+
+
Shares
विचार :

हिमताल विस्फोट र भूस्खलनको जोखिम घटाउन सकिन्छ ? 

रसुवा र नुवाकोटमा भयावह प्रभाव छाडेर उत्तरी हिमाली क्षेत्रमा आकस्मिक रूपमा गएको अकल्पनीय विनाशकारी बाढी अहिले किन आयो र अब बारम्बार हुने सम्भावना छ कि छैन भन्ने बारे थप जान्नका लागि, यी क्षेत्रहरूमा भएका पछिल्ला परिवर्तनको विश्लेषण गर्नुपर्छ। यस्ता प्रकोपहरूको सूचनामा प्रयोग हुने शब्ददेखि लिएर यसले ल्याउन सक्ने विनाशको पूर्वानुमानमा हामी धेरै नै चुकेको अवश्य नै हो।

डा. हरि कँडेल डा. हरि कँडेल
२०८३ भदौ २५ गते ११:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा, नुवाकोट, धादिङ र चितवनमा भदौ १० गते आएको प्रलयकारी महाबाढीले ठूलो क्षति पुर्‍याएको लेखकले उल्लेख गरे।
  • लेखमा स्याटेलाइट तस्बिर र अनुसन्धानका आधारमा हिमनदी पग्लिनु र जमिन सर्नुले बाढी उत्पन्न भएको बताइएको छ।
  • लेखले हिमनदी, हिमताल र जोखिमयुक्त भीरको नियमित अध्ययन, तटीय बस्तीको जोखिम मूल्याङ्कन र पूर्वतयारी गर्न सुझाव दिएको छ।

घमाइलो र उज्यालो आकाश रहेको दिनको बिहानीमा कसैले नदीमा बाढी आयो भनेर सजिलै पत्याइहालुँला जस्तो मलाई पनि लाग्दैन। तर नपत्याउँदो, सामान्य रूपको मात्रै नभएर अकल्पनीय आकार र गति सहितको प्रलयकारी महाबाढीले नेपालको उत्तरी हिमाली जिल्ला रसुवा हुँदै नुवाकोट, धादिङ, चितवन लगायत जिल्लाका बासिन्दाहरूमाथि यही भदौ १० गते मच्चाएको कहालीलाग्दो उपद्रवले हामी कसैलाई छोडेन।

कि त हाम्रा नजिकका आफन्त, साथी, चिनजानका व्यक्तिहरू नै यसका सिकार भए या त नेपाली जन, अझ भनौं विश्व मानव समुदायलाई नै यसको वितण्डाले अझै सञ्चोसँग निद्रा दिएको छैन। क्षतिका विवरण र भेलले बगाएका मानिसहरूका दारुण कथाले यो लेखक पनि उद्वेलित नभइरहन सकेन। दुःखमा परेका स्वदेशीहरूको पीडामा भौतिक रूपमा उपस्थित भएर सानो उद्धार या अरू मलम लगाउन असमर्थ रहे पनि टाढैबाट यो लेख लेखेर यस्ता प्राकृतिक विपत्तिहरू सम्बन्धी आफूले पढेजानेका केही हरफहरू मार्फत उपस्थित भएको छु।

हालै मात्र नेपालको रसुवा र नुवाकोट जिल्लामा भयावह प्रभाव छाडेर उत्तरी हिमाली क्षेत्रमा आकस्मिक रूपमा गएको अकल्पनीय विनाशकारी बाढी र यसको प्रकोप, यो आउनुका कारण र जनमानस एवं सरकारी अधिकारीहरूलाई झस्काउने गरी यसले सम्झाएको हाम्रो धरातलीय यथार्थलाई केही भूवैज्ञानिक एवं जलवायु परिवर्तनका आँखाबाट हेर्नु यो आलेखको मुख्य उद्देश्य हो।

