News Summary
Generated by OK AI. Editorially reviewed.- दिब्यदेवको शीर्ष भूमिका रहेको फिल्म ‘बा : एक योद्धा’ १९ भदौमा देशव्यापी प्रदर्शन हुने भएको छ।
- दिब्यदेवले बाको पात्रले छोएकाले फिल्ममा काम गर्न लोभ लागेको र आफू मनैदेखि उत्साहित भएको बताएका छन्।
- फिल्मले नेपाली समाजमा बुवा र सन्तानबीचको सम्बन्ध, पुस्तान्तरणको सोच र परिवारभित्रको द्वन्द्व देखाउने सुहाना थापाले बताइन्।
काठमाडौं । १९ भदौ, अभिनेता दिब्यदेवको लागि खास हुनेवाला छ । उनले शीर्ष भूमिका निर्वाह गरेको पहिलो फिल्म ‘बा : एक योद्वा’ उक्त मितिमा देशब्यापी प्रदर्शन हुँदैछ ।
रिलिजको उल्टो गणना चलिरहँदा उनलाई निन्द्रा ढिलो लाग्न थालेको छ । उनी उत्साहमिश्रित छटपटीमा छन् । नहोस् पनि किन ? अघिल्ला फिल्ममा सहायक भूमिका निर्वाह गरेका उनीसँग अहिले ‘टाइटल रोल’ बोक्नुपर्ने जिम्मेवारी छ ।
शीर्ष भूमिका ‘बा’ को रोलमा दिब्यदेव फिचर्ड छन् । हुन त, रुपचन्द्र विष्टको बायोपिक ‘रुदाने’ मा उनले शीर्ष भूमिका चित्रण गरिसकेका थिए, तर त्यो फिल्म रिलिज हुन सकेन ।
फिल्म प्रवर्धनमा जुटेका दिब्यदेव अनलाइनबरको स्टुडियोमा यही फिल्मको कास्टिङ, अनुभव लगायतका आयाममा गफिए । कथा सुन्दै जाँदा उनलाई त्यसले यसरी आकर्षित गर्यो कि, उनले निर्मातासँग आफ्नो लोभ पेश गरे ।
सम्झिए, ‘कथा पढ्दै जाँदा बाको पात्रले यसरी छोयो कि, लोभ जाग्यो । मैले उहाँहरूलाई भनिहालेँ । कस्सो कस्सो, कुरा मिलिहाल्यो ।’
व्यक्तिगतरुपमा आफू उक्त पात्रसँग ‘कनेक्ट’ भएको दिब्यदेव बताउँछन् । ‘सायद धेरै पछि मैले मनैदेखि यत्तिको काम गर्न पाएको छु । धेरै हदसम्म यसको भावना, यसको कथाले, जसरी कथा अघि बढ्दै जान्छ, अभिनेताको रुपमा धेरै नै उत्साहित बनाएको हो’ उनले भने, ‘केही ड्राफ्ट पनि हेर्ने मौका पाएँ । एकदमै एक्साइटेड छु ।’

फिल्ममा छोरीको भूमिकामा सुहाना थापाले अभिनय गरेकी छन् । नेपाली समाजमा बुवालाई संरक्षणकर्ताको रुपमा हेरिने र त्यही कुरालाई फिल्ममा कथाको रुप दिइएको उनी बताउँछिन् ।
‘छोरीको लागि बुवा भन्ने वित्तिकै प्रोटेक्टर, सेभियर बन्ने कोणबाट हेर्छौं सँधै नै । दुःखबाट निकाल्ने पहिलो व्यक्ति भनेको बुवा नै हो । आर्थिक समस्या देखि भविष्यमा केही गर्न मन लाग्यो भने बुवा अगाडि आउँछ’ भन्छिन्, ‘बुवाप्रतिको यही सोचलाई बोकेर बा एक योद्धा बनेको छ ।’
फिल्मले नेपाली समाजमा रहेको बुवा र सन्तानबीचको खास सम्बन्धलाई चित्रण गर्ने दिब्यदेव बताउँछन् ।
‘स्वभावअनुसार नै नेपाली समाज भनेको परिवारसँग बस्ने, आफ्नो परिवारमात्र होइन कि काका, काकी, पल्लो घर तल्लो घर । नेपाली समाजको सुन्दरता नै यही हो’ उनको विश्लेषण छ, ‘तर, यसमा चुनौती छ । किनभने युवाको ठूलो संख्या विदेशमा हुनुहुन्छ । यसले परिवारभित्र स्ट्रगल निम्त्याउँछ ।’
पछिल्लो समय बनिरहेका फिल्मले पनि भनेका यिनै कथा दोहोरिएको जस्तो दर्शकलाई लाग्न सक्ने दिब्यदेवको बुझाइ छ । ‘कलाले बोक्ने पनि तत्कालको समाज कता गएको छ, के भोगेको छ भन्ने नै हो’ उनी भन्छन्, ‘अहिलेको समाजको वास्तविकतालाई नै यसले बोक्ने हो ।’

साथै, फिल्ममा नयाँ र पुरानो पुस्ताको मनोविज्ञान र सोचले निम्त्याउने द्वन्द्वको कथालाई पनि फिल्मले समेटेको सुहाना बताउँछिन् । ‘युवाको रुपमा हाम्रो बुवाको पुस्ता अलि परम्परात माइन्ड–सेटबाट हुर्किनुभयो’ सुहाना भन्छिन्, ‘हाम्रो हातमा संसार छ । यो भनेको सन्तुलन नमिलेको हो । यो कुरा बा एक योद्धामा पनि छ । यसले द्धन्द्ध निम्त्याउँछ नि ।’
चर्चित संगीतकार समेत रहेका हरि लम्सालले यो फिल्मबाट डेब्यू गरेका हुन् । पछिल्लो समय ‘बा’को कथामाथि धमाधम फिल्म बन्न थालेका छन् । पूर्णबहादुरको सारंगी, महापुरुष, परान तीनैवटा बक्सअफिसमा हिट फिल्म हुन् । यी फिल्मको केन्द्रमा बाको कथा समेटिएको छ ।
यसअघि आमाको कथामाथि धेरै फिल्महरू बने । समय क्रममा बुवाको समर्पण र त्यागमाथि बन्ने फिल्मको श्रृंखला लामो हुँदै गैरहेको छ ।
तस्वीर तथा भिडियो : शंकर गिरी



प्रतिक्रिया 4