News Summary
Generated by OK AI. Editorially reviewed.- समाज कल्याण परिषद्ले भोटेकोशी बाढीपीडितको उद्धार, राहत र मानवीय सहयोगमा पीडितको आत्मसम्मान, मर्यादा र गोपनीयता सम्मान गर्न आग्रह गरेको छ।
- परिषद्ले पीडितको अनुमतिबिना फोटो, भिडियो, लोगो, संकेत वा प्रचारात्मक सामग्री राखेर प्रकाशन तथा प्रसारण नगर्न सामाजिक संघसंस्थालाई अनुरोध गरेको छ।
- परिषद्का अनुसार १० भदौमा भोटेकोशी–ल्हेन्दे खोलामा आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका नागरिक प्रभावित भएका छन्।
२२ भदौ, काठमाडौं । समाज कल्याण परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहयोगका क्रममा पीडितको आत्मसम्मान, मर्यादा र गोपनीयताको सम्मान गर्न सामाजिक संघसंस्था तथा सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।
राहत तथा मानवीय सामग्री वितरण गर्दा आचारसंहिता पूर्ण रूपमा पालना गर्न र पीडितको पीडा थपिने गरी उनीहरूको अनुमतिबिना फोटो तथा भिडियो नखिच्न परिषद्ले अनुरोध गरेको हो ।
परिषद्ले पीडितको अनुमतिबिना व्यक्तिगत फोटो, भिडियो तथा धार्मिक वा व्यावसायिक प्रकृतिका फोटो, लोगो, संकेत वा प्रचारात्मक सामग्री राखी प्रकाशन तथा प्रसारण नगर्न पनि सामाजिक संघसंस्था लगायत सबै पक्षलाई आग्रह गरेको छ ।
परिषद्ले विपद्का समयमा मानवीय सहयोगका गतिविधि सञ्चालन गर्दा पीडितको सम्मान, मर्यादा र गोपनीयतालाई प्राथमिकतामा राख्न सम्बन्धित सबैमा अनुरोध गरेको हो । परिषद्को वेबसाइटमा पनि बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनस्र्थापनासम्बन्धी आवश्यक सूचना प्रकाशित गरिएको छ ।
परिषद्ले १० भदौमा नेपाल–चीन सीमास्थित भोटेकोशी–ल्हेन्दे खोलामा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा मानवीय सहयोग भइरहेको जनाएको छ ।
प्रतिक्रिया 4