१३ भदौ, काठमाडौं । भोटेकोशीको विनाशकारी बाढीमा परी बगेर चितवन पुर्याएका तर पहिचान हुन नसकेका शवहरूको जमिनमुनि व्यवस्थापन शुरु भएको छ।
शनिबार बिहान जिल्ला प्रशासन कार्यालय चितवनले शवहरू सडेगलेर महामारी फैलन सक्ने जोखिम बढेको भन्दै ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम शवहरूलाई जमिनमुनि व्यवस्थापन गर्ने सूचना जारी गरेको थियो।
सोही निर्णय कार्यान्वयन गर्दै शनिबार दिउँसोदेखि भरतपुर महानगरपालिका वडा नं. १ स्थित रामनगर र देवघाटको बीचमा पर्ने जङ्गल क्षेत्रमा शवहरू गाड्न थालिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म चितवनमा २३३ वटा शव सङ्कलन भएका छन्। तीमध्ये ६ वटा शव पहिचान भई आफन्तलाई हस्तान्तरण गरिसकिएको छ भने बाँकी शवहरू अत्यधिक सडेगलेको र दुर्गन्धित भई चिन्न नसकिने अवस्थामा पुगेपछि सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गर्न लागिएको हो।
कसरी गरिन्छ जमिनमुनि शव व्यवस्थापन ?
एसपी पौडेलले घटनास्थलबाट दिएको जानकारीअनुसार भविष्यमा आफन्तले दाबी गर्न आएमा सहजै शव निकालेर दिन सक्ने गरी अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) को मापदण्ड अपनाएर अत्यन्तै व्यवस्थित र वैज्ञानिक तरिकाले शवहरू गाडिएको छ।
पौडेलका अनुसार, यसरी शव व्यवस्थापनका निश्चित प्रक्रियाहरू हुन्छन् ।
क. डीएनए सङ्कलन र प्रोफाइलिङ: खाडलमा राख्नुअघि प्रत्येक शवको अनिवार्य रूपमा डीएनए नमुना सङ्कलन गरिएको छ। शनिबार दिउँसोसम्म १०० भन्दा बढी शवको डीएनए प्रोफाइलिङ सकिएर गाड्न तयार पारिएको थियो।
ख. १.५ मिटर गहिरो खाडल र ४० सेमि. को दूरी: जङ्गलका सालका रूखहरूलाई असर नपर्ने गरी डेढ मिटर गहिरो खाडल खनिएको छ। एउटा शव र अर्को शवबीच ४० सेन्टिमिटरको दूरी राखेर शवहरूलाई लहरै गाडिनेछ।
ग. प्लास्टिक ब्याग र माटोको प्रयोग: शव वा शवका टुक्राहरूलाई विशेष प्रकारको ब्यागमा प्याक गरिन्छ। ब्यागभित्रै शवको पहिचान खुल्ने सङ्केत नम्बर राखिन्छ। त्यसपछि ब्यागलाई सिधै माटोमाथि राखेर माटोले नै पुरिन्छ।
घ. कंक्रिटको स्ट्यान्ड र सङ्केत नम्बर: शव पुरिसकेपछि भविष्यमा खन्न सजिलो होस् भनेर शवको ठीक माथि नभई अलिकति छेउ मा सानो कंक्रिटको ढलान गरी एउटा स्ट्यान्ड बनाइन्छ। उक्त स्ट्यान्डमा जमिनमुनि शवसँगै राखिएको सङ्केत नम्बर लेखिन्छ। यसले गर्दा कुन नम्बरको शव कुन ठाउँमा छ भनेर बाहिरैबाट प्रस्ट थाहा हुन्छ।
ङ. जीपीएस म्यापिङ र मुचुल्का: सम्पूर्ण काम सकिएपछि संयुक्त मुचुल्का तयार पारिन्छ। व्यवस्थापन गरिएको ठाउँको भिडियो तथा फोटो खिचिनुका साथै प्रत्येक शव गाडिएको स्थानको ठ्याक्कै लोकेसन थाहा पाउन जीपीएस कोअर्डिनेट वा नक्सांकन तयार गरी रेकर्ड सुरक्षित राखिन्छ।
च. सुरक्षित घेराबन्दी: शव गाडिएको सम्पूर्ण क्षेत्रलाई सुरक्षित राख्न तारबार वा घेराबन्दी गरिनेछ। शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरूले पीपीई, मास्क र पन्जाको प्रयोग गरी उच्च स्वास्थ्य सतर्कता अपनाएका छन्।
आफन्तले कसरी पाउनेछन् शव ?
बेपत्ता भएका व्यक्तिका आफन्तले आफ्नो सम्बन्धित जिल्लाको जिल्ला अस्पतालमा गएर आफ्नो डीएनए नमुना दिनुपर्नेछ। उक्त नमुना चितवनमा सङ्कलन गरेर राखिएको बेवारिसे शवको डीएनएसँग म्याच खाएमा प्रहरीले आफन्तलाई खबर गर्नेछ।
डीएनए मिलेपछि आफन्तहरू चितवन आएर सङ्केत नम्बरका आधारमा आफ्नो मान्छेको शव गाडिएको स्थान सजिलै पहिचान गर्न सक्नेछन्। त्यसपछि प्रहरीकै रोहवरमा उक्त शव खनेर निकालेर स-सम्मान अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाइने एसपी पौडेलले प्रस्ट पारेका छन्।
प्रशासनले बाध्यात्मक परिस्थितिका कारण शवहरू गाड्नुपरेको स्पष्ट पार्दै यस विषम परिस्थितिमा सहयोग र समन्वय गर्न सबैमा अनुरोध गरेको छ।
प्रतिक्रिया 4