News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा वसन्त कालाथोकीमाथि आक्रमणपछि सिभिल अस्पतालमा सवा १२ बजे मृत घोषणा गरियो।
- प्रहरीले होस्टलबाट ६ जनालाई नियन्त्रणमा लिएको छ, जसमा बाराका १८ वर्षीय शेखर यादवको हत्यामा प्रत्यक्ष संलग्नता देखिएको छ।
- हत्यामा संलग्न प्रमित पटेल मकवानपुरको भैंसेबाट पक्राउ परेका छन्, र प्रहरीले दुई जनाविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान गर्ने तयारी गरेको छ।
५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका–१० शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा शुक्रबार बिहान तनाव भयो ।
केही व्यक्तिहरूले एक युवकमाथि आक्रमण गरे । उनीमाथि होस्टलमा भएका सरसामान लगायत धारिलो हतियारसमेत प्रहार भयो । विद्यार्थी बस्ने होस्टल एकैछिनमा रणभूमिमा परिणत भयो ।
यो सूचना प्रहरी वृत्त नयाँ बानेश्वरमा पुग्यो । प्रहरी घटनास्थल पुग्यो । आक्रमणबाट गम्भीर घाइते थिए वसन्त कालाथोकी । दाङको घोराही उपमहानरपालिका–१७ घर भई उक्त होस्टलमा बस्दै आएका कालाथोकीलाई उपचारका लागि नजिकैको सिभिल अस्पताल लगियो । चिकित्सकले करिब सवा १२ बजेतिर उनलाई मृत घोषणा गरे ।
‘उद्धार गरेर अस्पताल लगिएको थियो । सवा १२ बजेतिर मृत घोषणा भएको जानकारी आयो,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दानबहादुर थापाले भने ।
मृतक थापाको टाउको र घाँटीमा धारिलो हतियारको चोट छ । जसका कारण उनको हत्या कुटपिट र धारिलो हतियार प्रहारबाट भएको प्रहरीको विश्लेषण छ । विस्तृत तथा यकिन रिपोर्ट भने पोस्टमार्टमपछि मात्रै खुल्नेछ ।
६ जना नियन्त्रण
घटना लगत्तै अनुसन्धानमा खटिएको प्रहरी टोलीले सुरुमा होस्टलबाट ६ जनालाई नियन्त्रणमा लियो । उक्त होस्टलमा बस्ने युवाहरूबाटै कालाथोकीको हत्या भएको निष्कर्षसहित प्रहरीले होस्टलमा बस्ने ६ जना युवालाई नियन्त्रणमा लिएको थियो ।
तर, नियन्त्रणमा लिएकामध्ये बाराको कलैया उपमहानगरपालिका–३ घर भएका १८ वर्षीय शेखर यादव हत्यामा प्रतक्ष्य संलग्न देखिएको परिसरका प्रवक्ता थापा बताउँछन् ।
बाँकी नियन्त्रणमा लिएका ५ जनाको परिचय भने प्रहरीले खुलाएको छैन । उनीहरूलाई सोधपुछ गर्न प्रहरीले नियन्त्रणमा लिएको हो ।
‘सुरुमा हामीले ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेका हौं । जसमध्ये एक जनाका यादव हत्यामा प्रत्यक्ष संलग्नता देखिएको छ । बाँकीको हकमा भने अहिलेसम्म केही खुलेको छैन,’ उनी भन्छन् ।
केही शंकास्पद गतिविधि नदेखिएकालाई भने सोधपुछपछि छाडिने प्रहरीले बताएको छ ।
भाग्दै गर्दा मकवानपुरबाट पक्राउ
हत्यामा संलग्न रही फरार रहेका एक जना भने मकवानपुरबाट पक्राउ परेका छन् । हत्यापछि गाडी चढेर मकवानपुर हुँदै बारातर्फ जाँदै गरेका प्रमित पटेल पक्राउ परेका हुन् ।
