News Summary
Generated by OK AI. Editorially reviewed.- बर्दियामा सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका नागरिकका कथा र स्मृतिमा आधारित दुई हप्ता लामो आवासीय डकुमेन्ट्री थिएटर कार्यशाला हुने भएको छ ।
- ११ असोजदेखि २२ गतेसम्म २० जना सहभागीसहित कार्यशाला आयोजना हुनेछ ।
७ भदौ, काठमाडौं । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका नागरिकहरूका कथा, स्मृति र इतिहासलाई रंगमञ्चमार्फत प्रस्तुत गर्न बर्दियामा दुई हप्ता लामो आवासीय डकुमेन्ट्री थिएटर कार्यशाला आयोजना हुने भएको छ । मण्डला थिएटर नेपालले बर्दियास्थित बेपत्ता नागरिक स्मृति पार्कसँगको सहकार्य तथा सिभिल पिस सर्भिसको सहयोगमा उक्त कार्यशाला आयोजना गर्न लागेको हो ।
आगामी ११ असोजदेखि २२ गतेसम्म चल्ने उक्त कार्यशालामा काठमाडौंबाट ६ जना र बर्दियाबाट १४ जना गरी कुल २० जना सहभागीहरूलाई समावेश गराइनेछ । कार्यशालाका लागि इच्छुक रंगकर्मी, नागरिक अभियान्ता तथा बेपत्ता पारिएका व्यक्तिका परिवार एवं प्रभावित समुदायका सदस्यहरूबाट आवेदन आह्वान गरिएको छ ।
बर्दियास्थित बेपत्ता नागरिक स्मृति पार्कमा सङ्ग्रहित अभिलेख, स्मृति चिह्न र मौखिक गवाहीहरूलाई मुख्य स्रोत बनाएर कार्यशाला सञ्चालन गरिने आयोजकले जनाएको छ । कार्यशालाका सहभागीहरूले वास्तविक जीवनका घटनालाई रंगमञ्चीय दृश्यमा रूपान्तरण गर्ने तरिका, व्यक्तिगत कथा प्रयोग गर्दा अपनाउनुपर्ने नैतिक दृष्टि तथा सामूहिक नाट्य निर्माण प्रक्रियाबारे सिकाइ प्राप्त गर्नेछन् ।
उक्त कार्यशालाको मुख्य सहजकर्ताका रूपमा न्युयोर्कस्थित कोलम्बिया विश्वविद्यालयबाट एमएफए गरेकी थिएटर निर्देशक छेसङ किम रहने छिन् । कार्यशालाको अन्तिम दिन बेपत्ता नागरिक स्मृति पार्कमा सहभागीहरूले तयार पारेको नाट्य प्रस्तुति प्रदर्शन गरिनेछ । साथै, यस सम्पूर्ण नाट्य निर्माण प्रक्रिया र कार्यशालालाई समेटेर एक छोटो वृत्तचित्रसमेत निर्माण गरिनेछ ।
काठमाडौंबाट सहभागी हुनेहरूका लागि आउनेजाने यातायात तथा बसोबासको पूर्ण व्यवस्था गरिनेछ भने बर्दियाका सहभागीहरूलाई आवासीय चरणमा बसोबास र सम्पूर्ण सहभागीहरूलाई नि:शुल्क भोजनको व्यवस्था गरिएको छ ।
कार्यशालामा सहभागी हुन चाहनेले १९ भदौसम्म आफ्नो आवेदन mpbt@mandalatheatre.com मार्फत पठाइसक्नुपर्नेछ । थप बुझ्न यहाँ क्लिक गर्न सक्नुहुने छ ।
प्रतिक्रिया 4