हिमाली नदीहरू दक्षिणतिर उर्लेर बग्ने, आफैंमा गतिशील अनि पानीको बहाव र माटो/गेग्रानमा एक्कासि परिवर्तन हुनसक्ने साँघुरो प्राकृतिक बनावट भनेर परापूर्वकालदेखि चिनिएका मुख्य जलप्रणालीहरू मात्रै होइनन्; विश्वकै टोपीका रूपमा चिनिएका हिमालहरूमा सङ्लिएको हिउँ र हिमनदीहरूका पनि सञ्चार प्रणाली हुन्।

स्याटेलाइट तस्बिरहरूको तुलना तथा विश्लेषणबाट आइस (हिउँ) पग्लिएको मात्र नभई जमिन सरेको समेत प्रमाणहरू अनुसन्धानकर्ताहरूले सार्वजनिक गरिरहेका छन्।

यी नदीहरूमा निहित जोखिम नदीको उत्पत्ति क्षेत्रको भौगर्भिक बनोट, भौगोलिक अवस्थिति र बदलिंदै गएको जलवायु चक्र लगायत धेरै कारकहरूमा निर्भर हुन्छ। जबकि यी नदी प्रणालीहरूसँग सम्बन्धित तत्कालको खतराचाहिं हामीले विभिन्न भूउपयोग उद्देश्यका लागि नदीतटीय क्षेत्रहरू कसरी प्रयोगमा ल्याएका छौं (शहरी विकासको ढाँचा, नदीतटको अतिक्रमण) र सडक करिडोर, पुल र बाँध जस्ता पूर्वाधारहरू विकास गर्ने सन्दर्भमा यी प्रणालीहरूसँग कसरी अन्तरक्रिया गर्छौं भन्ने कुरामा निर्भर गर्दछ। यसको अर्थ यी प्रणालीहरूको गतिशीलता र जटिलताको हाम्रो समग्र बुझाइले हामी यी खतराहरूबाट कति सुरक्षित छौं भनेर निर्धारण गर्दछ।

भूगर्भशास्त्रीहरूको भूगर्भीय इतिहासको अभिलेख र प्रमाणका अनुसार नेपालको उत्तरी भागमा रहेका हिमालय उच्चपर्वतहरू दक्षिणी भारतीय प्लेट उत्तरतिर सरेर उत्तरी युरेसियन प्लेटमुनि दबिएपछि बनेको मानिन्छ। प्लेटहरू बीच दबाब दिने, बलपूर्वक धकेल्ने र प्लेटको धसिने वा उठ्ने प्रक्रियाहरूमा भासिने/दब्नेको माथिल्लो भागमा चढेको प्लेट उठेर यी उच्च हिमाल चुचुराहरू मात्र बनेनन्; यो प्रक्रियाले भित्रभित्रै चट्टानहरूमा धाँजाहरू फाटे र धेरै कमजोर संरचना भएका जोर्नी र फ्र्याक्चरहरू पनि बनायो। त्यसैले हिमालय पर्वतहरूमा सतहमुनिका चट्टानहरूमा कमजोरीका सतह जताततै छन्।

फलस्वरूप एकातिर यहाँको भूबनोट यति भिरालो र अग्लो छ भने अर्कोतर्फ यी पहाडहरूमुनि रहेका चट्टानहरूमा कमजोर संरचनात्मक तहहरू छन्। अब तपाईं कल्पना गर्न सक्नुहुन्छ कि यी हिमालय पर्वतहरूमा अवस्थित भीरहरू कति अस्थिर छन् र कसरी सानो कम्पनले पनि चट्टानहरूको तलतिरको गति शुरु गर्न सक्छ र तिनीहरूलाई टुक्राटुक्रा पार्न सक्छ।

