News Summary
Generated by OK AI. Editorially reviewed.- साताको पहिलो कारोबार दिन सोमबार नेप्से ४३.८९ अंक घटेर २५१३ अंकमा कायम भएको छ ।
- आज ३ अर्ब ६४ करोडको कारोबार हुँदा २५३ कम्पनीको मूल्य घट्यो, निर्जीवन बीमा, अन्य र जलविद्युत् समूहमा उच्च दबाब रह्यो ।
- उपकार लघुवित्त १३.१६ प्रतिशत बढ्दा मैलुङखोला जलविद्युत् १४.९८ प्रतिशत घटेको छ ।
१५ भदौ, काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३.८९ अंक घटेको छ । यो कमीपछि नेप्से परिसूचक २५१३ अंकमा कायम भएको छ ।
कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ३ अर्ब ७८ करोडको कारोबार भएकोमा आज ३ अर्ब ६४ करोडको भयो । बजार खुलेपछि दिनभर रातो रह्यो । जम्मा २१ कम्पनीको मूल्य बढ्दा २५३ को घट्यो भने ४ को स्थिर रह्यो ।
गत बुधबार गएको भीषण बाढीपछि बजारमा लगातारजसो तीन समूहमा उच्च दबाब परिरहेको छ । यस्तो दबाब पर्ने क्रम आज पनि जारी रह्यो । निर्जीवन बीमा सबैभन्दा धेरै ५.०३ प्रतिशत घट्यो । त्यस्तै अन्य समूह ३.३० र जलविद्युत् समूह २.९४ प्रतिशत घटे । बाढीपछि यी तीन समूह नै बजारमा अत्याधिक दबाबमा परिरहेका छन् ।
बाढीका कारण एक दर्जन बढी जलविद्युत् आयोजना अत्याधिक प्रभावित भएका छन् । त्यस्तै सवारीसाधन, घर, जलविद्युत् आयोजनाको बीमा रकम भुक्तानी गर्नुपर्ने भएपछि निर्जीवन बीमा र अन्य समूह बढी प्रभावित भएका हुन् । अन्य समूहमा नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्स कम्पनी पनि पर्दछन् ।
यी तीन समूहका अलवा आज बैंकिङ १.००, विकास बैंक ०.९६, फाइनान्स १.४१, होटल तथा पर्यटन २.४४, लगानी १.१९, जीवन बीमा १.९७, माइक्रोफाइनान्स १.१४ र व्यापार १.११ प्रतिशत घटे ।
उत्पादन तथा प्रशोधन समूह भने ०.७० प्रतिशत बढ्यो । बाढीपछिको पुनर्निर्माणका लागि सिमेन्टको खपत बढ्ने अनुमानका बीच सिमेन्ट कम्पनीहरुमा आज सकारात्मक प्रभाव देखियो ।
उपकार लघुवित्तको मूल्य सबैभन्दा धेरै १३.१६ प्रतिशत बढ्यो । त्यस्तै घोराही सिमेन्टको ७.५७, पाल्पा सिमेन्टको ४.०३, एसवाई प्यानलको ३.९१ प्रतिशत मूल्य बढ्यो ।
त्यस्तै मैलुङखोला जलविद्युतको मूल्य १४.९८, रसुवागढी हाइड्रोपावरको ११.७६, चिलिमे हाइड्रोपावरको १०.४९, माण्डु हाइड्रोपावरको ९.३० प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा शिवम् सिमेन्ट, सर्वोत्तम पेन्ट, रिलायन्स स्पिनिङ मिल्स, चिलिमे हाइड्रोपावर तथा एसवाई प्यानल क्रमशः अगाडि रहे ।
प्रतिक्रिया 4