+
+
Shares

एउटै विश्वकर्मा परम्परा : तीन फरक सामाजिक नियति

विश्वकर्मा पूजा : शिल्पको सम्मान गर्छौं भने शिल्पीको किन गर्दैनौं ?

मधेस र भारतमा विश्वकर्मा समुदायको हैसियत र पहाडी विश्वकर्माको हैसियत किन फरक भयो ? पहाडी विश्वकर्मा समुदाय कहिले र कुन प्रक्रियाबाट व्यापक रूपमा अछूत श्रेणीमा पुग्यो भन्ने प्रश्नको स्पष्ट उत्तर अझै खोजीको विषय हो। हामीलाई सीप आवश्यक थियो, तर सीपको मालिकलाई समान सम्मान दिइएन।

 हीरा विश्वकर्मा  हीरा विश्वकर्मा
२०८३ असोज १ गते १४:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको बिहार र उत्तर प्रदेशमा विश्वकर्मा परम्परासँग जोडिएका बढई वा बरही समुदायलाई ओबीसी सूचीमा राखिएको छ र बढईलाई सिकर्मी तथा लोहारलाई फलामको कामसँग जोडिएको छ।
  • नेपालको मधेसमा बढई, बरही र लोहारजस्ता शिल्पी समुदायलाई पहाडी दलित समुदायबाट अलग सामाजिक समूहका रूपमा वर्गीकृत गरिएको अध्ययनहरूले देखाएका छन्।
  • पहाडी विश्वकर्मा समुदायलाई कामी, लोहार, सुनार, टमटा, चुनारा, पार्की र ओडलगायतसहित दलित वर्गमा राखिएको छ र उनीहरूको इतिहास छुवाछूतसँग जोडिएको लेखमा उल्लेख छ।

आज विश्वकर्मा पूजा। नेपाल र भारतका विभिन्न ठाउँमा विश्वकर्मा पूजाका अवसरमा औजार, मेसिन, सवारीसाधन र अन्य प्राविधिक सामग्रीको पूजा गरिन्छ। विशेषगरी मेकानिक, कारखाना तथा विभिन्न किसिमका प्राविधिक काममा संलग्न मानिसका लागि यो महत्त्वपूर्ण दिन हो।

तर विश्वकर्मा पूजा मनाउँदै गर्दा एउटा सामाजिक प्रश्नमा पनि ध्यान दिन आवश्यक छ- विश्वकर्मा नाम र परम्परासँग जोडिएका समुदायको सामाजिक हैसियत भारत, नेपालको मधेस र नेपालको पहाडमा किन फरक छ ?

भारतको बिहार र उत्तर प्रदेशमा विश्वकर्मा परम्परासँग जोडिएका बढई वा बरही समुदाय मुख्यतः सिकर्मीको कामसँग सम्बन्धित छन्। राष्ट्रिय पिछडा वर्ग आयोगको सामग्रीले बढई/बरहीलाई ‘विश्वकर्माको वंशपरम्परासँग जोडिएको शिल्पी समुदाय’ का रूपमा उल्लेख गरेको छ। बिहारमा उनीहरूका लागि बढईसँगै मिस्त्री, शर्माजी, विश्वकर्मा र ठाकुरजस्ता नाम पनि प्रयोग हुने उल्लेख पाइन्छ।

बिहारको केन्द्रीय ओबीसी सूचीमा बढई/बरही समावेश छन्। भारतमा भने ओबीसी वर्गीकरण राज्यअनुसार फरक हुने भएकाले सबै विश्वकर्मा समुदायलाई एउटै श्रेणीमा राख्न मिल्दैन। बढई र लोहारलाई एउटै जात मानिँदैन।

बढई मुख्यतः काठ तथा सिकर्मीको कामसँग जोडिन्छन् भने लोहार फलामको कामसँग। तर दुवै समुदाय ‘विश्वकर्मा शिल्प परम्परा’ सँग जोडिएका पाइन्छन्। यसले विश्वकर्मा पहिचान केवल एउटा ‘जात’ भन्दा पनि विभिन्न शिल्प र पेसासँग जोडिएको ‘व्यापक परम्परा’ भएको देखाउँछ।

मधेसमा फरक सामाजिक अवस्था

नेपालको मधेसमा पनि बढई, बरही र लोहारजस्ता शिल्पी समुदायको सामाजिक इतिहास पहाडी विश्वकर्मासँग उस्तै छैन। उपलब्ध अध्ययनहरूमा मधेसका बढई तथा लोहारलाई पहाडी दलित समुदायबाट अलग सामाजिक समूहका रूपमा वर्गीकृत गरिएको पाइन्छ। केही स्रोतले उनीहरूलाई ‘पिछडा वर्ग’ अन्तर्गत राखेको देखाउँछन्।

