+
+
Shares

केरुङ विपत्तिमा चीनको युद्धस्तरको उद्धार अभियान

उद्धार टोलीले जल, स्थल र हवाई तीनै माध्यमबाट खोज तथा उद्धार गरिरहेको छ। प्रभावित क्षेत्रको जोखिम अनुगमनका लागि ड्रोन, जीवन पत्ता लगाउने उपकरण, उद्धारकुकुर तथा लेजर–एआई निगरानी उपकरणसमेत प्रयोग भइरहेको छ।

कञ्चन कञ्चन
२०८३ भदौ १५ गते १३:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालतर्फको उच्च हिमाली क्षेत्रमा गएको बुधबार खसेको हिमपहिरोले शृङ्खलाबद्ध विपत्ति निम्त्याउँदा चीनले केरुङ काउन्टीमा व्यापक उद्धार कार्य अघि बढाएको छ।
  • चिनियाँ प्रधानमन्त्री ली छ्याङले विपद्ग्रस्त क्षेत्रको निरीक्षण गरी बेपत्ता चिनियाँ र विदेशी नागरिकको खोजी तथा सडक, सञ्चार र विद्युत् पूर्वाधार मर्मत तीव्र पार्न निर्देशन दिए।
  • नेपाल सरकारले विदेशी प्राविधिक सहायता स्वीकार गर्दै चीनका ९ जना सुरुङ उद्धार विज्ञलाई नेपाली जलविद्युत् आयोजनाका जलमग्न सुरुङमा खटाएको छ।

गएको बुधबार नेपालतर्फको उच्च हिमाली क्षेत्रमा अचानक हिमपहिरो (हाई–अल्टिच्युड आइस एभलान्च) खसेपछि त्यसले शृङ्खलाबद्ध विपत्तिको रूप लिएको थियो।

चिनियाँ प्राकृतिक स्रोत मन्त्रालय मातहतको जिओलोजिकल डिजास्टर इन्भेस्टिगेसन एन्ड मोनिटरिङ सेन्टरका निर्देशक गुओ झाओचेङका अनुसार यो घटना सामान्य हिमताल विस्फोट नभएर उच्च हिमाली क्षेत्रमा अवस्थित हिउँको विशाल चट्टान खसेर उत्पन्न भएको विपत्ति हो।

नेपालतर्फ लेन्दे खोलाको माथिल्लो सहायक नदी छोछेन खोलाको जलाधार क्षेत्रमा खसेको सो हिमपहिरोले तीव्र गतिमा ओरालो झर्दै ढुङ्गा, माटो र हिमनदीका अवशेषहरू सोहोरेर ल्याएको थियो।

विपत्ति लगत्तै चिनियाँ सर्वोच्च नेतृत्वले देखाएको तदारुकता उदाहरणीय देखिएको छ। चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी जिनपिङको प्रत्यक्ष निर्देशनमा शुक्रबार बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो (पोलिटब्युरो) को विशेष बैठक बस्यो।

राष्ट्रपति सीको अध्यक्षतामा बसेको उक्त बैठकको सुरुमा राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छ्याङ, चाओ लेची, वाङ ह्युनिङ, काई छी, डिङ सुएछ्याङ र ली सीसहितका सम्पूर्ण शीर्ष नेताहरूले मौनधारण गरी विपत्तिमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरे।

चीनको शीर्ष राजनीतिक नेतृत्वले राष्ट्रिय विपत्ति वा विशेष ऐतिहासिक शोकका अवसरमा बाहेक यसरी राजनीतिक ब्युरोको बैठकको सुरुमा सार्वजनिक रूपमा मौनधारण गर्ने अभ्यास अत्यन्तै दुर्लभ मानिन्छ।

यसअघि अप्रिल २०२० मा कोभिड–१९ महामारीका पीडित र अग्रपङ्क्तिका कार्यकर्ताहरूको सम्मानमा जोङनानहाइमा यसरी मौनधारण गरिएको थियो।

राष्ट्रपति सीको तर्फबाट विशेष जिम्मेवारी पाएर चिनियाँ प्रधानमन्त्री ली छ्याङ बिहीबार नै सिगात्से विमानस्थल हुँदै सोझै विपद्ग्रस्त क्षेत्र केरुङ काउन्टी पुगेका थिए। उनले त्यहाँ पुगेर क्षतिग्रस्त क्षेत्रको निरीक्षण गरे, उद्धारकर्ताहरूसँग भेटघाट गरे र प्रभावितहरूका लागि बनाइएका अस्थायी आश्रयस्थलहरूको अवलोकन गरे।

 

स्थलगत रूपमा उद्धार कार्यलाई अघि बढाउन चीनले अत्याधुनिक प्रविधि, जनशक्ति र उपकरणहरूको व्यापक परिचालन गरेको छ। चीनको राष्ट्रिय अग्नि निवारण तथा उद्धार प्रशासनका अनुसार, शनिबार साँझसम्म राष्ट्रियस्तरको अग्नि तथा उद्धार टोलीका ६ सय ८१ जना उद्धारकर्मी, १३ वटा उद्धारकुकुर, १ सय १३ वटा सवारीसाधन र ४७ वटा ड्रोन परिचालन गरिएको छ।