यसबाहेक, यदि सतहमा रहेका हिमनदीहरू पग्लिए र जम्मा भएको पानी विस्तारै कमजोरीका ती तहहरूमा पस्यो भने यसले घर्षण कम गरेर र तिनीहरूलाई चिप्लो बनाएर ढलानहरूलाई अझ कमजोर बनाउँछ। लाङटाङ पहाडमा ठ्याक्कै त्यस्तै भएको छ; एउटा चट्टानको खण्ड अस्थिर भयो, भिरालोबाट खस्यो र पग्लिरहेको हिमनदीलाई पनि त्यससँगै तल तान्यो र यो प्रलयको उत्पत्ति भयो, भूवैज्ञानिक र प्राकृतिक प्रकोप अनुसन्धानकर्ताहरू भनिरहेका छन्।

यो अहिले किन भयो र अब बारम्बार हुने सम्भावना छ कि छैन भन्ने बारे थप जान्नका लागि, यी क्षेत्रहरूमा भएका पछिल्ला परिवर्तनहरूको विश्लेषण गरौं।

उच्च हिमालय पर्वतमालामा के भइरहेको छ ?

यस महाद्वीपमा प्लेटहरूको सुस्त तर सक्रिय चालका कारणले गर्दा चट्टानहरू विस्तारै कमजोर र पहाडहरू नदेखिने गरी अझै अग्ला र भिराला हुँदै गइरहेका त छन् नै, जलवायुको समस्त परिवर्तनका असरहरूबाट पनि प्रभावित हुँदै गइरहेका छन्। अध्ययनहरूले गएको शताब्दी, अझै भनौं विगत तीन–चार दशकको हावापानीमा देखिएको असर हिमालय क्षेत्रले निकै धेरै रूपले बेहोर्नुपर्ने देखाउँछन्।

जलवायु परिवर्तन सम्बन्धी विश्वव्यापी संस्था ‘इन्टरगभर्मेन्टल प्यानल अन क्लाइमेट चेन्ज’ (आईपीसीसी) को २०२२ मा प्रकाशित छैटौं प्रतिवेदनमा एशियाको उच्च हिमाली भागमा तापक्रम बढेको, हिमनदीहरू पग्लिंदै गएको, खोलाहरूमा बहाव हिमनदी पग्लिएको कारणले सिर्जित हुँदै गएको, हावापानीजन्य चरम घटनाहरू बढ्दै गएको, खोलातटका बस्तीहरूको जोखिम बढेको र पूर्वाधारमाथिका जोखिमहरूमा वृद्धि भएको भनेर स्पष्ट रूपमा उल्लेख गरिएको छ।

वायुमण्डलीय परिवर्तनका असरहरूबाट उच्च हिमाली क्षेत्रहरू र तल्लो तटीय क्षेत्रको जनजीवन अछुतो रहने देखिंदैन, बरु अझै यस्ता जोखिमहरू बढेरै जाने सम्भावना देखिन्छ। अतः योजनाबद्ध पूर्वतयारी र सचेतना नै विकल्प हुने देखिन्छ।

साथसाथै यसमा पर्माफ्रोस्ट पग्लिने अर्को घटना पनि उल्लेख छ। हिमालका माथिमाथिका भागहरू जो सदाबहार हिउँमुनि रहन्छन्, ती भागको माटो र चट्टानका छिद्रहरूमा पनि हावा वा पानी नभएर बरफ नै जमेको हुन्छ। जब यी सतहमुनिका जमेका बरफहरू पग्लिन्छन्, त्यसले ती सतहहरूलाई पनि खुकुलो, धोल्लो र थप चिप्लो बनाउँदै जान्छ। भिरालो सतहमा रहेको माटो र ढुङ्गा यसरी खुकुलिंदै जानु र सतह–सतह बीचको आन्तरिक घर्षण (एकअर्कालाई बाँधेर राख्ने बल) कमजोर हुँदै जाने प्रक्रियाले ती भिराला जमिनमा अडिएर रहेका चट्टानहरू पनि सर्ने र खस्ने जोखिम बढ्छ। यस प्रकार त्यहाँका स्लोपहरू पनि अस्थिर बन्ने र माथि सतहको हिमनदी पनि पग्लिने प्रक्रियाले त्यो प्रक्रियालाई द्रुत बनाउँदै जान्छ।

