News Summary
Generated by OK AI. Editorially reviewed.- भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर नेपालमा भदौ १० गते आएको बाढीको जनधन क्षतिप्रति गहिरो दुःख व्यक्त गरे।
- उनले शोक पुस्तिकामा हस्ताक्षर गर्दै नेपाल सरकार र नेपाली जनताप्रति भारतीय सरकार र जनताको तर्फबाट हार्दिक समवेदना प्रकट गरे।
- सिंहले विपत्तिमा ज्यान गुमाउनेका परिवारप्रति प्रार्थना र समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै खोज, उद्धार र पुनर्स्थापनामा सहयोग गर्न भारत प्रतिबद्ध रहेको बताए।
१५ भदौ, काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै रक्षामन्त्री सिंहले भारतीय सरकार र जनताको तर्फबाट नेपाल सरकार तथा सम्पूर्ण नेपाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेका हुन्।
गत भदौ १० गते आएको बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले यस अकल्पनीय प्राकृतिक विपत्तिले नेपाली नागरिकका साथै भारतीयलगायत अन्य विदेशी नागरिकलाई समेत प्रभावित बनाएको उल्लेख गरेका छन्।
आफ्नो आधिकारिक सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिँदै उनले लेखेका छन्, ‘यस विपत्तिमा ज्यान गुमाउनेहरूको परिवारप्रति हाम्रो प्रार्थना र समवेदना छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।’
नेपाल र भारतबीचको गहिरो सम्बन्धलाई स्मरण गर्दै रक्षामन्त्री सिंहले भारत सधैं नेपालको ‘सुख दुःखको साथी’ रहेको बताएका छन्।
‘एक निकट मित्र र साझेदारका रूपमा भारत सधैं नेपालको साथमा उभिएको छ,’ उनले भनेका छन्, ‘यस कठिन घडीमा पनि हामी हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग काँधमा काँध मिलाएर उभिएका छौं र नेपालको खोज, उद्धार तथा पुनर्स्थापनाका प्रयासहरूमा सहयोग गर्न पूर्ण रूपले प्रतिबद्ध छौं।’
प्रतिक्रिया 4