+
+
Shares

विद्यार्थीले देखेको बाढी- हेर्दाहेर्दै स्याप्रुबेंसी बग्यो, भाग्दाभाग्दै मान्छे बगे

बाढीपछि तल हेर्दा त्यो दृश्य थिएन । त्यो चकाचौंध स्याप्रुबेंसी बाढी सुस्ताएपछि खण्डहर बगर बनेको थियो ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८३ भदौ २० गते १८:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्याफ्रुबेंसीस्थित श्री कोमिन श्यामेवाङफेल माध्यमिक विद्यालयका कक्षा ९ की सम्झना नगरकोटी र कक्षा १० की राधिका तामाङले १० भदौको बाढीमा स्याफ्रुबेंसी बजार बगिरहेको देखे।
  • उनीहरू विद्यालयको होस्टेलमा भलिबल खेलिरहेका बेला अचानक बाढी आएको, झाडी चढेर ज्यान जोगाएको र बहिनीलाई समाउँदै माथि भागेको बताए।
  • बाढीले विद्यालयको आधा संरचना बगाएको, बाटो र पुल नहुँदा पढाइ निरन्तरता कसरी दिने भन्ने चिन्ता उनीहरूमा बढेको छ।

भदौं २०, स्याफ्रुबेंसी । खेलिरहेको ठाउँ एकाएक त्रासको थलो बन्यो । केहीबेर अघिसम्म हाँसिरहेका विद्यार्थी अचानक ज्यान जोगाउन दौडिन थाले । कसैलाई घरको चिन्ता थियो, कसैलाई होस्टेलभित्र रहेका भाइबहिनीको ।

तल बजारतिर हेर्दा बाढी उर्लिरहेको थियो । आँखैअगाडि घर, पसल र मानिसहरू बगिरहेका थिए ।

स्याफ्रुबेंसीस्थित श्री कोमिन श्यामेवाङफेल माध्यमिक विद्यालयका कक्षा ९ की सम्झना नगरकोटी र कक्षा १० की राधिका तामाङले देखेको दृश्य हो यो ।

उनीहरूका अनुसार दुवैजना भदौ १० गते  विद्यालयको होस्टेलमै थिए । त्यो दिन सानो भार्खुस्थित घर जाने उनीहरूको तयारी थियो ।

दुवैजनाबीच ‘खाना खाएर जाऔँ, अहिले गएर के काम छ र ?’ भन्ने सल्लाह भएर बिहानै हिँडेका थिएनन् ।

‘केहीबेरमै कल्पना नै नगरेको बाढी आइरहेको देखेँ,’ उनी भन्छिन्, ‘विद्यालय भवन माथिपट्टी रहेको होस्टेलको प्रांगणमा भलिबल खेलिरहेका थियौं ।  अचानक ठूलो आवाज आयो । बम पड्किएजस्तो लाग्यो । धुलो उड्यो । तलतिर हेर्दा खोलाबाट बाढी उर्लिरहेको थियो ।’

त्यसपछि झाडीबाट माथि चढेर ज्यान जोगाउन सफल भएको राधिका बताउँछिन् । राधिकाकी बहिनी होस्टेलमै थिइन् । आफू दौडिएर मात्रै भएन, उनले बहिनीलाई पनि खोज्न थालिन् । दुवै दिदीबहिनी एकअर्काको हात समाउँदै माथितिर दौडिए ।

विद्यालयका शिक्षकहरू पनि त्यही दिशातिर दौडिरहेका थिए । बाढी उर्लिँदै थियो । उनीहरू थप माथि रहेको कोमिन गाउँतिर लागे ।

तर, उनीहरूको आँखाबाट तलको दृश्य हटेन ।

माथिबाट हेर्दा स्याफ्रुबेंसी बजारमा बाढीले विनाश मच्चाइरहेको थियो । मानिसहरू ज्यान जोगाउन दौडिरहेका थिए । बसहरू पनि बाढीको चपेटामा परेका थिए ।

‘हामीले आँखाले देख्दा–देख्दै सबै बगायो,’ राधिकाले भनिन्, ‘मान्छेहरू पनि धेरै बगाएको देख्यौँ ।’

