३० भदौ, हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्लेसुकौरामा मंगलबार दिउँसो ईभी (विद्युतीय) गाडी दुर्घटना हुँदा मृत्यु भएका चार जनाको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार मृत्यु हुनेमा नवलपरासी पूर्व, धनुषा, पर्सा र बाराका चार जना रहेका छन् ।
नवलपरासी पूर्वको कावासोती नगरपालिका–१ बस्ने २४ वर्षीय नरबहादुर सिंह ठकुरी, धनुषाको धनुषाधाम नगरपालिका–४ बस्ने ४३ वर्षीय सुरज भट्टराई, पर्साको छिपहरमाई नगरपालिका–२ टिहुकी बस्ने ४४ वर्षीय भुवनेश्वर साह कानु र बाराको परवानीपुर–३ लिप्निमाल बस्ने ३२ वर्षीय सरफरोस मियाँको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।
मृतकहरूको पहिचान साथमा रहेको पासपोर्ट, नागरिकता र राष्ट्रिय परिचयपत्रका आधारमा गरिएको उनले बताए ।
आज दिउँसो करिब २ बजे हेटौंडा–काठमाडौं जोड्ने छोटोमार्गअन्तर्गत इन्द्रसरोवर–२ सुकौरामा काठमाडौं हुँदै वीरगञ्जतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०७२० नम्बरको गाडी सडकबाट करिब एक हजार मिटर तल खसेर दुर्घटना भएको डिएसपी काफ्लेले बताए ।
दुर्घटना लगत्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमाण्डमा समेत गरी २१ जना नेपाली सेना, जनपथ र सशस्त्र प्रहरीको टोली घटनास्थलमा घाइतेहरूको उद्दारमा खटिएको थियो ।
नेपाली सेनाको गोरखबहादुर गणबाट १० जना र सशस्त्र प्रहरी विपद् व्यवस्थापन बेस कुलेखानीबाट १० जनाको थप टोली पनि परिचालन भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4