+
+
Shares

१२ वर्षपछि गाउँ ब्लक जग्गा दर्ता खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २९ गते ११:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहाको गोलबजार नगरपालिका–२ लालपुरका बासिन्दाले करिब १२ वर्षपछि गाउँ ब्लक जग्गा दर्ता गराउन पाउने भएका छन्।
  • वडा कार्यालयले नापी कार्यालयका कर्मचारीलाई वडामै बोलाएर भदौ २९ देखि एक सातासम्म निवेदन लिने व्यवस्था गरेको छ।
  • साविक लालपुर गाविसका वडा ३ देखि ८ सम्म २७ कित्ता र करिब २० बिघा गाउँ ब्लक जग्गा आर्थिक वर्ष २०७१/७२ मा नापी भएको थियो।

२९ भदौ, सिरहा । गाउँ ब्लक जग्गा नापी भएको करिब १२ वर्षपछि सिरहाको गोलबजार नगरपालिका–२ लालपुरका बासिन्दाले जग्गा दर्ता गराउन पाउने भएका छन्।

गोलबजार–२ वडा कार्यालयले सूचना जारी गर्दै गाउँ ब्लक जग्गा भोगचलन गरिरहेका जग्गाधनीलाई दर्ताका लागि निवेदन दिन आह्वान गरेको छ। जग्गाधनीलाई सहज होस् भनेर वडाले नापी कार्यालयका कर्मचारीलाई वडामै बोलाएर निवेदन लिने व्यवस्था मिलाएको जनाएको छ।

वडा अध्यक्ष सुकदेव सिंहका अनुसार लहानस्थित नापी कार्यालयसम्म पुग्दा लाग्ने यातायात खर्च र कागजात तयार पार्न हुने झन्झट कम गर्न वडामै सेवा दिन लागिएको हो। ‘वडाको निरन्तर मेहनत र पहलपछि नापी कार्यालयका कर्मचारीलाई वडामै ल्याएर जग्गा दर्ताको प्रक्रिया अघि बढाउन लागेका छौं,’ उनले भने, ‘जग्गाधनीलाई सहज होस् भनेर वडाले आफ्नै खर्चमा निवेदन लिने व्यवस्था मिलाएको छ। निवेदन तयार गर्नसमेत वडाले सहयोग गर्छ।’

वडाका अनुसार भदौ २९ गते सोमबारदेखि एक सातासम्म बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म वडा कार्यालयबाट गाउँ ब्लक जग्गा दर्ताका लागि निवेदन लिइनेछ।

साविक लालपुर गाविसअन्तर्गत वडा नम्बर ३ देखि ८ सम्म गरी २७ कित्ता र करिब २० बिघा गाउँ ब्लक जग्गा आर्थिक वर्ष २०७१/७२ मा नापी भएको वडा अध्यक्ष सिंहले जानकारी दिए।

उनका अनुसार साविक वडा नम्बर २ मा ७ कित्ता, वडा नम्बर ४ मा २, वडा नम्बर ५ मा ४, वडा नम्बर ६ मा ५, वडा नम्बर ७ मा ३ र वडा नम्बर ८ मा ६ कित्ता गाउँ ब्लक जग्गा नापी भएको थियो।

नापी भएको लामो समय बितिसक्दा पनि दर्ता प्रक्रिया अघि बढ्न नसक्दा स्थानीय बासिन्दा आफूले भोगचलन गर्दै आएको जग्गाको स्वामित्व कायम गर्नबाट वञ्चित हुँदै आएका थिए। अब वडा कार्यालयको पहलमा दर्ता प्रक्रिया अघि बढ्ने भएपछि स्थानीयलाई सहज हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?