यससँगै चिनियाँ सेना, सशस्त्र प्रहरी, अग्नि तथा उद्धार टोली, सीमा सुरक्षा, प्रहरी र चाइना एनर्जी इन्जिनियरिङअन्तर्गतका उद्धार टोलीसहित कुल २ हजार १ सय ४१ जना उद्धारकर्मी परिचालन गरिएको चिनियाँ अधिकारीहरूले बताएका छन्। उनीहरूसँग २ सय ६९ वटा उद्धार सवारीसाधन र ३ हजार ९ सय २२ सेट उद्धार उपकरण छन्।

उद्धार टोलीले जल, स्थल र हवाई तीनै माध्यमबाट खोज तथा उद्धार गरिरहेको छ। प्रभावित क्षेत्रको जोखिम अनुगमनका लागि ड्रोन, जीवन पत्ता लगाउने उपकरण, उद्धारकुकुर तथा लेजर–एआई निगरानी उपकरणसमेत प्रयोग भइरहेको छ। साथै, बाढीले क्षतिग्रस्त केरुङतर्फको जी२१६ सडक खुलाउने काम पनि तीव्र पारिएको छ।

भौगोलिक कठिनाइ, भत्किएका सडक र गेग्रानका कारण उद्धार कार्य जटिल बनेपछि चिनियाँ उद्धारकर्ताहरूले ‘जल, स्थल र आकाश’ (वाटर, ल्यान्ड एन्ड एयर) को एकीकृत रणनीति अपनाए। सडक सञ्जाल पूरै विच्छेद भएको अवस्थामा शुक्रबार तिब्बत अग्नि नियन्त्रण टोलीका ६ जना र सिचुआन टोलीका १५ जना गरी २१ जना विशेष तालिमप्राप्त उद्धारकर्मीहरू र ‘सर्च डग’ केरुङ नाकाको कोर डिजास्टर क्षेत्रमा पुग्न सफल भए। ध्वस्त भौतिक संरचना, हिलो र विशाल चट्टानहरूले घेरिएको क्षेत्रमा पुग्ने यी पहिलो उद्धारकर्ता हुन्।

प्रधानमन्त्री ली छ्याङले उद्धार कार्यलाई वैज्ञानिक र व्यवस्थित ढङ्गले अघि बढाउन, बेपत्ता भएका सबै चिनियाँ र विदेशी नागरिकको खोजीमा कुनै कसर बाँकी नराख्न र सडक, सञ्चार तथा विद्युत्जस्ता पूर्वाधारहरू शीघ्र मर्मत गरी उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिए।

प्रधानमन्त्री ली छ्याङका साथै चिनियाँ उपप्रधानमन्त्री चाङ कुओछिङ पनि उद्धार कार्यको प्रत्यक्ष मार्गदर्शनका लागि विपद्स्थलमा खटिएका छन्।

उद्धारका लागि जनमुक्ति सेना (पीएलए) को वेस्टर्न थिएटर कमान्डको टोली भारी वाई–२० ट्रान्सपोर्ट विमानमार्फत तिब्बतको उच्च उचाइमा रहेको विमानस्थलमा ओर्लिएको थियो। उक्त टोलीमा ५०० भन्दा बढी जनशक्ति, ४ वटा हेलिकोप्टर र बहुउपयोगी ड्रोनहरू संलग्न छन्।

चीनको राज्यसञ्चालित इन्जिनियरिङ संस्था ‘चीन आनेङ कन्स्ट्रक्सन ग्रुप’ ले बेइजिङ, छेङ्दु, चोङछिङ र ल्हासाबाट ३१० जना भौगर्भिक तथा इन्जिनियरिङ विशेषज्ञहरू परिचालन गरेको छ।

चीनको शीर्ष राजनीतिक नेतृत्वले राष्ट्रिय विपत्ति वा विशेष ऐतिहासिक शोकका अवसरमा बाहेक यसरी राजनीतिक ब्युरोको बैठकको सुरुमा सार्वजनिक रूपमा मौनधारण गर्ने अभ्यास अत्यन्तै दुर्लभ मानिन्छ।

उनीहरूले थ्रीडी लेजर स्क्यानर, लाइफ डिटेक्टर, बहुउपयोगी सर्भे ड्रोन, ठूला एक्साभेटर र लोडर गरी १ हजार २२० थान उन्नत प्रविधि प्रयोग गरेर बन्द भएका सडक खुलाउने र पूर्वाधार पुनः निर्माण गर्ने काम गरिरहेका छन्।

यद्यपि, उद्धार कार्य निरन्तर चुनौतीहरूले घेरिएको छ। सालेग गाउँको लाबी भन्ने स्थानमा अग्रिम टोली परिचालन भइरहेका बेला शुक्रबार बिहानै नदीको दोभाननजिकै थुनिएको बाँध (ब्यारियर लेक) फुट्ने खतरा बढेपछि कामदारहरूलाई पछि हटाइएको थियो।

