+
+
Shares

डीएनए परीक्षण के हो ? किन र कसरी गरिन्छ ? 

प्रत्येक व्यक्तिको डिएनएमा रहेका आनुवंशिक संयोजन फरक हुने भएकाले यसले व्यक्तिको पहिचानका लागि महत्त्वपूर्ण आधार प्रदान गर्छ। 

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०८३ भदौ १८ गते १५:३१

१८ भदौ, काठमाडौं। रसुवा बाढीमा परेर जीवन गुमाएका मध्ये १ हजार २०४ जनाको शव प्राप्त हुँदा ९५ जनाको मात्र सनाखत भएर आफन्तले बुझेर लगेका छन्।

यो आंकडाले देखाउँछ, प्राकृतिक विपद्पछि भेटिएका शव पहिचान सहज छैन। विज्ञहरूका अनुसार बाढी, पहिरो वा दुर्घटनामा शरीर छिन्नभिन्न, लामो समय पानी वा माटो रहेका वा कुहिएका शव सनाखत हुन झनै कठिन हुन्छ।

हो, यस्तै बेला डीएनए परीक्षण एउटा प्रभावकारी विधि हुने जानकारहरू बताउँछन्।

‘डिअक्सिराइबोन्यूक्लिक एसिड’लाई छोटकरीमा डीएनए भनिएको हो। विज्ञहरूका अनुसार डीएनए शरीरका कोषिकाभित्र रहेको अनुवंशिक (जेनेटिक)  सूचना  राख्ने अणु हो। मानिसको शरीर कसरी विकास हुन्छ, शरीरका विभिन्न जैविक विशेषता कसरी निर्धारण हुन्छन् भन्ने लगायतका जानकारी डीएनएबाट प्राप्त गर्न सकिन्छ।

प्रत्येक व्यक्तिको डीएनएमा रहेका आनुवंशिक संयोजन फरक हुने भएकाले यसले व्यक्तिको पहिचानका लागि महत्त्वपूर्ण आधार प्रदान गर्छ।

फरेन्सिक विज्ञ डा.गोपाल चौधरीका अनुसार डीएनए भनेको हरेक मानवको तन्तुमा, सेल्समा हुने जेनेटिक मेटेरियल हो। उनी भन्छन्, ‘क्रोमोजोमको बेसिक मेटेरियल भनेको पनि डीएनए नै हो। हरेक मान्छेमा यसको जेनेटिक कम्बिनेसन फरक–फरक हुन्छ।’

त्यही फरकपनका कारण डीएनएलाई व्यक्तिको जैविक पहिचानसँग जोडेर हेर्न सकिने चौधरी बताउँछन्। उनका डीएनए प्रोफाइलिङमा व्यक्तिको आनुवंशिक विशेषताहरूको निश्चित ढाँचा तयार गरिन्छ र त्यसलाई अर्को नमुनासँग तुलना गरिन्छ।

डीएनएको महत्त्व

डीएनएको सबैभन्दा महत्त्वपूर्ण पक्ष यसको व्यक्तिगत विशिष्टता हो। एउटै परिवारका सदस्यबीच आनुवंशिक समानता भए पनि प्रत्येक व्यक्तिको डीएनए प्रोफाइल पूर्ण रूपमा एउटै हुँदैन।

त्यसैले कुनै व्यक्तिको पहिचान खुल्न नसकेको अवस्थामा उसको शरीरबाट प्राप्त डीएनए र सम्भावित आफन्तको डीएनए तुलना गरेर सम्बन्ध पत्ता लगाउन सकिन्छ।

क्रोमोजोमभित्रको डीएनएमा धेरै खालका जेनेटिक कम्बिनेसन हुन्छन्।  त्यो हरेक मान्छेमा फरक हुन्छ। ‘एउटा मान्छेको डीएनए अर्को मान्छेसँग मिल्दैन, त्यसैलाई पहिचानको आधार मानिएको हो,’डा. चौधरी भन्छन्।

डीएनए परीक्षणका लागि एउटै प्रकारको नमुना मात्र आवश्यक हुँदैन। शरीरमा डीएनए भएको कोशिका वा तन्तुबाट नमुना लिन सकिन्छ।

डा. चौधरी रगतको सेतो रक्तकोषिकाबाट डीएनए सरल रूपमा परीक्षण गर्न सकिने बताउँछन्।  मुखभित्रको स्वाब, कपाल, छाला तथा न्यूक्लियस भएका जुनसुकै कोशिका वा तन्तुबाट पनि डीएनए प्राप्त गर्न सकिने उनले बताए।

कुन नमुना उपर्युक्त हुन्छ भन्ने निर्णय मृतकको अवस्था हेरेर लिने गरिन्छ। विपद्का कारण शरीर अत्यधिक क्षतिग्रस्त भएको अवस्थामा पनि डीएनए प्राप्त गर्न सकिने विभिन्न जैविक नमुनाको विकल्प हुन्छ।

वैज्ञानिक अध्ययनहरूले विपद्का अवस्थामा हड्डी, दाँत, नरम तन्तुलगायत विभिन्न नमुनाबाट डीएनए परीक्षण गर्न सकिने देखाएका छन्।

कुनै शव भेटियो तर त्यसलाई हेरेर व्यक्ति को हो भन्ने पत्ता लागेन भने त्यसबाट डीएनएको नमुना लिइन्छ। त्यसपछि प्रयोगशालामा डीएनए निकालेर डीएनए प्रोफाइल तयार गरिन्छ। त्यसपछि सम्भावित आफन्तबाट संकलन गरिएको डीएनए प्रोफाइलसँग मृतकको प्रोफाइल तुलना गरिन्छ।

