+
+
Shares

मालिकाका महिलालाई निउरो र तामाको अचार बनाउने तालिम

अनिल खत्री अनिल खत्री
२०८३ साउन २८ गते ७:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीको मालिका गाउँपालिका–५ मा स्थानीय डोउडै र तामाको अचार उत्पादन तथा बजारीकरणसम्बन्धी महिला लक्षित तालिम सुरु भएको छ ।
  • घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा सञ्चालित दुईदिने तालिमले स्थानीय महिलालाई आयआर्जनका अवसरसँग जोड्ने लक्ष्य राखेको छ ।
  • गाउँपालिकाले उत्पादित अचारको बजार व्यवस्थापनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता उपाध्यक्ष उपेन्द्र अर्यालले व्यक्त गर्नुभयो ।

२८ साउन, गुल्मी । गुल्मीको मालिका गाउँपालिका–५ छापहिलेमा डोउडै (निउरो) र तामाको अचार उत्पादनसम्बन्धी तालिम सुरु भएको छ ।

स्थानीयस्तरमा पाइने डोउडै र तामालाई प्रशोधन गरी अचार उत्पादन तथा बजारीकरण गर्ने उद्देश्यले महिलाका लागि तालिम आयोजना गरिएको हो । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजना तथा मालिका गाउँपालिका–५ को समन्वयमा सञ्चालित तालिम २९ साउनसम्म चल्नेछ ।

तालिममा डोउडै र तामाको छनोट, सरसफाइ, प्रशोधन, मसला तथा अन्य सामग्रीको प्रयोग, अचार बनाउने विधि, गुणस्तर कायम, सुरक्षित भण्डारण, प्याकेजिङ, लेबलिङ र बजार व्यवस्थापनबारे व्यावहारिक ज्ञान दिइनेछ ।

आर्थिक वर्ष २०८३/०८४ को कार्यक्रमअन्तर्गत सञ्चालित तालिममा घरेलु तथा साना उद्योग कार्यालयको ६० प्रतिशत, मालिका गाउँपालिकाको ३० प्रतिशत र सहकारी महिला विकासको १० प्रतिशत लागत साझेदारी रहेको कार्यालयका कार्यक्रम सहजकर्ता त्रिविक्रम ज्ञवालीले जानकारी दिए ।

तालिमको उद्देश्य स्थानीय स्रोतसाधनको उपयोग गर्दै महिलालाई आयआर्जनसँग जोड्नु रहेको उनले बताए ।

मालिका गाउँपालिका–५ का वडाध्यक्ष रेखाकुमार जिसीले स्थानीयस्तरमै उपलब्ध कच्चापदार्थलाई प्रशोधन गरी व्यावसायिक उत्पादनमा रूपान्तरण गर्न तालिमले सहयोग गर्ने बताए । यसबाट महिलाको आम्दानी बढ्नुका साथै स्थानीय अर्थतन्त्रमा समेत योगदान पुग्ने उनको भनाइ छ ।

गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले महिलाले उत्पादन गरेको अचारलाई बजारसम्म पुर्‍याउन गाउँपालिकाले सहयोग गर्ने बताए । उत्पादनले बजार नपाए बजार व्यवस्थापनका लागि गाउँपालिकाले पहल गर्ने उनले बताए ।

छापहिलेमा बर्खायाममा डोउडै र तामा प्रशस्त पाइने भए पनि व्यावसायिक रूपमा प्रशोधन तथा बजारीकरण गर्ने अभ्यास न्यून छ । स्थानीयका अनुसार छापहिलेमा पाइने डोउडै तम्घास बजारमा बिक्री हुँदै आएको छ ।

मौसमी रूपमा बढी उत्पादन हुने डोउडै र तामालाई अचार बनाएर सुरक्षित रूपमा भण्डारण गर्न सके वर्षभरि बिक्री गर्न सकिने सम्भावना रहेको स्थानीयको भनाइ छ । उत्पादन भएको समयमा कम मूल्यमा बिक्री गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै प्रशोधनमार्फत मूल्य अभिवृद्धि गर्न सकिने अपेक्षा गरिएको छ ।

तालिममा सहभागी महिलाले स्थानीयस्तरमै उपलब्ध सामग्रीबाट अचार उत्पादन गरी आम्दानी गर्न सकिने भएकाले उत्साहित भएको बताएका छन् । उत्पादित अचारलाई स्थानीय बजारसँगै तम्घास र आसपासका बजारमा बिक्री गर्ने लक्ष्य राखिएको छ ।

लेखक
अनिल खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?