News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तहको निर्वाचनका लागि १ भदौदेखि उम्मेदवार छनोट प्रक्रिया शुरू गर्ने निर्णय गरेको छ ।
- रास्वपाले पालिका र वडा तहका उम्मेदवार चयन गर्न सम्बन्धित इच्छुक व्यक्तिहरूलाई क्यान्डिडेट क्लबमार्फत आवेदन दिन आह्वान गरेको छ ।
- पार्टीले प्रारम्भिक निर्वाचन, लिडरसिप एकेडेमी र पोलिटिकल प्रोक्सिमिटीसहित चार चरणको मापदण्डका आधारमा उम्मेदवार छनोट गर्ने विधि तय गरेको छ ।
२६ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १ भदौदेखि स्थानीय तहका उम्मेदवार छनोट प्रक्रिया सुरु गर्ने भएको छ । आगामी स्थानीय तहमा उम्मेदवार हुन इच्छुकले क्यान्डिडेट क्लबमा आवेदन दिन सक्ने छन् । उम्मेदवार हुन इच्छुकको आवेदनको चरणलाई रास्वपाले उम्मेदवार छनोटको पहिलो विन्दु भनेको छ ।
आगामी स्थानीय तहको निर्वाचनमा योग्य, इमान्दार र सक्षम उम्मेदवार छनोट गर्न भन्दै क्यान्डिडेट क्लबमा आवेदन खुला गर्ने निर्णय केन्द्रीय समितिले गरेको थियो ।
रास्वपाले स्थानीय तहका उम्मेदवार छनोटको विधि बनाउन महामन्त्री विपिनकुमार आचार्यलाई दिएको थियो । अघिल्लो समितिमा आचार्य सहमहामन्त्री रहँदा तयार गरिएको उम्मेदवार छनोट रूपरेखा सार्वजनिक गरिएको छ ।
पालिकाको उम्मेदवार हुन इच्छुकका लागि सबैभन्दा बलियो आधार प्रारम्भिक निर्वाचन हो । स्थानीय तहमा रास्वपाको उम्मेदवार हुन इच्छुकले चार चरणको छनोट मापदण्ड पार गर्नु पर्छ । त्यसमध्ये ४० प्रतिशत मतभारसहित प्रारम्भिक निर्वाचन प्रणाली तय गरिएको छ ।
प्राइमरी इलेक्सनका मतदाता सम्बन्धित स्थानका सबै सदस्य हुने छन् । प्राइमरी इलेक्सनमा पनि सबैभन्दा बढी मतभार स्थानीय सदस्यहरूको हुने गरी विधि बनाइएको छ ।
सम्बन्धित पालिकाका पार्टी सदस्यहरूलाई भारांक सबैभन्दा बढी ७५ प्रतिशत छ । सम्बन्धित स्थानका व्यक्ति भएर पार्टी संरचना वडादेखि प्रदेशसम्मको संरचनामा कार्यरत पनि मतदाता हुन पाउने छन् । उनीहरूको हकमा प्रारम्भिक मतदानमा १५ प्रतिशत अंकभार हुन्छ । साथै, सम्बन्धित पालिकाको व्यक्ति भई केन्द्रीय समितिमा रहेको भए प्रारम्भिक मतदाताको रूपमा भारांक १० प्रतिशत तोकिएको छ ।
उम्मेदवार हुन इच्छुकले आवेदनपश्चात् लिडरसिप एकेडेमीको कक्षा लिएको हुनु पर्छ । लिडरसिप एकेडेमीका लागि निर्धारण केन्द्रले पाठ्यक्रम बनाउने छ । लिडरसिप एकेडेमीअन्तर्गत व्यक्तिको राजनीतिक संस्कार, नीतिगत स्पष्टता, जनसेवा लगायतका विषयलाई पार्टीले मूल्यांकन गर्नेछ । लिडरसिप एकेडेमीका लागि भारांक २५ प्रतिशत तोकिएको छ ।
उम्मेदवारका आकांक्षीहरूको ‘पोलिटिकल प्रोक्सिमिटी’ मूल्यांकन गरिने भएको छ । यस मापदण्डका लागि भारांक २५ प्रतिशत तोकिएको छ । यही मापदण्ड अन्तर्गत रहेर व्यक्तिको सांगठनिक आवद्धता, विगतको भूमिका र अनुशासन, निर्वाचित हुने सम्भाव्यता, बहुआयामिक लोकप्रियता, शैक्षिक-पेशागत अनुभव, तटस्थ सामाजिक परीक्षण लगायतको मूल्यांकन गरिने छ ।
उम्मेदवार क्लबमा दर्ता भएको कुनै व्यक्ति समावेशिताको मापदण्डभित्र रहे उम्मेदवार हुनका लागि उसले स्वतः थप १० प्रतिशत अंक प्राप्त गर्छ ।

