१३ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले विपद्बाट भएको ठूलो क्षतिको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि नेपालले अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था रहेको बताएका छन्। यसका लागि दाता सम्मेलन गर्ने सम्मको उनले संकेत गरेका छन् ।
परराष्ट्र मन्त्रालयको प्रेस ब्रिफिङमा शनिबार मन्त्री खनालले पूर्वाधार, सडक सञ्जाल, पुल तथा जलविद्युत् आयोजनालगायतका क्षेत्रमा व्यापक क्षति पुगेकाले अहिले क्षतिको विस्तृत मूल्याङ्कन भइरहेको जानकारी दिए।
मूल्याङ्कनको काम पूरा भएपछि पुनर्निर्माणका लागि आवश्यक योजना र सहयोगको खाका तयार गरिने उनको भनाइ छ।
उनका अनुसार विपद्पछि उद्धार तथा राहतका लागि छिमेकी मुलुकसहित विभिन्न देशबाट सहयोग प्राप्त भइरहेको छ।
भारतबाट हालसम्म ५७ टनभन्दा बढी राहत सामग्री प्राप्त भइसकेको र चीन, जापान, अष्ट्रेलियालगायतका मुलुकबाट पनि अत्यावश्यक राहत सामग्री प्राप्त भइरहेको मन्त्री खनालले बताए।
विपद् व्यवस्थापन तथा राहत सहयोगका विषयमा आफूले विदेशी समकक्षीहरूसँग प्रत्यक्ष संवाद गरिरहेको पनि उनले जानकारी दिए। भारतीय विदेशमन्त्री एस. जयशंकरसँग कुराकानी भइसकेको र चिनियाँ विदेशमन्त्री वाङ यीसँग पनि कुराकानी गर्ने तयारी भइरहेको उनले बताए।
नेपालले अन्तर्राष्ट्रिय सहयोग अस्वीकार गरेको भन्ने सञ्चारमाध्यममा आएका समाचारप्रति मन्त्री खनालले आपत्ति जनाएका छन्। नेपालले विदेशी सहयोग अस्वीकार गरेको भन्ने समाचारहरू पूर्ण रूपमा निराधार र झुटा भएको उनको दाबी छ।
प्रतिक्रिया 4