१२ भदौ, बेनिघाट(गोरखा) । सवारी चापले व्यस्त रहने पृथ्वी राजमार्ग शुक्रबार सुनसान थियो । बाढीले अवरुद्ध सडकका कारण मुग्लिन–नौबिसे खण्डमा सवारी चलेका थिएनन् ।
सोही खण्डमूनि भएर बग्ने त्रिशूली नदी किनारमा सुरक्षाकर्मीहरू खोजी तथा उद्धार कार्यमा व्यस्त देखिन्थे ।
शव खोजीका लागि गोरखाबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली दुई दिनदेखि यसैगरी त्रिशूली नदी किनारमा व्यस्त छन् ।
त्यही खोजी कार्य अन्तर्गत गोरखाको भूगोलमा हालसम्म ४८ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय(जिप्रका) गोरखाले जनाएको छ ।
‘आज मात्रै चार जनाको शव भेटिए,’ प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार श्रेष्ठले अनलाइनखबरसँग भने, ‘अझै खोजी कार्य जारी छ ।’
भेटिएका शवमध्ये ११ वटा पोखरा पठाइएको र बाँकी गोरखामै राखिएको उनले बताए ।
डीएसपी श्रेष्ठका अनुसार चार शव गोरखा सदरमुकामस्थित एनपीआई गोरखा अस्पताल र बाँकी प्रदेश अस्पताल गोरखामा राखिएका छन् ।
शव थपिँदै गएपनि पहिचान भने खुल्न सकेको छैन । ‘शव थपिँदै छन्, पहिचान नहुँदा समस्या भएको छ,’ प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले भने ।
भेटिएका शव सम्बन्धित जिल्लामै व्यवस्थापन गर्ने भनेर प्रहरीमार्फत परिपत्र आएको प्रजिअ श्रेष्ठले बताए ।

शव पहिचान गर्न हेल्प डेक्स
शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालयले हेल्प डेक्स स्थापना गरेको छ ।
‘मान्छे पहिचान गर्न सहज हुन्छ भनेर भेटिएका शवको फोटो डेक्समा राखिएको डिजिटल बोर्डमार्फत देखाउने गरेका छौं,’ डीएसपी श्रेष्ठले भने, ‘बाढीमा परी हराएका मान्छेको खोजी कार्यका लागि आफन्तहरूले त्यहाँ आएर निवेदन पनि दिन सक्नुहुन्छ ।’
५१ जना सम्पर्कविहीन
जिल्ला प्रशासन कार्यालय गोरखाका अनुसार बाढीमा परी गोरखाका ५१ जना सम्पर्कविहीन रहेको खुलेको छ । स्थानीय तहको समन्वयमा उक्त तथ्याङ्क संकलन गरिएको प्रशासनले जनाएको छ ।
पालुङटारबाट गोसाइँकुण्ड तीर्थयात्रा गएका ३० जनाभन्दा बढी सम्पर्कविहीन छन् । त्यस्तै बारपाक सुलिकोट र शहीद लखन गाउँपालिकाका ६/६ जना सम्पर्कविहीन छन् ।
धार्चे र आरुघाट गाउँपालिकाका ३/३ जना र अजिरकोट गाउँपालिकाका एक जना सम्पर्कविहीन रहेको प्रशासन कार्यालयले जनाएको छ ।
तीन झोलुंगे पुल बगायो, सुपर त्रिशूली हाइड्रोमा क्षति
बाढीले गोरखा जोड्ने तीन वटा झोलुङ्गे पुल बगाएको छ । गोरखाको गण्डकी गाउँपालिका–८ धवादीघाट र धादिङको चरौँदी जोड्ने, गण्डकी गाउँपालिका–७ बुट्टार र धादिङको चौकीटार जोड्ने पुल बगाएको छ ।

यस्तै, गोरखाको शहीद लखन गाउँपालिका– ३ सिलिङटार र चितवनको कुरिनटार जोड्ने झोलुङ्गे पुलमा पनि पूर्ण रूपमा क्षति पुगेको छ ।
यस्तै, बाढीले गण्डकी गाउँपालिका बुट्टारस्थित निर्माणाधीन सुपर त्रिशूली हाइड्रोपावरमा समेत क्षति पुर्याएको छ । हाइड्रोको दुई वटा क्रसर र त्यहाँ रहेका सामाग्री सबै बगाएको हाइड्रोका प्रदीप दुलालले बताए ।
‘एउटा बाँधमा पनि क्षति पुर्याएको छ,’ उनले भने, ‘ढलानका लागि राखेको रडसहितको निर्माण सामाग्री पनि बगायो ।’
२७ हजार लिटर क्षमताको ट्यांकी र एउटा कन्टेनरसमेत बगाएको उनले जानकारी गराए । शुक्रवार प्रजिअ श्रेष्ठसहित सुरक्षा निकायको टोलीले क्षतिग्रस्त हाइड्रोको स्थलगत निरीक्षण गरेको थियो ।
सहयोग जुट्दै
बाढीपीडितका लागि गोरखाबाट पनि आर्थिक सहयोग जुट्न थालेको छ । जिल्लास्थित स्थानीय तहहरूले सहयोगको घोषणा गरेका छन् । संघसंस्था, विद्यालय लगायतले सहयोग संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको बताएका छन् ।
यसपटकको बाढीले रसुवा, नुवाकोट र धादिङसँगै गोरखाले पनि ठूलै क्षति पुर्याएको छ । अहिले त्रिशूलीमा पानीको बहाव घटेपनि स्थानीयमा त्रास भने उस्तै छ ।
प्रतिक्रिया 4