+
+
Shares

पोखराका सडकमै भेलबाढी : अहिले आमा–छोरी निल्यो, पहिले धेरैलाई बगायो

पोखरामा जब पानी पर्छ, तब भेलबाढीको रूपमा सडकमै उर्लिन्छ । आरी घोप्याए जस्तो पानी परेका दिन त पोखराको पालिखेचोक, रत्नचोक, लेकसाइड, हर्कचोक, सिर्जनाचोक जस्ता थुप्रै चोकहरूका पार्किङ गरेर राखिएका मोटरसाइकलहरू भेलले ढल्ने गरेका दृश्य सामान्य भइसक्यो ।

अमृत सुवेदी अमृत सुवेदी
२०८३ भदौ १३ गते १७:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरामा सडकको भेलले बगाउँदा २६ वर्षीया सुष्मा कोइराला र उनकी दुई वर्षीया छोरीको मृत्यु भएको छ, उनी ७ महिनाकी गर्भवती थिइन् ।
  • गण्डकी मेडिकल कलेज पुर्‍याइएका आमा–छोरीलाई चिकित्सकले मृत घोषणा गरेका थिए, र पेटभित्रको बच्चा पनि जोगाउन नसकिएको परिवारले जनाएको छ ।
  • इन्जिनियरहरूले पोखराको पुरानो ढल र कमजोर शहरी बाढी व्यवस्थापनले यस्ता दुर्घटना दोहोरिइरहेको भन्दै नयाँ ढल योजना र आकाशे पानी व्यवस्थापन आवश्यक भएको बताएका छन् ।

१३ भदौ, पोखरा । कुनै दृश्य यस्ता हुन्छन्, जुन हेर्नै सकिँदैन । कुनै कुरा यति कारुणिक र दर्दनाक हुन्छन्, भन्नै सकिँदैन । डिल्लीराज कोइरालाको काँपिरहेको ओठले यसै भनिरहेको थियो ।

पोखरास्थित गण्डकी मेडिकल कलेजको भित्रपट्टी मानिसहरूको भिड थियो । तर सन्नाटा छाइरहेको थियो । कसैका आँखा ओभाना थिएनन् । केही महिला छाती पिट्दै रोइरहेका थिए । तर आवाज निस्केको थिएन ।

अलि उतापट्टि पुरुषहरू जम्मा भएर सल्लाह गरिरहेका थिए, ‘अब के गर्ने ?’

उनीहरू २६ वर्षीया सुष्माका आफन्त हुन् । सुष्मा तिनै हुन्, जसले शुक्रबार सडकमा उर्लिएको भेलमा बगेर दुई वर्षीया छोरीसहित ज्यान गुमाइन् ।

रसुवा बाढीले आफन्त गुमाएका, देशले खेपेको क्षतिले पीडावोध गरिरहेका मानिसहरूलाई शुक्रबारको यो घटनाले थप विक्षिप्त बनायो । हुन पनि पोखरामा घटेको यो घटना यस्तो थियो, जो कोहीको आङ सिरिङ्ग हुन्छ ।

सुष्मा आफ्ना श्रीमान् कमल दाहालको स्कुटरमा दुई वर्षीया छोरीसहित माइतबाट घर फर्किरहेकी थिइन् । पानी परिरहेकोले पोखरा–२२ पुम्दीबाट पोखरा–३० ढुंगेपाटन जाँदै गर्दा पुरानो विमानस्थलको अघिल्तिर हर्कचोक पुग्दा सडकमा भेल आएको थियो ।

कमलले अघिल्तिर ठूलै पानीको भूमरी परे जस्तो देखेपछि स्कुटर रोकेर सुष्मालाई माथिबाट हिँडेर आउन भने । स्कुटरबाट झर्ने वित्तिकै भेलले छोरी सारिकालाई तानिहाल्यो । सुष्मा छोरीलाई बचाउन खोज्दै थिइन्, उनी पनि भेलमा परिन् । छोरीलाई भेलबाट बचाउन संघर्ष गर्दागर्दै दुवै जना बगेर नालामा खसे ।

उनका आफन्तहरूका अनुसार श्रीमान् कमल पनि उनीहरू भेलमा परेको देखेपछि बचाउन दौडिँदै थिए । श्रीमती र छोरी नालीमा परिहाले । कमल भेलमा लडेर घाइते भए । कमलले हार–गुहार गरे ।

