+
+
Shares

गोरखा कारागारमा फैलियो डेंगु र इन्फ्लुएन्जा ‘ए’ संक्रमण

१२ जना कैदीबन्दीमा डेंगु र ४ जनामा इन्फ्लुएन्जा भाइरस संक्रमण पुष्टि भइसकेको गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

विकास मरहट्टा विकास मरहट्टा
२०८३ भदौ ११ गते १८:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरखा कारागारमा १२ जना कैदीबन्दीमा डेंगु र ४ जनामा इन्फ्लुएन्जा ‘ए’ भाइरसको संक्रमण पुष्टि भएको गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ।
  • प्रदेश जनस्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन नारायण अर्यालले २९ जनाको रगत परीक्षण गर्दा १० जनामा डेंगु देखिएको बताए।
  • प्रदेश जनस्वास्थ्य कार्यालय प्रमुख डा. सिमृन काफ्लेले इन्फ्लुएन्जा ‘ए’ भाइरसको औषधि आज आइपुग्ने बताइन्।

१० भदौ, गोरखा । गोरखा कारागारमा डेंगु र इन्फ्लुएन्जा ‘ए’ भाइरसको संक्रमण फैलिएको छ । १२ जना कैदीबन्दीमा डेंगु र ४ जनामा इन्फ्लुएन्जा भाइरस संक्रमण पुष्टि भइसकेको गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

केही दिनअघि रुघाखोकी र ज्वरो आएर उपचारका लागि अस्पताल लगिएका पाँच जना कैदीबन्दीमध्ये दुई जनामा डेंगु पुष्टि भएपछि अन्यको पनि नमूना परीक्षण गरिएको थियो ।

‘दुई जनामा डेंगु संक्रमण देखिएपछि प्रदेश जनस्वास्थ्य कार्यालय, प्रदेश अस्पताल र गोरखा नगरपालिकाबाट संयुक्त रूपमा कारागार गएर नमुना परीक्षण गर्‍यौं,’ प्रदेश जनस्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन नारायण अर्यालले भने, ‘२९ जनाको रगतको नमुना परीक्षण गर्दा १० जनामा डेंगु देखियो ।’

चार जनामा भने इन्फ्लुएन्जा ‘ए’ भाइरसको संक्रमण देखिएको अर्यालले बताए । उनीहरूको घाँटी र नाकबाट स्वाब निकालेर परीक्षणका लागि प्रादेशिक रोग नियन्त्रण केन्द्र पोखरा पठाइएको थियो । कारागारमा आइसोलेट भएर बस्न सक्ने अवस्था नरहेकाले अन्यमा पनि संक्रमण फैलन सक्ने जोखिम रहेको अर्यालको भनाइ छ ।

इन्फ्लुएन्जा ए भाइरस संक्रमितहरूका लागि आज औषधि आइपुग्ने प्रदेश जनस्वास्थ्य कार्यालय प्रमुख डा. सिमृन काफ्लेले बताइन् ।

‘इन्फ्लुएन्जा ए भाइरसको औषधि यहाँ पाइँदैन, विभागबाटै आउनुपर्छ,’ उनले भनिन्, ‘आज औषधि आइपुग्छ ।’ संक्रमण फैलिएकाले सतर्कता अपनाउन आग्रह गरिएको र स्वास्थ्य सचेतना समेत गराइएको उनले बताइन् ।

कारागार प्रमुख बसन्त खत्रीका अनुसार संक्रमितहरूको उपचार भइरहेको छ । संक्रमित सबैलाई मास्क अनिवार्य गरिएको उनले बताए ।

‘ठाउँ साँघुरो भएकाले संक्रमितहरू आइसोलेट भएर बस्न सक्ने अवस्था छैन तर हामीले सक्दो सतर्कता अपनाएका छौं,’ उनले भने । कैदीबन्दी भेटघाटमा भने रोक नलगाइएको उनले जानकारी दिए । खत्रीका अनुसार हाल गोरखा कारागारमा १०८ जना कैदीबन्दी छन् ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?