+
+
Shares

नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २१ गते ७:१९

२१ भदौ, सर्लाही । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सर्लाहीको नाढीमन ताल परिसरमा पुनः पर्यटकीय गतिविधि बढ्दै गएको छ ।

जैविक विविधतायुक्त यस ताललाई केही समय पहिला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशका १०० पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको थियो । तर आन्तरिक व्यवस्थापन र तालको पर्यटन प्रवर्द्धनमा बेवास्ता हुँदा लामो समय सुनसानप्राय बनेको तालमा फेरि एक पटक चहलपहल सुरु भएको हो ।

बाउन्न बिगाहा क्षेत्रफल रहेको भनिएको यस नाढीमन ताल चन्द्रनगर गाउँपालिका–६ र ७ मा फैलिएको छ । चारैतर्फबाट अतिक्रमणको चपेटामा परेको तालको अहिले ३५ बिगाहा क्षेत्र पानीले ओगटेको छ भने बाहिरी भागको दक्षिणपश्चिम क्षेत्रमा मिथिला कलाघर र ‘चिल्ड्रेन पार्क’ निर्माण भएको छ ।

तालको चारैतिर सडकसहितको ड्याम निर्माण गरी पर्यावरणीय हिसाबले विकास गर्ने उद्देश्यले वृक्षरोपणका कार्यक्रम पनि अघि सारिएको पालिकाका अध्यक्ष राजकुमार महतोले जानकारी दिए । ताल परिसरमै निर्माण भएको साबिक गाविस कार्यालय, श्री मरीचि मानेश्वर महादेव मन्दिर, धर्मशाला भवन र गाउँपालिकाको प्रशासनिक भवनले तालको केही क्षेत्र ओगटेको छ ।

विक्रम संवत् २०७२ मा राष्ट्रपति चुरे संरक्षण विकास कार्यक्रमअन्तर्गत नेपाली सेनाले ताल परिसर सरसफाइ गरी मानिस बस्ने बेन्च निर्माण गर्ने र वृक्षरोपणलगायतका काम गरेको थियो । संरक्षण अभावमा जलकुम्भीले ढाकेर कुरूप बनेको ताल परिसर आकर्षक बनेको थियो । जनमानसमा तालको चर्चा चुलिएपछि पर्यटकको आगमन सुरु भएको थियो । घुम्न आउने मानिसको उपस्थितिबाट उत्साहित स्थानीय व्यापारीहरूले ठूलो लगानी गरेर व्यापार–व्यवसाय सञ्चालन गरेका थिए तर त्यो धेरै समय टिकेन ।

ताल संरक्षणमा फेरि लापरबाही हुँदै गएसँगै अस्तव्यस्त ताल कुरूपसँगै सुनसान बन्दै गयो । तालको छेवैमा लाग्दै आएको हाटबजार सुक्यो । पर्यटकलाई लक्षित गरेर सञ्चालन गरिएका पसल तथा होटल व्यवसाय सबै पलायन भए । एक दिन यस क्षेत्रमा फेरि चहलपहल सुरु हुने आशमा बसेका व्यापारीहरू पछिल्ला दिनमा धार्मिक तथा अन्य पर्यटकको उपस्थितिबाट उत्साहित भएका छन् ।

प्रशस्त सम्भावना बोकेको यस ताल २०८१ सालमा ठेकेदारले माछा निकाल्न भनेर सुकाएपछि गौचरनमा परिणत भएको थियो । त्यसपछि बिस्तारै पुरानो अवस्थामा फर्कंदै गएको तालमा अहिले पानी भरिभराउ भएको छ । तालमा पानी आउने कुनै ठूलो स्रोत छैन । यहाँ जमिनमुनिबाट नियमित जरुवा पानी निस्कने गरेको छ । यसैबाट ताल सधैँ भरिभराउ रहने गरेको अध्यक्ष महतोले बताए ।

