+
+
Shares

कानुन व्यवसायीका लागि ‘अल-इन-वन’ एआई प्लेटफर्म ‘मेरोकेस’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १ गते ९:३३

१ असोज, काठमाडौं । कानुनी प्रविधि कम्पनी लेक्सईनटोश प्रालिले कानुन व्यवसायी र ल फर्मका लागि लक्षित गर्दै एआईमा आधारित ‘प्राक्टिस म्यानेजमेन्ट प्लेटफर्म’ ‘मेरोकेस’ सार्वजनिक गरेको छ।

मेरोअड्डा डटकम सञ्चालन गर्दै आएको कम्पनीले नेपालको कानुनी अभ्यास र अदालतसम्बन्धी प्रक्रियालाई ध्यानमा राखेर प्लेटफर्म विकास गरिएको जनाएको छ। कम्पनीका अनुसार यो प्रणालीमार्फत ग्राहक व्यवस्थापन, मुद्दाको अभिलेख, कानुनी अनुसन्धान, दस्तावेज भण्डारण, टोलीगत सहकार्य र पेसी व्यवस्थापन एउटै डिजिटल प्रणालीबाट गर्न सकिनेछ।

लेक्सइनटोशले मेरोकेसलाई नेपालकै पहिलो ‘इन्टरप्राइज-ग्रेड प्राक्टिस म्यानेजमेन्ट प्लेटफर्म’ भएको दाबी गरेको छ।

कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत आलोक सुवेदीले कानुन व्यवसायीले दैनिक रूपमा भोग्दै आएका कागजी फाइल व्यवस्थापन, पेसी सूची खोज्ने, ग्राहकको विवरण अद्यावधिक गर्ने र कानुनी नजिर पत्ता लगाउने समस्या समाधान गर्ने उद्देश्यले प्लेटफर्म निर्माण गरिएको बताए।

‘विदेशी सफ्टवेयरलाई नेपालको अभ्यासमा जबरजस्ती मिलाउनुको सट्टा नेपाली अदालत र कानुन व्यवसायीको आवश्यकतालाई केन्द्रमा राखेर मेरोकेस निर्माण गरिएको हो,’ सुवेदीले भने।

एउटै प्रणालीबाट मुद्दा व्यवस्थापन

मेरोकेसमा ग्राहकको प्रारम्भिक परामर्श, अनबोर्डिङ, सम्पर्क इतिहास र दस्तावेज व्यवस्थापनका लागि केन्द्रीकृत प्रणाली राखिएको छ। यसबाट सेवाग्राहीसम्बन्धी विवरण सुरक्षित रूपमा भण्डारण गरी आवश्यक परेको समयमा छिटो प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ।

प्लेटफर्मको ‘केस म्यानेजमेन्ट एन्ड लाइफसाइकल ट्र्याकिङ’ सुविधामार्फत मुद्दा दर्तादेखि फैसलासम्मका चरण अनुगमन गर्न सकिनेछ। मुद्दाका तथ्य, सुनुवाइ विवरण, पक्षहरूको जानकारी र अदालतका आदेशलाई छुट्टाछुट्टै केस प्रोफाइलमा राख्न सकिने व्यवस्था गरिएको छ।

ल फर्मका व्यवस्थापक र वरिष्ठ अधिवक्ताले टोलीका सदस्यलाई काम बाँडफाँड गर्न, आन्तरिक म्याद तथा माइलस्टोन तय गर्न र केसको प्रगति अनुगमन गर्न सक्नेछन्। प्लेटफर्ममा आन्तरिक नोट आदानप्रदान र प्रयोगकर्ताको भूमिकाअनुसार पहुँच नियन्त्रण गर्ने सुविधा पनि राखिएको छ।

क्लाउडमा सुरक्षित दस्तावेज

कम्पनीका अनुसार मेरोकेसमा बैंकिङ स्तरको सुरक्षा प्रणाली प्रयोग गरिएको क्लाउड दस्तावेज भण्डारण सुविधा छ। यसमा फिरादपत्र, पुनरावेदन, सम्झौतापत्र, प्रमाण र अदालती सूचनालाई मुद्दाअनुसार वर्गीकरण गरी राख्न सकिनेछ।