कलैया घर भएका पटेललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मकवानपुर प्रहरीको समन्वयमा भैंसेबाट पक्राउ गरेको हो ।
उनलाई काठमाडौं ल्याउँदै गरिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोषकुमार खड्काले बताए । ‘मकवानपुरबाट पक्राउ गरेर काठमाडौं ल्याउँदै छौं,’ एसएसपी खड्काले भने ।
प्रहरी स्रोतका अनुसार उनी बाराबाट भारततर्फ भाग्ने योजना बनाएका थिए । तर प्रहरीको सक्रियताले उनी मकवानपुरमै पक्राउ परे ।
कालाथोकीको हत्यामा पटेल र शेखर यादवको संलग्नता देखिएकाले प्रहरीले दुई जनाविरुद्ध कर्तव्य ज्यानको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाउने तयारी गरेको छ ।
हतियार फेला परेन
प्रहरीले धारिलो हतियार प्रहारबाट कालाथोकीको हत्या भएको बताएको छ । उपचारका लागि लैजाँदा पनि उनको शरीरभरि चोटै चोट थिए । बोल्न नसक्ने अवस्थामा अस्पताल पुर्याइएका उनको मृत्यु भयो ।
तर, हतियार प्रहारबाट मृत्यु भएको बताइए पनि हतियार भने फेला नपरेको प्रहरीले बताएको छ । ‘शरीरभरि चोट भएकाले धारिलो हतियार प्रहारबाट मृत्यु भएको देखिन्छ । प्रहार गरिसकेपछि हतियार लुकाएको हुन सक्छ । अहिलेसम्म हतियार फेला परेको छैन,’ एक अनुसन्धान अधिकारीले भने ।
साथी–साथीको विवादमा हत्या
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा कालाथोकी हत्याको कारण भने साथी–साथीको विवाद रहेको देखिएको छ । अनुसन्धान गरिरहेका एक अनुसन्धान अधिृकत भन्छन्, ‘पुरानो रिसइबी देखिँदैन । साथी–साथीबीच हुने सामान्य विवादमै हत्या भएको देखिन्छ ।’
सामान्य विवाद हुँदा आवेशमा अन्धाधुन्दा आक्रमण गर्दा कालाथोकीको हत्या भएको प्रहरीको अहिलेसम्मको अनुसन्धानले देखाएको छ ।
होस्टलमा बस्दा विद्यार्थीहरूबीच हुने सामान्य विवादमै झगडा भएको प्रहरीको भनाइ छ । यद्यपि, मकवानपुरमा पक्राउ परेका व्यक्तिदेखि सबैसँग सोधपुछ गर्न बाँकी नै रहेकोले यसको यकिन कारणबारे विस्तृत अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीको भनाइ छ ।
होस्टलमा सुधार आवश्यक
प्रहरी अधिकारीहरू होस्टलमा सुधार आवश्यक रहेको बताउँछन् । पछिल्लो समय नयाँ बानेश्वर–बुद्धनगर–शंखमुल क्षेत्रका होस्टलमा अवैध लागुऔषध गाँजा सेवन गरेको सूचना आउन थालेको प्रहरीको भनाइ छ ।
हो–हल्लादेखि झगडा हुने, गाँजा सेवन गर्नेे गरेको प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरीले बेला–बेलामा खानतलासी गर्दै केही गाँजा बराबद गर्नेदेखि होस्टलमा बस्नेहरूलाई पक्राउसमेत गरेको थियो ।
युवा–युवतीहरू होस्टल बस्ने र होस्टल वार्डेनले राम्रोसँग निगरानी नगर्ने जस्ता कारण केही व्यक्तिहरू कुलतमा फस्ने गरेको पाइएको समेत प्रहरी अधिकारीहरू बताउँछन् । गाँजाको विषयहरू लिएरसमेत झगडा हुने गरेको प्रहरीको बुझाइ छ ।
प्रतिक्रिया 4