यसको अर्थ मधेसका यी समुदायले विभेद भोगेका छैनन् भन्ने होइन। प्रश्न यति मात्र हो कि नेपालकै दुई भौगोलिक क्षेत्रमा मिल्दोजुल्दो शिल्प र पेसासँग जोडिएका समुदायको जातीय वर्गीकरण फरक छ।

पहाडी विश्वकर्माको अवस्था

पहाडी विश्वकर्मा नेपालको १० ठूला जनसङ्ख्याको सूचीमा ५.४ प्रतिशतसहित छैटौं नम्बरमा आउँछन्। उनीहरूको इतिहास भने छुवाछूतसँग जोडिएको छ। कामी, लोहार, सुनार, टमटा, चुनारा, पार्की, ओडलगायत समुदाय परम्परागत रूपमा विभिन्न शिल्प र सीपसँग सम्बन्धित छन् र राज्यको ‘दलित वर्गीकरण’ मा समेटिएका छन्।

यहाँ एउटा ठूलो विरोधाभास देखिन्छ- समाजलाई फलामका औजार चाहिन्थे, हतियार चाहिन्थे, कृषि उपकरण चाहिन्थे, गहना चाहिन्थे र विभिन्न निर्माणका लागि शिल्पी चाहिन्थे। तर ती काम गर्ने मानिसलाई सामाजिक रूपमा समान व्यवहार गरिएन। अर्थात् सीप आवश्यक थियो, तर सीपको मालिकलाई समान सम्मान दिइएन।

पहाडी विश्वकर्मा समुदाय कहिले र कुन प्रक्रियाबाट व्यापक रूपमा ‘अछूत’ श्रेणीमा पुग्यो ? भन्ने प्रश्नको स्पष्ट उत्तर अझै खोजीको विषय हो। ‘मुलुकी ऐन १९१०’ ले भने त्यसअघि विद्यमान सामाजिक श्रेणीकरणलाई कानुनी रूपमा व्यवस्थित र संस्थागत गरेको थियो। त्यसमा कामीलाई पानी नचल्ने तथा छोइछिटो लाग्ने समूहमा राखिएको थियो।

त्यसैले विश्वकर्मा समुदायको इतिहासलाई केवल ‘तल्लो पेसा’ को परिणाम भनेर बुझ्नु पर्याप्त हुँदैन। यसमा धार्मिक मान्यता, पेसागत विभाजन, सामाजिक शक्ति, राजनीतिक संरचना र राज्यको कानुनी व्यवस्थाको भूमिका खोज्न आवश्यक छ।

विश्वकर्मा देवता र वास्तविक विश्वकर्मा

हिन्दू धार्मिक परम्परामा विश्वकर्मालाई ‘देवताका शिल्पी तथा वास्तुकार’ का रूपमा सम्मान गरिन्छ। त्यसैले विश्वकर्मा पूजा मूलतः शिल्प, निर्माण र प्राविधिक ज्ञानसँग जोडिएको सांस्कृतिक परम्परा हो।

तर यहाँ अर्को प्रश्न उठ्छ- विश्वकर्मालाई देवताका रूपमा सम्मान गर्ने समाजमा विश्वकर्मा परम्परासँग जोडिएका वास्तविक शिल्पीको सामाजिक हैसियत किन फरक भयो ?

नेपालका विभिन्न मन्दिरमा मूर्ति बनाउने काम सुनार तथा अन्य शिल्पी समुदायले गर्ने गरेको मौखिक परम्परा विश्वकर्मा समुदायमा पाइन्छ। मूर्ति बनाएर मन्दिरलाई हस्तान्तरण गर्ने शिल्पीले त्यसपछि त्यही मूर्तिलाई छुन नपाउने अवस्थाका कथाहरू पनि सुनिन्छन्।

यस विषयमा व्यवस्थित ऐतिहासिक अभिलेख होला। तर यस्तो मौखिक इतिहासले उठाउने प्रश्न भने महत्त्वपूर्ण छ- मूर्ति बनाउने व्यक्तिको हातबाट बनेको वस्तु पवित्र हुन सक्छ भने त्यो हात अपवित्र कसरी भयो ? यही प्रश्न जात व्यवस्थाको विरोधाभास बुझ्न उपयोगी हुन्छ।

