News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्राकृतिक विपद्को उद्धार, राहत र पुनर्निर्माणका लागि सरकारसँग स्रोत–साधनको अभाव नहुने बताएका छन्।
- उनले विश्व बैंकसँग करिब २५ अर्ब रुपैयाँको आर्थिक सहायता सुनिश्चित भएको र चीन, भारत, जापान, एडीबी तथा आईएफआरसीबाट पनि सहयोगको प्रतिबद्धता आएको बताए।
- मन्त्रालयले चालु आर्थिक वर्षमा विपद् व्यवस्थापनका लागि १० अर्ब रुपैयाँ विनियोजन गरेको र उद्धार कोषमा ३ अर्ब ५१ करोड रुपैयाँ सुरक्षित रहेको जनाएको छ।
११ भदौ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा आइपरेको प्राकृतिक विपद्को सामना गर्न सरकारसँग स्रोत र साधनको कुनै अभाव नहुने प्रतिबद्धता व्यक्त गरेका छन्।
बिहीबार सिंहदरबारमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँगको बैठकपछि जानकारी दिँदै उनले तत्कालको उद्धार, राहत तथा दीर्घकालीन पुनर्निर्माणका लागि आन्तरिक र बाह्य दुवैतर्फबाट बजेटको सुनिश्चितता भइसकेको बताए।
राष्ट्रिय संकटको घडीमा सम्पूर्ण राजनीतिक दलहरू एकै ठाउँमा उभिनु नेपाली राजनीतिको सकारात्मक पक्ष भएको भन्दै उनले यस संकटलाई सम्पूर्ण समाजको अवधारणाअनुरूप सरकार, राजनीतिक दल, नागरिक समाज र निजी क्षेत्र सबै एकीकृत रूपमा अघि बढ्नुपर्नेमा जोड दिए।
उनले भने, ‘घटनालगत्तै विश्व बैंकसँगको समन्वयमा करिब २५ अर्ब रुपैयाँ बराबरको आर्थिक सहायता सुनिश्चित भइसकेको छ। यसका अतिरिक्त चीन, भारत, जापान, एसियाली विकास बैंक (एडीबी) र रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) बाट पनि सहयोगको प्रतिबद्धता प्राप्त भएको छ।’
मन्त्री वाग्लेका अनुसार, चालु आर्थिक वर्षको बजेटमा विपद् व्यवस्थापनका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ अर्ब ३४ करोड र गृह मन्त्रालयको कोषमा १ अर्ब १७ करोड रुपैयाँ सुरक्षित रहेकाले तत्काल राहत र उद्धारमा कुनै कमी नहुने अर्थमन्त्रीले स्पष्ट पारेका छन्।
अर्थमन्त्री वाग्लेले २०७२ सालको भूकम्पपछिको सफल पुनर्निर्माणको अनुभवलाई मध्यनजर गर्दै अहिले पनि वैज्ञानिक तथ्य र अध्ययनका आधारमा पुनर्निर्माणको महाअभियान सञ्चालन गर्ने बताए ।
प्रतिक्रिया 4