फलस्वरूप तल बनेका साना–ठूला तालतलैयाहरूको पानी र गेग्रान/माटो/ढुङ्गा मिश्रित बहावलाई थाम्न सक्ने क्षमता एकैपटक घट्न गई त्यो मिसिएको बहावले विस्फोटक रूप लिन जान्छ र नदी किनारका बस्ती, पूर्वाधार एवं जमिनमाथि धावा बोल्दछ। हामीले अहिले बेहोरेको प्रलय त्यही नै हो भन्ने प्रशस्त प्रमाण देखिन्छन्। स्याटेलाइट तस्बिरहरूको तुलना तथा विश्लेषणबाट आइस (हिउँ) पग्लिएको मात्र नभई जमिन सरेको समेत प्रमाणहरू अनुसन्धानकर्ताहरूले सार्वजनिक गरिरहेका छन्। लेखक आफैंले गरेको भूउपग्रहीय तस्बिरहरूको सरसर्ती अध्ययनले पनि त्यही नै बढी विश्वसनीय तर्क हो भन्ने ठान्दछ।

के यो प्रक्रिया अझै बढेरै जान्छ त ?

सामान्यतया पृथ्वीको तापमान वृद्धिको आँकडा हेर्दा यो गति रोकिने वा कम हुने देखिन्न। बुझिराख्नुपर्ने कुरा के हो भने तापमान वृद्धि र यसबाट सिर्जित हुने असरहरू कुनै एक कारणले मात्रै हुने प्रक्रियाचाहिं होइन। अवश्य पनि हाम्रो कार्बन उत्सर्जनको गति बढ्दै जाँदा वायुमण्डलीय तापक्रम पनि बढ्ने नै भयो। यो बढ्ने गति फरक–फरक ठाउँहरूमा फरक–फरक किसिमको पनि देखिन्छ।

यद्यपि उच्च हिमाली क्षेत्रका लागि यो निकै चिन्ताको विषय हो, किनकि त्यहाँ भएको हिउँ, हिमनदी र पर्माफ्रोस्ट तापमान वृद्धिको दरसँग अति नै संवेदनशील वाटर रिजर्भ्वाएरहरू हुन्। अझै महत्त्वपूर्ण कुरा यो छ कि तापमान वृद्धिको विश्वव्यापी दरसँग अरू जलवायुजन्य छोटा–छोटा अवधिका प्रक्रियाहरू मिसिएर आउँदा त्यसले त्यो असरलाई ह्वात्तै बढाएर लैजाने सम्भावना रहन्छ। जस्तै: यो वर्षलाई ‘एल निनो’ सक्रिय भएको वर्षका रूपमा विश्व मौसम विज्ञान संस्थाले परिभाषित गरेको छ र त्यसको असरस्वरूप लगभग सबै जमिन क्षेत्रहरूमा सामान्यभन्दा माथि तापक्रम हुने सम्भावना बढेको छ। यस्ता एकभन्दा धेरै वातावरणीय प्रक्रियाहरूको संयुक्त प्रभाव पर्न जाँदा अति असरहरू देखिने र चरम हिमालजन्य घटनाहरू हुनसक्ने जोखिम बढ्दछ।

यो कोणबाट हेर्दा वायुमण्डलीय परिवर्तनका असरहरूबाट उच्च हिमाली क्षेत्रहरू र तल्लो तटीय क्षेत्रको जनजीवन अछुतो रहने देखिंदैन, बरु अझै यस्ता जोखिमहरू बढेरै जाने सम्भावना देखिन्छ। अतः योजनाबद्ध पूर्वतयारी र सचेतना नै विकल्प हुने देखिन्छ।

आगामी उपाय के हुन सक्छन् त ?