प्लेटफर्मले नेपालभरका अदालतबाट जारी हुने पेसी सूची र अदालती प्रकाशन अनुगमन गर्ने कम्पनीले जनाएको छ। अदालतले नयाँ सुनुवाइको मिति वा पेसी सूची सार्वजनिक गरेपछि सम्बन्धित मुद्दाको विवरण स्वचालित रूपमा अद्यावधिक हुने र मिति डिजिटल क्यालेन्डरमा समावेश हुने कम्पनीको दाबी छ।

कानुन व्यवसायीले हदम्याद, बैठक र अन्य महत्त्वपूर्ण मितिका लागि छुट्टाछुट्टै अलर्टसमेत तय गर्न सक्नेछन्।

प्राथमिक कानुनी स्रोतमा आधारित एआई

कम्पनीले मेरोकेसको कानुनी अनुसन्धान प्रणाली प्राथमिक कानुनी स्रोतमा आधारित रहेको जनाएको छ। प्रणालीमा नेपालको संविधान, संघीय ऐन, नियम, निर्देशिका, अदालतका फैसला र नेपाल कानुन पत्रिकामा प्रकाशित सर्वोच्च अदालतका नजिरसहितका कानुनी दस्तावेज समावेश गरिएको छ।

कम्पनीका अनुसार एआईबाट तयार हुने अनुसन्धान सारांश, फैसलाका आधार र कानुनी विश्लेषणलाई सम्बन्धित सरकारी राजपत्र वा फैसलासँग जाँच गर्न मिल्ने गरी प्रस्तुत गरिनेछ। यसले एआईबाट गलत वा काल्पनिक कानुनी उद्धरण आउने जोखिम कम गर्ने कम्पनीको दाबी छ।

कानुनी अनुसन्धानका लागि प्लेटफर्ममा ‘आस्क मीरा एआई’ र म्यानुअल सर्च इन्जिन राखिएको छ। यी उपकरणले देवनागरी, रोमन नेपाली र अंग्रेजी भाषामा खोजी गर्न सक्ने कम्पनीले जनाएको छ।

प्रयोगकर्ताले स्प्लिट-स्क्रिन सुविधामार्फत एकातर्फ कानुनी अनुसन्धान र नजिर हेर्दै अर्कोतर्फ निवेदन, सम्झौता वा कानुनी रायको मस्यौदा तयार गर्न सक्नेछन्।

नयाँ कानुन र फैसला अद्यावधिक गरिने

लेक्सईनटोशको कानुनी टोलीले नयाँ कानुन, राजपत्र र सर्वोच्च अदालतका फैसला जारी भएपछि प्रणालीमा अद्यावधिक गर्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार मेरोकेस एकल अभ्यास गर्ने कानुन व्यवसायीदेखि ठूला ल फर्म, कर्पोरेट कानुनी विभाग र मिश्रित कानुनी अभ्यासकर्तासम्मका लागि उपयोगी हुने गरी डिजाइन गरिएको हो।

प्लेटफर्मले प्रशासनिक काम र कानुनी अनुसन्धानमा लाग्ने समय घटाउने तथा ल फर्मभित्र कामको बाँडफाँड व्यवस्थित बनाउने कम्पनीको दाबी छ। वरिष्ठ अधिवक्ताले जुनियर एसोसिएटबाट तयार गरिएको अनुसन्धानलाई स्रोतसहित जाँच गर्न सक्ने भएकाले बहस र रणनीतिमा बढी ध्यान दिन सहयोग पुग्ने कम्पनीले जनाएको छ।

कम्पनीले प्रारम्भिक प्रयोगकर्ताका लागि छुटसहितको ‘अर्ली एडप्टर प्रोग्राम’ पनि ल्याएको छ। यसअन्तर्गत सुरुवाती ग्राहकले सहुलियतपूर्ण मूल्यमा सेवा लिनुका साथै आगामी दिनमा थपिने सुविधामा प्राथमिकता पाउनेछन्।

मेरोकेसबारे थप जानकारी लिन वा डेमो हेर्न merocase.com र lexintosh.com मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?