आमा–छोरी बग्दै नहरमा परे । करिब दुई किलोमिटर बगेपछि बिरौटा नहर कुलोबाट प्रहरी र स्थानीयले उनीहरूलाई उद्धार गरे । पहिले नहरमा बग्दै गरेकी आमालाई निकालियो, उनकै पछिपछि छोरी बगिरहेकी थिइन् । उद्धार गरेर तत्काल उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेज पुर्‍याइयो । तर चिकित्सकले आमा–छोरीको निधन भइसकेको जानकारी दिए ।

सुष्मा ७ महिनाकी गर्भवती थिइन् । भेलमा परेकी छोरीलाई बचाउने संघर्ष गर्दागर्दै उनीहरू दुवै जना बगे र प्राण त्यागे । दुई सन्तान जन्माउने र शिशुवामा व्यवसाय गर्ने कमल र सुष्माले योजना बनाएका थिए ।

शिशुवा चोकमा पसल गर्ने तयारी गरेरै कमल चिप्लेढुंगाको एउटा पसलमा काम सिक्न जाने गरेका थिए । तर कमल आफैं घाइते मात्रै बनेका छैनन्, सहारा नै गुमाएर हल न चल परेका छन् ।

उपचारका लागि अस्पतालमा ल्याएपछि अप्रेसन गरेर पेटभित्रको बच्चालाई बचाउन सकिने आशमा परिवार थिए । तर त्यो पनि सम्भव नभएको सुष्माका ठूलोबुवा केशवराज कोइरालाले बताए ।

‘आमासँगै पेटभित्रको बच्चाको पनि सास जाँदो रहेछ,’ केशवराजले सुस्केरा काडे, ‘सडकमै उर्लेको भेलले पेटभित्रको सहित तीन जनाको ज्यान गयो । खै कसलाई दोष दिनु ?’

सुष्माका परिवार र आफन्त कसैलाई दोष दिने पक्षमा छैनन् । ‘कसलाई दोष दिनु ? घर–माइतीको पनि कुनै दोष छैन । कसलाई के भन्नु ?,’ केशवराजले भने, ‘आफ्नै नियतिलाई दोष दिने त होला ।’

गर्भवती छोरी र नातिनीको मृत्युले सुष्माका बुवा डिल्लीराज कोइराला भने बोल्न सकिरहेका थिएनन् ।

यसअघि पनि पोखरामा यसरी नै धेरै जनाले बगेर ज्यान गुमाएका थिए । उनीहरूका परिवारले पनि यसरी नै आफ्नै नियतिलाई दोष दिएका थिए ।

२०७३ भदौमा पोखरा–६, लेकसाइडका सुरवीर जेसीले मोटरसाइकलमा बाटो कट्ने क्रममा सडकको भेलमा परेर बगेर ज्यान गुमाए ।

२०७३ असोजमा पोखरा–१६, लामाचौरका कृष्णबहादुर थापा वर्षापछि सडकमा आएको भेलमा बगेर घाइते भए र उपचारकै क्रममा मृत्युवरण गरे ।

त्यसको अर्को वर्ष दर खाएर फर्किँदै गरेकी ४१ वर्षीया मीना भण्डारी सिद्धार्थ चोकमा पानीमा भेलमा खसेर बगेकी थिइन् । जलमग्न सडकको भेलमा खसेर नालीमा परेकी मीनाको भोलिपल्ट शव भेटिएको थियो ।

त्यही ताका लामाचौरको जलमग्न सडकमा मोटरसाइकल चलाइरहेका पिजन पुन नालीमा पुगे र बेपत्ता भए ।

पोखरा–१० लामाचौरमा २०७९ भदौमा झरीका बेला सडक र नालीमा बराबर पानी हुँदा नालीमा खसेर ११ वर्षीय रविन तिवारी बगेर सेतीमा पुगे र ज्यान गुमाए ।