लामो समय अस्तव्यस्त बनेको ताल सुन्दर बन्दै गएसँगै पर्यटक आउन थालेको स्थानीय व्यापारी लक्ष्मी सिंहले जानकारी दिइन् । आन्तरिक तथा भारतको बिहार राज्यका विभिन्न जिल्लाबाट आउने पर्यटकका कारण स्थानीय व्यापारीहरू उत्साहित छन् । शनिबार ताल परिसरको पार्कमा छोरा घुमाउन आएका सर्लाहीको बरहथवा–५ निवासी बुद्धबहादुर थिङले ताल परिसर सुनेकोभन्दा सुन्दर रहेको प्रतिक्रिया दिए ।

प्रचारप्रसारको अभावमा गुमनाम तालको विषयमा धेरैलाई थाहा नभएको उनले बताए । अत्यन्त महत्वपूर्ण यस्ता प्राकृतिक सम्पदाको संरक्षणमा स्थानीय सरकार सचेत हुनुपर्ने उनको धारणा थियो । निर्माणाधीन अवस्थामा रहेको ताल परिसर फोहोर हुँदा पर्यटकहरू निराश हुने उनले बताए । ‘एक पटक घुम्न आएका पर्यटकले अरूलाई पनि आउन प्रोत्साहन गर्ने माहोल हुनुपर्छ’, उनले भने, ‘त्यसपछि कसैले केही गर्नु पर्दैन ।’

तालको मुख्य आकर्षणको केन्द्रका रूपमा ताल सयरको सुविधा भए पनि दिगो व्यवस्थापनको अभावमा नियमित मोटरबोट सञ्चालन नभएको पर्यटकहरूको गुनासो छ । सदरमुकाम मलङ्गवाबाट घुम्न आएका दिनेश महतोले आफू तालमा बोट चढ्न भनेर धेरै पटक आउँदा पनि सफल नभएको गुनासो गरे । ‘कहिले बोट बिग्रिएको छ भन्नुहुन्छ’, उनले भने, ‘अहिले ठेकेदारले चलाउन दिएको छैन रे ।’

सुविधा नहुँदा तालमा एक पटक आउने पर्यटक फर्केर आउने वातावरण नरहेको उनले गुनासो गरे । उनले ताल परिसरमा रहेका संरचनाको प्रयोग र व्यवस्थापन निकै कमजोर रहेको बताए । पार्कमा भर्खर निर्माण भएका बालबालिकाले खेल्ने संरचनाहरू जीर्ण अवस्थामा छन् । केही धरापका रूपमा रहेकाले निकै जोखिम रहेको उनले बताए । त्यसतर्फ स्थानीय सरकारले ध्यान दिनुपर्ने उनको अनुरोध छ ।

यस गाउँपालिकाले ताल परिसरमा पार्क, प्रतीक्षालय, मठमन्दिर, शौचालयलगायत संरचना निर्माणका लागि २०८१ असार २१ गते सात करोड ८० लाख ४३ हजार १९ रुपैयाँ ७० पैसामा ठेक्का लगाएको थियो । ३६ महिनामा निर्माण सम्पन्न गर्ने गरी एस एन्ड एस/काल्सा जेभी बागमती, सर्लाहीले निर्माणको जिम्मा लिएको हो । नाढीमन ताल परिसरको मौलिक पुनर्निर्माण तथा सौन्दर्यकरणले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुगेको स्थानीय राम स्वगारथ रायले बताए ।

पालिकाले आन्तरिक आयको उद्देश्य राखेर माछापालनका लागि पोखरी ठेक्का लगाएको छ । जसले गर्दा तालमा मोटरबोट सञ्चालन हुन नसकेको बोट व्यवस्थापक कर्मचारी धनिराम सहनीले बताए । मोटरबोट सञ्चालन गर्दा माछा मरेको भन्दै सम्झौताबमोजिम तालमा बोट चलाउन ठेकेदारले रोक लगाएको छ ।

तालमा मरेका माछा तथा अन्य फोहोरका कारण दुर्गन्धित हुँदा समस्या भएको पर्यटकहरूको गुनासो छ । स्थानीय बिनिता महतोले माछा मरेको दुर्गन्धका कारण तालको छेउमा उभिन पनि सकस भएको बताइन् । यसतर्फ पालिकाले बेलैमा ध्यान नदिए विगतमा जस्तै तालमा आउने पर्यटक घट्दै जाने जोखिम रहेको उनको आशङ्का थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?