मैले समाचारहरूमा प्रकाशित र केही अधिकारी तथा विज्ञहरूका विचारहरू सुन्दा पनि भोटेकोशी र त्रिशूलीको रौद्र रूपलाई ‘बाढी’ मात्रै भनेर जसरी भनिएको छ, त्यो न बाढीको प्राविधिक अर्थसँग, न पब्लिकले बुझेको अर्थसँग मेल खान्छ। मलाई त के लाग्छ भने त्यो आउँदै छ भन्ने चेतावनी दिंदा नै बाढी नभनेर अरू केही विघ्न स्वरूपको विनाश आउँदैछ भनिएको भए थुप्रै मानिसको जीवन बच्थ्यो।

बजारमा हुनेहरू बाढी हेर्न पुलतिर जाँदैनथे, बसमा यात्रा गरिरहेकाहरूले बसलाई अझै नदीतिरै लगिराख्दैनथे, अझै धेरै सामुदायिक सुरक्षामा खटिएकाहरू आफैं सजग हुन्थे र आम मानिसहरूलाई खोलादेखि टाढा लैजाने अर्जेन्सी देखाउँथे र देखेपछि मात्रै भाग्न खोज्नुको सट्टा सुन्नासाथ मानिसहरू भाग्थे; र यी सबै हुँदा हजारौं ज्यान जोगिन्थे।

त्यसकारण यस्ता प्रकोपहरूको सूचनामा प्रयोग हुने शब्ददेखि लिएर यसले ल्याउन सक्ने विनाशको पूर्वानुमानमा हामी धेरै नै चुकेको अवश्य नै हो। यी यावत् तथ्यहरू र हामीलाई ठूलो पीडासँगै यो विनाशले सिकाएको पाठलाई आत्मसात् गरेर अगाडि बढ्नु नै अहिलेको बाटो हो भन्ने लाग्छ।

यो विषयमा प्राकृतिक प्रकोप र विपत्तिविज्ञहरूका रायहरू प्रकट भइरहेकै छन्। हाम्रो सामान्य जोखिम तथा खतरा मूल्याङ्कन, विपत्ति र असुरक्षित समुदाय एवं स्रोतहरू पहिचानको खाकालाई हेर्दा पनि निम्न सावधानी तथा पूर्वतयारीहरू गर्नु उपयुक्त देखिन्छ :

१. माथि रहेका हिमनदी, हिमताल, जोखिमयुक्त भीरहरू, तिनीहरूको पग्लिने/सर्ने गति र संवेदनशीलताको वैज्ञानिक अध्ययन गर्ने र तिनीहरूको परिवर्तनको दर नियमित अनुगमन गरिरहने।

२. तल्लो तटीय क्षेत्रमा अवस्थित बस्तीहरूको जोखिम मूल्याङ्कन गरी स्थानान्तरण गर्नुपर्ने, संरचनात्मक सुदृढीकरण गर्नुपर्ने जस्ता विभिन्न श्रेणीहरूमा वर्गीकरण गर्ने र सो अनुसारका योजनाहरू लागू गर्ने।

३. विकासका भावी योजनाहरू बनाउँदा यस्ता मूल्याङ्कनलाई जरुरी शर्तका रूपमा अगाडि सार्ने र नीतिहरू बनाउने।

४. समुदायमा प्राकृतिक विपत्तिहरू सम्बन्धी जानकारी प्रदान गर्नका लागि विद्यालयदेखिकै पाठ्यक्रममा यस्ता विषयहरूलाई समावेश गर्ने र अरू विभिन्न जनचेतना अभिवृद्धि सम्बन्धी तालिमहरू प्रदान गर्ने।

५. यस्ता विपत्तिहरू आइहालेको खण्डमा रेस्क्यु (उद्धार) तथा रेस्पोन्स (प्रतिक्रिया) गर्ने जनशक्ति र स्रोत चुस्तदुरुस्त राखिराख्ने।

(कँडेल संयुक्त राज्य अमेरिकाको मिसिगनस्थित लेक सुपेरियर स्टेट युनिभर्सिटीमा जीआईएस, भूगर्भ र प्राकृतिक स्रोत विषयका सहप्राध्यापक हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?