१ भदौबाट खुला हुने पालिका क्यान्डिडेट क्लबको आवेदनमा दुई प्रकृतिका आवेदन खुल्ने छन् । पालिका क्यान्डिेडेट क्लबमा पालिकाका प्रमुख-मेयर, उपप्रमुख-उपमेयर, अध्यक्ष र उपाध्यक्ष पदका आकांक्षीहरूले आवेदन पेस गर्न सक्ने छन् ।
वडाध्यक्ष र सदस्यका लागि ‘वडा क्यान्डिडेट क्लब’ खुला गरिने छ । आवेदकले आफ्नो वैयक्तिक चारित्रिक अवस्था खुलाउनु पर्ने हुन्छ । शैक्षिक प्रमाणपत्रको प्रमाणीकरण, वैवाहिक अवस्थाको कानुनी स्पष्टता, दुर्व्यवहार तथा डिजिटल अपराध, वित्तीय तथा आर्थिक शुद्धता, स्वार्थ बाझिने अवस्था, विचाराधीन मुद्दा तथा कानुनी विवादको स्पष्टता लगायतका विषय आवेदकले खुलाउनु पर्छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार छनोट प्रक्रियामा सहभागी भएको व्यक्तिलाई स्थानीय तह निर्वाचनको उम्मेदवार छनोट प्रक्रियामा सहभागी नगराउने विधि रास्वपाले तय गरेको छ । प्रतिनिधिसभाको गत निर्वाचनमा उम्मेदवार छनोट प्रक्रिया सुरु गरिए पनि कार्यान्वयन हुन सकेको थिएन ।
स्थानीय तहका उम्मेदवारको आकांक्षी हुनका लागि पार्टी सदस्यता लिएको, अन्य दल परित्याग गरेको समय-सीमासमेत रास्वपाले निर्धारण गरेको छ । विगतमा अन्य राजनीतिक दलमा नरहेको र रास्वपाको सदस्यता लिएको व्यक्तिको हकमा सदस्यता लिएको ४५ दिन पूरा भएपछि उम्मेदवार क्लबमा आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
अन्य दल त्यागेकाहरूको हकमा तीन महिना पुगेको भए मात्रै उम्मेदवार क्लबमा आवेदन पेस गर्न सकिने व्यवस्था गरिएको छ । समाजका प्रतिष्ठित, विज्ञ, सार्वजनिक रूपमा स्वच्छ छवि भएका व्यक्तिको हकमा तोकिएका समिति तथा निकायहरूको सहमतिबमोजिम विशेष प्रक्रियामार्फत आवेदन दिन सकिने विधि बनाइएको छ । उनीहरूको हकमा पार्टीको आवद्धताको समयसीमा तोकिएको छैन ।
वैज्ञानिक र वस्तुपरक छनोट प्रणाली स्थापना गर्न, उचित मूल्याङ्कन र योग्य नेतृत्वको सुनिश्चितता गर्न, ‘सही तरिकाले, सही ठाउँमा, सही व्यक्ति’ छान्ने परिपाटी स्थापित गर्न, पार्टीकै संयन्त्रमार्फत प्रशिक्षित गराई भावी जिम्मेवारीका लागि तयार गर्न उम्मेदवार क्लब गठन गरिएको रास्वपाले जनाएको छ ।
उम्मेदवार छनोटको विधिले स्थानीय लोकप्रियता र निर्वाचन जित्ने क्षमताको परीक्षणसमेत गर्ने रास्वपाको ठहर छ । यो विधिबाट उम्मेदवार छनोट गर्दा नेता केन्द्रित होइन, विधि केन्द्रित निर्णयको संस्कृति विकास हुने रास्वपाले जानकारी दिएको छ ।
उम्मेदवार छनोटका लागि केन्द्रीय सचिवालयलाई विशेषाधिकारको प्रयोग गर्न सक्ने प्रावधान राखिएको छ । सचिवालयलाई प्राप्त विशेष अधिकारअन्तर्गत भनिएको छ, ‘उम्मेदवार छनोट रूपरेखामा जुनसुकै कुरा लेखिएको वा व्यवस्था भएको भए तापनि पार्टी सचिवालयले केन्द्रीय समितिबाट अनुमोदन गराउने गरी हरेक तहको उम्मेदवार छनोटमा अधिकतम प्रतिशत नबढ्ने गरी विशेषअधिकार प्रयोग गर्न सक्नेछ ।’
पार्टीले बनाएको विधि प्रयोग हुन नसक्ने अवस्थाको समेत परिकल्पना गरिएको छ । उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन हुन नसक्ने अवस्था आएमा त्यसलाई ‘असाधारण अवस्था’ भनिएको छ ।
त्यस्तो असाधारण परिस्थितिमा यो विधिभन्दा बाहिर गएर उम्मेदवार छनोट गर्नुपर्ने अवस्था आएमा त्यस्तो निर्णयलाई केन्द्रीय समितिबाट दुई तिहाइले पारित गर्नु पर्ने प्रावधान राखिएको छ ।
प्रतिक्रिया 4