माण सुरु भएको वर्षौं भइसक्दा पनि काम पूरा भएन । त्यसैले गाउँका स्थानीय मिलेर कार्यालयमा तालाबन्दी गरेका हौँ,’ बुढाले भने ।

सडक निर्माणले पूर्णता नपाउँदा आवतजावतमा समस्या भइरहेको स्थानीय काली बुढाले बताइन् । सदरमुकाम दुनै नजिकै रहेको गाउँमा समेत सडक नपुग्दा आफूहरू पछाडि परेको उनको गुनासो छ ।

‘सडक निर्माण सुरु भएको वर्षौं भयो, अझै पूरा भएको छैन । सडक अलपत्र परेपछि सिंगो गाउँ नै आएर ताला लगाउन बाध्य भयौँ,’ उनले भनिन् ।

स्थानीयले सम्बन्धित कार्यालय र निर्माण व्यवसायीको लापरबाहीका कारण सडक निर्माणले गति लिन नसकेको आरोप लगाउँदै आएका छन् ।

सडक निर्माणका लागि बर्सेनि बजेट आउने गरे पनि प्रभावकारी रूपमा काम हुन नसक्दा बजेट खर्च हुन नसकी फ्रिज जाने गरेको उनीहरूको गुनासो छ ।

यता, पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख टेक राज शर्माले आफू कार्यालयमा नयाँ आएको र कार्यालय प्रमुखसमेत बाहिर रहेकाले उक्त सडक खण्डको विस्तृत अवस्थाबारे आफूलाई जानकारी नभएको बताएका थिए ।

तालाबन्दीपछि भएको छलफलमा तिब्ला गाउँसम्म सडक पुर्‍याउन आवश्यक सहजीकरण तथा समन्वय गर्ने सहमति भएपछि स्थानीयले कार्यालयको ताला खोलेका हुन् ।

स्थानीयले भने बैठकमा भएको सहमति कार्यान्वयन गर्दै वैकल्पिक माध्यमबाट भए पनि तिब्ला गाउँसम्म सडक पुर्‍याउने काम तत्काल अघि बढाउनुपर्ने माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?