यी त केही प्रतिनिधि घटनामात्र हुन् । पोखरामा जब पानी पर्छ, तब भेलबाढीकै रूपमा सडकमै उर्लिन्छ । आरी घोप्याए जस्तो पानी परेका दिन त पोखराको पालिखेचोक, रत्नचोक, लेकसाइड, हर्कचोक, सिर्जनाचोक जस्ता थुप्रै चोकहरूका पार्किङ गरेर राखिएका मोटरसाइकलहरू ढल्ने गरेको दृश्य सामान्य भइसक्यो ।

पछिल्ला वर्षहरूमा जलमग्न सडकमा मोटरसाइकल, स्कुटल चलाउनेहरू ढल्ने, मानिसहरू बग्ने सामान्य हुँदै गइरहेको छ ।

पोखरामा सानै पानीले पनि किन यस्तो अवस्था हुन्छ त ? इन्जिनियर कौशलचन्द्र जीसी भन्छन्, ‘हाम्रो क्षमता र सोच शहरको बर्खे भेल थेग्ने नाला निर्माण र शहरी बाढी  व्यवस्थापनमा पुग्दैन  भने अब  नदीका अकल्पनीय भीषण बाढी कसरी थेग्ने हो ?’

उनको प्रश्न पोखराले ढलसहित शहरी प्लान निर्माण गरेर काम गर्न ढिला गरिसकेकोतर्फ थियो । ‘पोखरामा वर्षेनी सडकमा बगेको पानीले मान्छे बगाएर मृत्यु हुनु नदिन शहरी बाढी  व्यवस्थापन प्लानसहितको नयाँ ढल/नाला आवश्यक छ । ३०/४० वर्ष पुराना ढल/नालाले अहिलेका बर्खे भेल थेग्दैनन्,’ जीसी भन्छन् ।

पोखरामा २०५५ सालमा ढल निर्माण भएको हो । त्यसपछि पनि महानगरले बनाएका ढल वैज्ञानिक नभएको विज्ञहरूको भनाइ छ । पोखराको एउटा विशेषता नै सामान्य पानी पर्दा पनि सडकमै भेल बग्छ तर जम्दैन । पानी रोकिनेबित्तिकै बगेर गइहाल्छ, सफा भइहाल्छ । तर त्यो बेलाको शहरलाई हेरेर, त्यसमा पनि कम वैज्ञानिक हिसाबले बनाइएका ढल अहिले काम नलाग्ने भइसकेको सरोकारवालाहरू बताउँछन् ।

‘२०५५ सालमा बनाइएको ढल त्यो बेलाको शहर, त्यहाँका संरचना, सडकमा आउन सक्ने आकाशे पानीलाई हेरेर बनाइएको हो, जुन अहिले काम लाग्दैन,’ पोखराको अर्बान प्लानिङमा अनुसन्धान गरिरहेका किशोर श्रेष्ठले भने, ‘त्यो बेलाको पोखरा र अहिले धेरै परिवर्तन भइसकेको छ । शहरी चाप बढ्दो छ । कंक्रिडका संरचना बढिरहेका छन् ।’

सामान्य पानी पर्दा पनि पोखराका सडकमा भेल बग्न सुरु भइहाल्छ । यसो हुनुको कारण चाहिँ यहाँको ढलले थेग्न सकेन । एकातिर पानी सोस्ने प्रणालीको निर्माण गरिएन भने अर्कोतिर आकाशे पानीको व्यवस्थापन गर्न पनि पोखरा चुकिरहेको श्रेष्ठको अनुसन्धानले बताउँछ ।

पछिल्लो ३० वर्षमा पोखराको शहरीकरण धेरै गुणाले वृद्धि भएको तर ढल व्यवस्थापन उही हुँदा अहिले सडकको भेल नै ज्यानमारा बनिरहेको श्रेष्ठले बताए ।

‘सबै पानीमा ढलमा फाल्नेमात्रै नभएर अरू विकल्पहरू पनि हुन्छन्, जुन नीति निर्माणको तहमा बस्नेले सोच्नुपर्ने हो,’ उनले भने, ‘सामान्य एउटा कुरामात्रै हेरे पनि हामी कहाँ छौं भन्ने चित्र देखिन्छ । एकातिर आकाशबाट पानी परेर सडकमा उर्लिंदा मान्छेको ज्यान गइरहेको छ, अर्कोतिर यतिबेला ट्यांकरबाट घरमा पानी पनि आइरहेको छ ।’

