+
+
Shares

नयाँ विज्ञापनलाई लिएर विवादमा सिड्नी स्वीनी, सामाजिक सञ्जालमा आलोचना

केही प्रयोगकर्ताले विज्ञापनको अवधारणाको आलोचना गरेका छन् भने खेलकुदसँग जोडिएका केही महिलाले समेत यसलाई महिलाको शरीरलाई यौनिक रूपमा प्रस्तुत गर्ने अभियानका रूपमा टिप्पणी गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १३:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिड्नी स्वीनीले ‘नोविग’का लागि गरेको नयाँ विज्ञापनमा शरीर खेल सामग्रीले ढाकिएको तस्बिर र भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भएको छ।
  • केही प्रयोगकर्ताले विज्ञापनलाई ‘अश्लील’ र महिलालाई ‘यौनिक रूपमा प्रस्तुत गरिएको’ भन्दै आपत्ति जनाएका छन्, भने केही खेलकुदसँग जोडिएका महिलाले पनि विरोध गरेका छन्।
  • स्वीनीले आलोचनाबारे प्रत्यक्ष प्रतिक्रिया नदिएर इन्स्टाग्राम स्टोरीमा चर्चित खेलाडीका यस्तै फोटोसुट सेयर गरेकी छन्।

लस एन्जलस (एजेन्सी) । हलिउड अभिनेत्री तथा ‘द हाउसमेड’ फेम सिड्नी स्वीनी विज्ञापनलाई लिएर पुनः विवादमा तानिएकी छन् । स्पोट्र्स ट्रेडिङ एप ‘नोविग’का लागि गरिएको उनको नयाँ विज्ञापनलाई सामाजिक सञ्जालमा केही प्रयोगकर्ताले ‘अश्लील’ र महिलालाई ‘यौनिक रूपमा प्रस्तुत गरिएको’ भन्दै आलोचना गरेका छन् ।

हालै ‘युफोरिया सिजन ३’मा देखिएकी २९ वर्षीया स्वीनीले विज्ञापनका तस्बिर र भिडियोमा विभिन्न खेल सामग्री प्रयोग गरेर आफ्नो शरीर ढाकेकी छन् । फुटबल, बास्केटबल, हकी प्याड र टेनिस र्‍याकेटलगायतका खेल सामग्रीसहित गरिएको फोटोसुट सार्वजनिक भएपछि यसबारे सामाजिक सञ्जालमा बहस सुरु भएको हो ।

स्वीनीले आइतबार उक्त विज्ञापनका तस्बिर र भिडियो पोस्ट गरेकी थिइन् । समाचार तयार पार्दासम्म उनको पोस्टमा २० लाखभन्दा बढी लाइक र २८ हजारभन्दा बढी कमेन्ट आएका छन् ।

पोस्ट सार्वजनिक भएसँगै भाइरल भएको थियो । केही प्रयोगकर्ताले विज्ञापनको अवधारणाको आलोचना गरेका छन् भने खेलकुदसँग जोडिएका केही महिलाले समेत यसलाई महिलाको शरीरलाई यौनिक रूपमा प्रस्तुत गर्ने अभियानका रूपमा टिप्पणी गरेका छन् ।

स्वीनीको पोस्टमा एक महिला इन्स्टाग्राम प्रयोगकर्ताले लेखेकी छन्, ‘एक पूर्व खेलाडी र आफैँले यौनिक टिप्पणीको सामना गरेकी महिलाका रूपमा यो अभियानबाट म साँच्चै घृणा र गहिरो निराशा महसुस गरिरहेकी छु । हामीले आफ्नो प्रतिभा, शक्ति र उपलब्धिका लागि चिनिन र सम्मान पाउन वर्षौं संघर्ष गरेका छौँ, केवल शरीरमा सीमित हुनका लागि होइन…।’

स्वीनीले भने आलोचनाबारे प्रत्यक्ष प्रतिक्रिया दिएकी छैनन् । तर उनले आफ्नो इन्स्टाग्राम स्टोरीमा विभिन्न चर्चित खेलाडीका विगतमा गरिएका यस्तै प्रकृतिका फोटोसुट सेयर गर्दै आलोचनाप्रति अप्रत्यक्ष कटाक्ष गरेकी छन् ।

यसअघि सन् २०२५ मा पनि स्वीनी ‘अमेरिकन ईगल’ डेनिम ब्रान्डको विज्ञापनलाई लिएर आलोचनामा परेकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?