News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरा विश्वविद्यालयले रसुवा, नुवाकोट, धादिङलगायतमा बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब ७० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
- आज बसेको कार्यकारी परिषद्को बैठकले विश्वविद्यालय र मातहतका निकायका पदाधिकारी, शिक्षक तथा कर्मचारीको भदौ महिनाको पारिश्रमिकबाट कटौती गरी रकम जम्मा गर्ने निर्णय गरेको हो।
- उपकुलपतिले एक महिनाको तलब बराबर, र प्राध्यापकदेखि श्रेणीविहीन कर्मचारीसम्मले सुरु तलब स्केलअनुसार १० देखि २ दिनको रकम सहयोग गर्नेछन्।
१३ भदौ, काठमाडौं । रसुवा बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पोखरा विश्वविद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब ७० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
आज बसेको विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले विपद्बाट प्रभावित परिवार तथा समुदायको राहत, उद्धार र पुनःस्थापनामा सहयोग पुर्याउन उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
विश्वविद्यालयका रजिष्ट्रार प्रा. हरिबहादुर खड्काद्वारा जारी सूचनाअनुसार, विश्वविद्यालय र मातहतका निकायमा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारीहरूको भदौ महिनाको पारिश्रमिकबाट कटौती गरी उक्त रकम जम्मा गरिनेछ।
कसको योगदान कति ?
विश्वविद्यालयको केन्द्रीय लेखाशाखामार्फत कट्टा गरिने सहयोग रकमको विवरण यसप्रकार छ:
उपकुलपति : एक महिनाको तलब बराबरको रकम
प्राध्यापक, प्रशासक, सहप्राध्यापक र सहप्रशासक (वा सोसरह) : मासिक सुरु तलब स्केलको १० दिनको रकम
उपप्राध्यापक, उपप्रशासक, प्रशिक्षक र सहायक प्रशासक (वा सोसरह) : मासिक सुरु तलब स्केलको ७ दिनको रकम
उपप्रशिक्षक, सहायक प्रशिक्षक, मुख्य सहायक र सहायक (वा सोसरह) : मासिक सुरु तलब स्केलको ५ दिनको रकम
श्रेणीविहीन कर्मचारी : मासिक सुरु तलब स्केलको २ दिनको रकम
१० भदौमा रसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीले पुर्याएको विपत्तिमा मलम लगाउन यो संस्थागत सहयोगले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वविद्यालयले विश्वास लिएको छ।
सूचना :

प्रतिक्रिया 4