श्रेष्ठले जमिनमुनिबाट ४०–५० खनेर बोरिङबाट पानी निकाल्ने काम पनि भइरहेको तर आकाशको पानी खेर गइरहेको अर्को उदाहरण पनि पेस गरे । यी कुरालाई प्रत्येक घरबाट व्यवस्थापन गर्न सक्ने हो भने धेरै हदसम्म यो परिस्थिति कम हुने उनको अनुभव छ ।

‘जनसंख्या र संरचना बढेको बढ्यै छ । खालीजग्गा सकिँदै गइरहेका छन् । ढलको क्षमता र व्यवस्थापन कमजोर छ,’ श्रेष्ठले भने, ‘यी कुरालाई मिलाउन खास ठूलो समस्या पनि छैन ।’

नयाँ ढल व्यवस्थापन प्लान नगरपालिकाले बनाउनैपर्ने र आकाशे पानीको सदुपयोगको तारतम्य मिलाउन सक्ने हो भने धेरै समस्या हल हुने उनको बुझाइ छ ।

इन्जिनियर कौशलचन्द्र र उनका विद्यार्थीसहित साथीहरू मिलेर जलवायु परिवर्तनको परिदृश्यमा ‘लो इम्प्याक्ट डेभलपमेन्ट’ युक्त शहरी बाढी व्यवस्थापन नाम दिएर पोखरालाई केन्द्रमा राखेर अध्ययन गरेका थिए । पोखराको २९७ हेक्टर क्याचमेन्ट क्षेत्रमा बाढी व्यवस्थापन रणनीतिको मूल्यांकन उनीहरूले गरेका थिए ।

अध्ययनअनुसार पोखरामा भइरहेको तीव्र शहरीकरण र अव्यवस्थित संरचनाका कारण खुला जमिन घट्दै गएको र पक्की क्षेत्र बढेको छ । सन् १९९० मा उक्त क्षेत्रमा पक्की संरचना ( ७.३ प्रतिशत मात्र रहेकोमा सन् २०२३ सम्म आइपुग्दा बढेर ६२.१ प्रतिशत पुगेको छ ।

शहरीकरण तीव्र भए पनि यहाँका ढल तथा निकास प्रणालीको क्षमता भने ज्यादै अपर्याप्त छ । जसले गर्दा वर्षाको पानी ढलबाट सजिलै बगेर जान सक्दैन र ढलका जंक्सनहरूबाट पानी सडकमा पोखिएर गम्भीर डुबान हुने गरेको अध्ययन प्रतिवेदनमा छ ।

प्रकृतिमा आधारित विकेन्द्रीकृत उपायहरू पानी सोस्ने खालका सडक, पैदल मार्ग तथा पार्किङ निर्माण गर्न उनीहरूले सुझाएका छन् । वर्षाको पानीलाई सोसेर राख्ने साना खाडल वा बगैँचाहरू चाहिन्छ । केवल परम्परागत रूपमा ढलको पाइप ठूलो बनाउने उपाय अपनाउनुको साटो लो इम्प्याक्ट डेभलपमेन्ट र ढलको स्तरोन्नति दुवैलाई मिलाएर प्रयोग गर्ने गरी प्लान बनाउन उनीहरूले सुझाव दिएका छन् ।

पोखरा जस्तो तीव्र गतिमा बढेको शहर र भविष्यमा जलवायु परिवर्तनका कारण अझ धेरै तीव्र वर्षा हुने सम्भावना भएको शहरमा ढलको पाइप मात्र ठूलो बनाएर नपुग्ने उनीहरूको निष्कर्ष थियो ।

यस अध्ययनले आकाशे पानीलाई बगेर जान नदिई उत्पत्तिकै स्थानमा सोस्ने, अड्याउने र विस्तारै निकास गराउने सिद्धान्तमा जोड दिएको छ । घरका छत, सडक र खुला ठाउँहरूबाट बग्ने आकाशे पानीलाई जमिनमुनि पुन:भरण गराउन र भेलको मात्रा घटाउने प्रविधि नै सबैभन्दा दिगो र व्यावहारिक समाधान भएको निष्कर्ष निकालिएको छ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले एसियाली विकास बैंकको सहयोगमा अर्बान प्लानमा काम भइरहेको बताउँदै आएका छन् ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?