News Summary
Generated by OK AI. Editorially reviewed.- भोटेकोशी नदीको बाढीपछि रसुवा, नुवाकोट र धादिङका विद्युत् पूर्वाधारको मर्मत तथा विद्युत् सेवा पुनर्स्थापनाको काम तीव्र पारिएको छ ।
- मन्त्रालयका अनुसार नुवाकोटका करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भएको छ र रसुवाको धुन्चेमा लाइन सञ्चालन गर्ने काम भइरहेको छ ।
- बाढीबाट प्रभावित ४३१ मेगावाट क्षमताका १२ वटा सञ्चालनमा रहेका जलविद्युत् आयोजना, सबस्टेसन र प्रसारण संरचनामा क्षति पुगेको मन्त्रालयले जनाएको छ ।
१३ भदौ, काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवा, नुवाकोट र धादिङका विद्युत् पूर्वाधारमा पुगेको क्षति मर्मत तथा प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनर्स्थापनाको काम तीव्र पारिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र विद्युत् आपूर्ति पुनर्स्थापनालाई उच्च प्राथमिकता दिइएको छ । मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणमार्फत प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पुनः सञ्चालन गर्ने काम अघि बढाएको जनाएको छ ।
मन्त्रालयका अनुसार नुवाकोटका करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् आपूर्ति सुचारु गरिएको छ । रसुवाको धुन्चे क्षेत्रमा पनि विद्युत् लाइन यथाशीघ्र सञ्चालन गर्ने गरी काम भइरहेको छ ।
भोटेकोशी नदीमा अझै बाढी आउन सक्ने जोखिम रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई एसएमएस अलर्टमार्फत पूर्वसूचना प्रवाह गरी सुरक्षित स्थानमा सर्न आग्रह गरिएको मन्त्रालयले जनाएको छ ।
हेलिकप्टरबाट उद्धार सामग्री र जनशक्ति परिचालन
बाढीका कारण सडक तथा पैदलमार्ग अवरुद्ध भएपछि प्रभावित जलविद्युत् आयोजनामा आवश्यक सामग्री, उपकरण तथा दक्ष जनशक्तिसहित हेलिकप्टरबाट परिचालन गरिएको छ ।
सुरक्षाकर्मी तथा सम्बन्धित निकायसँग समन्वय गरी प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरिएको छ । नुवाकोट र रसुवाका विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धार र उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कामलाई प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ ।
बाढीबाट प्रभावित आयोजनामा कार्यरत कर्मचारी तथा मजदुरको जीवनरक्षा र सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखी आवश्यकताअनुसार थप उद्धार सामग्री, उपकरण, जनशक्ति तथा हेलिकप्टर परिचालन गरिने मन्त्रालयले जनाएको छ ।
बाढीका कारण रसुवागढी जलविद्युत् केन्द्रमा फसेका चार कर्मचारीको प्रतिकूल मौसमका बीच सकुशल उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।
यसैगरी माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा उद्धारका लागि आवश्यक तयारी तथा समन्वयको काम भइरहेको मन्त्रालयले जनाएको छ ।
भूमिगत पावरहाउसमा फसेकाको उद्धारमा नेपाली सेना परिचालन
बाढीबाट प्रभावित ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रको भूमिगत पावरहाउसमा फसेका कर्मचारीको उद्धारका लागि विशेष अभियान सञ्चालन गरिएको छ । मन्त्रालयका अनुसार उक्त भूमिगत पावरहाउससम्म पुग्ने मुख्य खोलाबाट प्रवेशद्वार पुरिएपछि उद्धारमा कठिनाइ भएको हो । त्यसपछि नेपाली सेना तथा दक्ष प्राविधिक जनशक्तिको समन्वयमा आवश्यक उत्खनन उपकरण प्रयोग गरी तीव्र गतिमा उद्धारको काम भइरहेको छ ।
त्यस्तै, केबल टनेलको अवरुद्ध प्रवेशद्वार खुलाउन आवश्यक उपकरण तथा जनशक्ति परिचालन गरी टनेलभित्र रहेका कर्मचारीसम्म सुरक्षित पहुँच मार्ग तयार गर्ने कामलाई पनि उच्च प्राथमिकता दिइएको छ ।
प्रतिकूल मौसम र भौगोलिक अवस्थाका कारण उद्धार कार्य चुनौतीपूर्ण भए पनि प्रभावित क्षेत्रमा उद्धार अभियानलाई निरन्तरता दिइएको मन्त्रालयले जनाएको छ ।
४३१ मेगावाटका सञ्चालनमा रहेका आयोजना प्रभावित
भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटका सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ । प्रारम्भिक विवरणअनुसार सञ्चालनमा रहेका ४३१ मेगावाट क्षमताका १२ वटा विद्युत् आयोजना प्रभावित भएका छन् भने निर्माणाधीन आयोजनासमेत क्षतिग्रस्त भएका छन् ।
बाढीले जलविद्युत् आयोजनासँगै सबस्टेसन, प्रसारण संरचना र अन्य विद्युत् पूर्वाधारमा समेत क्षति पुर्याएको छ । नुवाकोट र रसुवाका प्रभावित आयोजनाको क्षतिको मूल्यांकन तथा विद्युत् सेवा पुनर्स्थापनाको काम सँगसँगै अघि बढाइएको छ ।
मन्त्रालयले अहिलेको कठिन परिस्थितिमा विद्युत् प्रणालीलाई सुरक्षित, भरपर्दो र मर्यादित रूपमा सञ्चालन गर्दै प्रभावित क्षेत्रमा रहेका कर्मचारी तथा मजदुरको जीवनरक्षालाई सर्वोच्च प्राथमिकता दिएको जनाएको छ ।
प्रतिक्रिया 4