मृतकको नमुनाबाट निकाल्ने, डीएनए प्रोफाइल तयार गर्ने,  आफन्तको म्डीएनए प्रोफाइलसँग तुलना गर्ने आनुवंशिक सम्बन्धको विश्लेषण पहिचानमा निष्कर्ष निकालिन्छ।

कसैको शव फेला पर्‍यो तर नचिनेको अवस्थामा त्यसको तन्तुबाट डीएनए निकालेर परीक्षण गरिन्छ। त्यसबाट एउटा डीएनए प्रोफाइल आउँछ।  त्यसलाई सम्भावित आफन्तको डीएनए प्रोफाइलसँग तुलना गरेर पहिचान गर्न सहयोग पुग्ने डा. चौधरी बताउँछन्।

वास्तविक फरेन्सिक पहिचानमा डीएनए मिलानलाई वैज्ञानिक तथा सांख्यिकीय विश्लेषणसहित मूल्यांकन गरिन्छ; केवल ‘केही प्रतिशत मिल्यो’ भन्ने आधारमा मात्र निष्कर्ष निकालिँदैन।

आफन्तमध्ये कसको डीएनए नमुना उपयोगी ?

मृतकको डीएनएसँग तुलना गर्न सबैभन्दा नजिकका रक्तसम्बन्धी आफन्तको नमुना बढी उपयोगी हुन्छ। विशेषगरी बुवा, आमा, छोरा र छोरीको डीएनए लिइन्छ।

बच्चाले आफ्नो आनुवंशिक सामग्रीको आधा आमाबाट र आधा बुवाबाट प्राप्त गर्ने भएकाले आमा वा बुवाको डीएनए मृतकसँग तुलना गर्दा सम्बन्ध पहिचान गर्न बलियो आधार मिल्छ।

बुवा वा आमा नभएको अवस्थामा भने नजिकका रक्तसम्बन्धी आफन्तबाट पहिचान गरिन्छ।

रसुवा बाढीमा प्रहरीले पहिलो तहका रक्तसम्बन्धी आफन्त-बुवा, आमा, छोरा वा छोरी-लाई प्राथमिकता दिँदै नमुना संकलन गर्न आग्रह गरेको छ।

यी उपलब्ध नभएमा एक जना दाजु वा बहिनीको नमुना दिन सकिने प्रहरीले जनाएको छ। दाजुभाइ दिदिबहिनीको डीएनए पनि प्रयोग गर्न सकिने विज्ञहरू बताउँछन्। तर उनीहरूबाट प्राप्त हुने आनुवंशिक सम्बन्धको आधार आमा–बुवा वा छोराछोरीसँगको सम्बन्ध भन्दा फरक हुन्छ।

दाजुभाइ वा दिदीबहिनी एउटै अभिभावकबाट डीएनए प्राप्त गर्ने भएकाले उनीहरूको डीएनएमा केही आनुवंशिक समानता हुन्छ।

त्यसैले पहिलो तहका आफन्त उपलब्ध नभएको अवस्थामा उनीहरूको नमुनाबाट पनि पहिचानमा सहयोग पुग्ने जानकारहरू बताउँछन्। पहिचान नखुलेका शवको शरीरको सम्पूर्ण भाग नभेटिन सक्छ। त्यस्तो बेला उपलब्ध जैविक तन्तुबाट डीएनए परीक्षण गर्न सकिन्छ।

‘शरीको टुक्रा मात्रै भेटिएको अवस्थामा हड्डीको टुक्रा लिने र हड्डीबाट डीएनए प्रोफाइलिङ बनाउने काम गर्न सकिन्छ,’ डा. चौधरी भन्छन्।

रसुवा बाढीपछि डीएनए परीक्षण

भोटेकोशीमा आएको विनाशकारी बाढीपछि धेरै मानिस बेपत्ता भएका छन् भने केही शव तथा शरीरका अंग विभिन्न स्थानबाट फेला परेका छन्। शवहरू लामो समयसम्म पानी, माटो र वातावरणको सम्पर्कमा रहेकाले कतिपयको अवस्था पहिचान गर्न कठिन हुने खालको छ।

नेपाल प्रहरीले जारी गरेको सूचनामा बाढीमा बेपत्ता भएका आफन्तको पहिचानका लागि नेपाल प्रहरी अस्पताल, महाराजगन्जको प्याथोलोजी ल्याब वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरी ताजा रगतको नमुना दिन आग्रह गरेको छ।

पहिलो प्राथमिकतामा बुवा, आमा, छोरा वा छोरीको नमुना राखिएको छ।  पहिलो तहका आफन्त उपलब्ध नभएमा एक जना दाजु वा बहिनीको नमुना दिन सकिने प्रहरीले जनाएको छ।

विदेशमा रहेका आफन्तले आफू बसेको देशमै डीएनए प्रोफाइलिङ गराएर त्यसको प्रोफाइल तथा आवश्यक मृत्युपूर्वको आवश्यक जानकारी नेपाल प्रहरीलाई पठाउन सक्ने व्यवस्था पनि गरिएको छ।

शरीरका छुट्टाछुट्टै अवशेष एउटै व्यक्तिका हुन् कि होइनन् भन्ने पहिचान गर्न र परिवारलाई आफ्ना आफन्तको अन्तिम पहिचान तथा संस्कारको अधिकार दिलाउनसमेत डीएनए परीक्षण महत्त्वपूर्ण विधि हो।

बिहिवार बिहानसम्म रसुवा बाढीमा परेर ज्यान गुमाएका १ हजार १४३ र ५९१ जना आफन्तको डीएनए संकलन गरिएको प्रहरीले जनाएको छ।

लेखक
सुमित्रा लुइटेल

अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?