+
+
Shares

नेपाल चेम्बरले प्रहरी प्रधान कार्यालयलाई दियो १७ वटा सर्भिलेन्स ड्रोन

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १२ गते १६:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल चेम्बर अफ कमर्सले विपद् प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण गरेको छ ।
  • हस्तान्तरण कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, चेम्बरका वरिष्ठ उपाध्यक्ष दीपक कुमार मल्होत्रा र महानिर्देशक देवेन्द्र लामिछाने उपस्थित थिए ।
  • चेम्बरले यसअघि विदुर नगरपालिकामा ५० केजी पेलोड क्षमताको ड्रोन र एउटा सर्भिलेन्स ड्रोन पठाएको र १२५ वटा पावर बैंक उपलब्ध गराएको छ ।

१२ भदौ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण गरेको छ ।

शुक्रबार प्रहरी प्रधान कार्यालय पुगी नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष एवम विपद् व्यवस्थापन परिषद्का सभापति दीपक कुमार मल्होत्राले नेपाल प्रहरीलाई उक्त ड्रोन हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण गरिएका ड्रोनमध्ये २ वटा म्याभिक फोर प्रो, ५ वटा एयर थ्री एस एफएमसी आरसी टु, २ वटा मिनी फाइभ प्रो प्लस एफएमसी आरसी टु, ६ वटा लिटो वान प्लस एफएमसी आर थ्री तथा २ वटा लिटो एक्स वान एफएमसी आर टु रहेका छन् ।

ड्रोन हस्तान्तरण कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, नेपाल चेम्बर अफ कमर्सका महानिर्देशक देवेन्द्र लामिछाने तथा वरिष्ठ प्रहरी उपरीक्षक दामोदर कँडेलको उपस्थिति रहेको थियो ।

विपद्का कारण प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी, तीव्र र प्रविधिमैत्री बनाउन सर्भिलेन्स ड्रोनले महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको चेम्बरले जनाएको छ । कठिन भौगोलिक अवस्था तथा जोखिमयुक्त क्षेत्रमा मानिसको पहुँच सीमित हुने भएकाले ड्रोनमार्फत प्रभावित क्षेत्रको निगरानी, अवस्थाको पहिचान तथा उद्धार कार्यको समन्वयमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

उद्धार कार्यलाई थप प्रभावकारी बनाउन चेम्बरले यसअघि नै ५० केजी पेलोड क्षमताको एउटा ड्रोन र एउटा सर्भिलेन्स ड्रोन विदुर नगरपालिकामा पठाइसकेको छ । यसैगरी, प्रभावित क्षेत्रमा सञ्चार तथा अत्यावश्यक विद्युतीय उपकरण सञ्चालनमा सहयोग पुग्ने उद्देश्यले चेम्बरले १२५ वटा पावर बैंक समेत उपलब्ध गराइसकेको छ ।

चेम्बरले विपद् प्रभावित नागरिकका लागि राहत संकलन तथा वितरण अभियानसमेत अघि बढाएको छ । चेम्बरले रसुवा, नुवाकोट तथा धादिङलगायत प्रभावित जिल्लामा भाद्र ११ गते तत्कालै नगद तथा जिन्सी सहयोग उपलब्ध गराएको छ भने राहत अभियानलाई अगाडी बढाउदै सहयोग कार्यलाई निरन्तरता दिने चेम्बरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?