जलस्रोत मन्त्रालयका अनुसार पहिरोका कारण बनेको उक्त भू–कृत्रिम तालमा करिब २० देखि २५ लाख घनमिटर पानी जम्मा भइसकेको छ र त्यो भरिएर पोखिन थालेको छ। आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी थपिने अनुमान गरिएकाले बाँध फुटेर आउने दोस्रो चरणको बाढीको ठूलो जोखिम छ। यस जोखिमलाई मध्यनजर गर्दै प्राकृतिक स्रोत मन्त्रालयले भूउपग्रहमार्फत तालको आकार र जोखिमको निरन्तर निगरानी गरिरहेको छ।

चीनले आफ्नै देशभित्र ठूलो क्षति र चुनौती भोगिरहेको भए तापनि छिमेकी नेपालप्रति देखाएको कूटनीतिक सद्भाव र मानवीय सहायता अन्तर्राष्ट्रिय समुदायमा प्रशंसित भएको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालका राष्ट्रपति रामचन्द्र पौडेललाई शोक सन्देश पठाउँदै सहानुभूति प्रकट गरेका छन्।

त्यस्तै, चिनियाँ विदेशमन्त्री वाङ यीले आफ्ना नेपाली समकक्षी शिशिर खनालसँग टेलिफोन वार्ता गर्दै चीनले नेपालका लागि आपत्कालीन नगद सहायता र मानवीय राहत सामग्रीको पोका कार्यान्वयनमा ल्याइसकेको जानकारी दिए।

विदेशमन्त्री वाङ यीले भने, ‘यस विपत्तिको घडीमा दुवै देश दृढताका साथसाथै उभिनुपर्छ, हातमा हात मिलाएर कठिनाइहरूलाई पार गर्नुपर्छ र हिमालपारिको परम्परागत मित्रतालाई वास्तविक कामबाट प्रमाणित गर्नुपर्छ। चिनियाँ क्षेत्रमा अड्किएका नेपाली नागरिकहरूका लागि चीनले उचित प्रबन्ध मिलाएको छ र उनीहरूलाई छिटोभन्दा छिटो नेपाल फर्काउन सहयोग गर्नेछ।’

जवाफमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले चीन सरकार र पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै भने, ‘नेपाल र चीन दुवै विपद्बाट प्रभावित देश हुन्। यस्तो अवस्थामा पनि चीनले आफ्ना कठिनाइहरूलाई पन्छाएर नेपाललाई तत्काल समवेदना र सहायता उपलब्ध गराएको छ; जसले नेपाल–चीन सम्बन्धको उच्च स्तरलाई पूर्ण रूपमा प्रदर्शन गर्दछ।’

नेपाल सरकारले विपत्तिको भीषणतालाई ध्यानमा राख्दै केवल आन्तरिक सुरक्षा निकायमा मात्र निर्भर रहने पूर्व–निर्णयलाई परिवर्तन गरी विदेशी प्राविधिक सहायता स्वीकार गर्ने नीति लिएको छ।

नेपाल सरकारको विशेष अनुरोधमा चीनको आपत्कालीन व्यवस्थापन मन्त्रालयले सुरुमा ५ जना ‘टनेल एक्स्पर्ट’ लाई केरुङबाट हेलिकोप्टरमार्फत परिचालन गरी शनिबार नेपालको जलविद्युत् आयोजनाको जलमग्न सुरुङमा पठाएको छ।

त्यसलगत्तै थप ४ जना विशेषज्ञहरूसहित कुल ९ जना चिनियाँ सुरुङ उद्धार विज्ञहरू नेपालका सुरुङहरूमा अड्किएका श्रमिकहरूको उद्धारमा खटिएका छन्।

काठमाडौंस्थित चिनियाँ राजदूत झाङ माओमिङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चीनतर्फ ठूलो क्षति भए पनि चीनले नेपालका लागि आपत्कालीन राहत र आर्थिक सहायता तुरुन्तै समन्वय गरेको छ। हामी मिलेर कठिनाइहरू जित्नेछौं र हाम्रा सुन्दर घरहरू पुनः निर्माण गर्नेछौं।’

बेइजिङमा बसेको पोलिटब्युरो बैठकले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढेको जोखिमलाई ध्यानमा राख्दै भविष्यका लागि कठोर नीतिगत निर्णयहरू समेत गरेको छ।

चीनले सम्पूर्ण तिब्बत–किङ्घाई पठार क्षेत्रमा रहेका हिमनदी र हिमतालहरूको ‘अर्जेन्ट इन्भेन्टरी’ तयार पार्न र पूर्वसूचना प्रणालीलाई माथिल्लो र तल्लो तटीय क्षेत्रमा एकीकृत रूपमा लागू गर्न आदेश दिएको छ। सीमा क्षेत्रमा प्राकृतिक विपद् व्यवस्थापन र आपत्कालीन उद्धारका लागि अन्तर्राष्ट्रिय सहकार्यलाई थप सुदृढ बनाउने रणनीति चीनले अघि सारेको छ।

तस्वीरहरू : चाइना डेली

 

लेखक
कञ्चन

कञ्चन अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?