+
+
Shares

गोलबजार नगरपालिकाद्वारा रसुवा बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १३ गते ९:३२

१३ भदौ, सिरहा । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सिरहाको गोलबजार नगरपालिकाले ५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

नगरपालिकाले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको हो।

नगरपालिकाले प्राकृतिक विपद्मा ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ। साथै बाढी, डुबान तथा अन्य विपद्बाट प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ तथा सुरक्षित पुनर्स्थापनाको कामना गरेको छ।

विपद्को कठिन घडीमा प्रभावित नागरिकको जीवनरक्षा, खोज तथा उद्धार, राहत वितरण र पुनर्स्थापनाका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, विभिन्न संघ–संस्था तथा नागरिक समाजबाट भइरहेका प्रयासप्रति नगरपालिकाले एकबद्धता जनाएको छ।

विपद् प्रभावित नागरिकलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउनु राज्य र समाज सबैको साझा दायित्व भएको भन्दै गोलबजार नगरपालिकाले मानवीय सहयोग र सहकार्यका लागि सदैव तत्पर रहेको जनाएको छ।

नगरपालिकाले हाल कायम प्रतिकूल मौसम तथा आगामी दिनमा हुन सक्ने सम्भावित बाढी, डुबान तथा अन्य प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै क्षेत्रभित्रका नदी तथा खोला किनार, होचा तथा डुबानको सम्भावना भएका स्थानमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउनसमेत आग्रह गरेको छ।

नगर प्रमुख श्याम कुमार श्रेष्ठले पाँचदिन भित्र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिने जनाएको छ । नगरपालिकाले हिजो मात्र कार्यपालिका बैठक राखेर बैठकबाट यस्तो निर्णय गरेको नगर प्रमुख श्रेष्ठले जनाएको छ ।

हिजो मात्र लहान नगरपालिकाले कार्यपालिकाबाट ११ लाख सहयोग गर्ने निर्णय गरेको छ । अहिले सम्म सिरहाका दुई स्थानिय तहले रसुवा बाढी पीडितलाई सहयोग गर्ने निर्णय गरेको छ । सिरहामा १७ वटा स्थानिय तह छ्न ।

नगरपालिकाले विपद् कुनै एक व्यक्ति वा समुदायको मात्र समस्या नभई सम्पूर्ण समाजको साझा चुनौती भएकाले कठिन परिस्थितिमा एक-अर्कालाई सहयोग गर्दै मानवीय संवेदना, सहकार्य र एकताको भावना प्रदर्शन गर्न सम्पूर्ण नागरिक तथा सरोकारवालालाई अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?