News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपाका सांसद हरि पन्तले रसुवाको भोटेकोशी बाढीमा सम्पर्कविहीन नागरिकको परिणाममुखी उद्धार गर्न र सरकारको ध्यान केन्द्रित गर्न आग्रह गरे।
- उनले पर्साका पनि धेरै जना सम्पर्कविहीन भएको भन्दै परिवारजन सास वा लासको आशमा सरकारको बाटो पर्खिरहेको बताए।
- उनले त्रिशूली-३ 'ए' जलविद्युत् आयोजनामा फसेका पर्साका इन्जिनियर दिलिप यादवसहितको शीघ्र उद्धारका लागि सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराए।
१८ भदौ, काठमाडौं । रास्वपाका सांसद हरि (बुद्धिप्रसाद) पन्तले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर सम्पर्कविहीन भएका नागरिकहरूको परिणाममुखी उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद पन्तले आफ्नो सम्पूर्ण शक्ति खर्चेर, मित्र राष्ट्रहरूसँग पनि आवश्यक सहयोग, समन्वय एवं सहकार्य गरी जनताले चाहेजस्तो परिणाममुखी उद्धार कार्य गरेर जनताको विश्वास जित्न आग्रह गरे ।
यो महाविपत्तिमा पर्सा जिल्लाका पनि धेरै जना सम्पर्कविहीन भएको भन्दै उनले उनीहरूका परिवारजन सास वा लासको आशमा सरकारको बाटो पर्खिरहेको बताए ।
उनले भने, ‘सम्पर्कविहीन भएका आफन्तजनहरूलाई यो सरकारप्रति आशा पनि छ । उहाँहरूले यो महाविपत्तिमा सरकारले देखाएको तदारुकता, सरकारले गरेका काम र प्रयासहरूलाई नजिकबाट नियाली रहेका छन् । त्यसैले उहाँहरूको सरकारप्रति भरोसा पनि छ ।’
उनले अगाडि थपे, ‘स्रोत, साधन र एक्स्पर्टिज जनशक्तिको अभावमा सोचे जस्तो परिणाम र युद्ध स्तरको प्रगति भने पक्कै पनि देखिएका छैनन् । तर सरकारले गरेका यी काम र राम्रा प्रायासहरूको पक्कै पनि लेखाजोखा हुने नै छ र एक दिन इतिहासले पनि यसको मूल्यांकन गर्ने छ ।’
त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनामा पर्साका इन्जिनियर दिलिप यादव लगायतका व्यक्तिहरू फसेको जानकारी परिवारजनले दिएको भन्दै उनले उनीहरूको शीघ्र उद्दारका लागि सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराए ।
प्रतिक्रिया 4