सम्झनाका अनुसार रातो रंगका बसहरू थिए । बसको अगाडि केही मानिसहरू दौडिरहेका थिए । उनीहरू पनि बाढीबाट उम्किन खोजिरहेका थिए ।

‘बसको अगाडि पाँच जना जति मानिस कुदिरहेका थिए । आँखाले देख्दा देख्दै लग्यो,’ सम्झना भनिन् ।

त्यो दृश्यले उनीहरूलाई विक्षिप्त बनायो । बजार, घर र मानिसहरू बाढीमा हराइरहेको देखेपछि उनीहरू डरले रोए ।

‘अब के गर्ने ! हामी कसरी घर जाने भनेर रोयौँ,’ उनीहरूले सुनाए ।

त्यो रात उनीहरू घर पुग्न नसक्ने पीडा, परिवारको चिन्ता र आफूहरू सुरक्षित छौं कि छैनौँ भन्ने डरले रात कट्यो ।

अब पढ्ने कहाँ ?

बाढी घटेपछि पनि उनीहरूका लागि स्याफ्रुबेंसी पहिलेको जस्तो रहेन ।

पहिले पसलहरू थिए । फलफूल बेच्नेहरू थिए । चटपटे पसलहरू थिए । मानिसहरूको चहलपहल हुन्थ्यो । उनीहरूले त्यही बजारमा आफ्ना दैनिक जीवनका धेरै दृश्य देख्दै आएका थिए ।

तर, बाढीपछि तल हेर्दा त्यो दृश्य थिएन । त्यो चकाचौंध स्याप्रुबेंसी बाढी सुस्ताएपछि खण्डहर बगर बनेको थियो ।

तीन दिनपछि मात्रै उनीहरू हेलिकप्टरको उद्धारमार्फत धुन्चे पुगेका थिए । त्यसपछि आफ्नो गाउँ सानो भार्खु पुगेका थिए ।

उनीहरूका लागि अर्को चिन्ता पनि थपिएको छ– अब पढ्ने कहाँ ?

उनीहरू पढ्ने श्री कोमिन श्यामेवाङफेल माध्यमिक विद्यालयपनि बाढीको चपेटामा परेको छ । विद्यालय जाने बाटो छैन । पुल छैन । सुरक्षित रूपमा आवतजावत गर्ने अवस्था छैन । विद्यालयको आधा संरचना बगाएको छ ।

राधिका सानै हुँदा बुबा विदेशमा बिते । त्यसपछि आमाले अर्को विवाह गरिन् । अहिले उनी हजुरबुबाआमासँग बस्दै आएका थिइन् ।

राधिका र बिहिनीलाई नि:शुल्क रूपमा कोमिन पढाएको थियो । राधिका थप चिन्ता थपिएको छ । अब पढाइलाइ कसरी निरन्तरता दिने ?

किन कि हजुरबुबा हजुरआमासँग पढाउनसक्ने आर्थिक क्षमता छैन ।

‘अब खै कहाँ पढ्ने होला । यता स्कुल छैन । धुन्चेतिर बसेर पढ्न पाए हुन्थ्यो’, राधिकाले निरास हुँदै भनिन् ।

विद्यालयको होस्टेलमा उनीहरूजस्तै करिब ३५ विद्यार्थी बस्दै आएका थिए । उनीहरू टाढाटाढाबाट पढ्न आएका हुन् । घुम्ताडाँडा, कालिका, नौकुण्डालगायतका ठाउँबाट विद्यार्थीहरू विद्यालयमा पढ्न आउने गरेका छन् ।

होस्टेल उनीहरूका लागि घरजस्तै थियो । त्यहीँ बस्ने, त्यहीँ खाने र त्यहीँबाट विद्यालय जाने दैनिकी थियो ।

तर बाढीले त्यो दैनिकी पनि भत्काइदियो ।

उनीहरूका आँखामा अझै पनि १० भदौको विनाशकारी बाढीको दृश्य ताजा छ– अचानक आएको ठूलो आवाज, उडेको धुलो, उर्लिएको खोला, ज्यान जोगाउन दौडिरहेका मानिस र आँखै अगाडि बगिरहेको स्याफ्रुबेंसी ।

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?