अयोध्याको रामलला मूर्ति र विश्वकर्मा शिल्प परम्परा

समकालीन भारतमा यसको एउटा चर्चित उदाहरण अयोध्याको राममन्दिरमा स्थापित ‘रामलला’ को मूर्ति हो। उक्त मूर्ति मैसुरुका मूर्तिकार अरुण योगिराजले निर्माण गरेका हुन्। उनी पुस्तौंदेखि मूर्तिकला गर्दै आएको शिल्पी विश्वकर्मा परिवारबाट आएका हुन्। उनका परिवारका अघिल्ला पुस्ताले पनि मूर्तिकला गरेका थिए।

कतिसम्म भने उनको परिवारको ‘मूर्ति शिल्प’ लाई मैसुरुका राजघरानाले अहिलेको भाषामा ‘पेटेन्ट’ गर्दै अन्य विभिन्न मन्दिरहरूको मूर्ति स्थापनामा प्रयोग गरेको देखिन्छ। यसले विश्वकर्मा परम्परासँग जोडिएको शिल्प ज्ञान आधुनिक समयमा पनि कति महत्त्वपूर्ण छ भन्ने देखाउँछ।

तर यही क्षेत्रको अर्को विश्वकर्मा समुदायले ओबीसी वा अन्य सामाजिक वर्गीकरणअन्तर्गत आफ्नो अधिकारका लागि सङ्घर्ष गरिरहेको हुन सक्छ। नेपालमा भने पहाडी विश्वकर्मा दलित वर्गीकरणमा छन्। त्यसैले हाम्रो मूल प्रश्न फेरि उही हो- एउटै शिल्प परम्परा, तर फरक सामाजिक हैसियत किन ?

भूगोलले जातको सामाजिक हैसियत बदल्छ ?

भारत, नेपालको मधेस र नेपालको पहाडलाई तुलना गर्दा एउटा कुरा स्पष्ट हुन्छ- सामाजिक वर्गीकरण केवल पेसाका आधारमा निर्धारण भएको देखिँदैन। एउटै किसिमको काठको काम गर्ने समुदाय भारतमा ओबीसी हुन सक्छ, नेपालको मधेसमा बढई अलग सामाजिक समूहका रूपमा वर्गीकृत हुन सक्छ। त्यहीँ पहाडी क्षेत्रमा फलाम, सुन, तामा, काठ वा अन्य शिल्पसँग सम्बन्धित विश्वकर्मा समुदाय दलित वर्गमा पर्न सक्छ।

यसले ‘जात व्यवस्था स्थिर र एउटै नियमबाट बनेको संरचना होइन’ भन्ने देखाउँछ। यसको विकास भूगोल, इतिहास, धार्मिक मान्यता, राजनीतिक शक्ति र सामाजिक सम्बन्धसँग जोडिएको छ।

विश्वकर्मा समुदायको इतिहासमा अर्को अनुसन्धानको विषय पनि छ- के पहाडी विश्वकर्मा समुदाय सधैं शासित र सीमान्तकृत मात्र थियो ? विभिन्न स्थानीय परम्परा, विशेषगरी सैनिक, हतियार निर्माण र शिल्पसँग सम्बन्धित कथाहरूले उनीहरूको भूमिका राज्य र राजनीतिक संरचनासँग पनि जोडिएको देखाउँछन्। यसबारे थप ऐतिहासिक अनुसन्धान आवश्यक छ।

विश्वकर्मा पूजाको अर्थ के हो ?

विश्वकर्मा पूजाको धार्मिक पक्ष आफ्नै ठाउँमा छ। तर यो दिनलाई श्रम र सीपको सम्मान गर्ने अवसरका रूपमा पनि लिन सकिन्छ। हामीलाई औजार बनाउने मानिस चाहिन्छ। मेसिन बनाउने र मर्मत गर्ने मानिस चाहिन्छ। घर बनाउने, गहना बनाउने, फलाम र तामाका सामग्री बनाउने मानिस चाहिन्छ। आधुनिक अर्थतन्त्रमा पनि यिनै सीपको महत्त्व छ।

त्यसैले विश्वकर्मा पूजाको दिन एउटा प्रश्न उठाउनु आवश्यक छ- हामी विश्वकर्माको पूजा गर्दै छौं कि विश्वकर्माको शिल्पको ? र यदि शिल्पको सम्मान गर्छौं भने शिल्पीको सम्मान किन फरक हुन्छ ? एउटै विश्वकर्मा परम्परा- कतै ब्राह्मण जस्तो पहिचान, कतै पिछडा वर्ग, कतै दलित। आखिर फरक के हो- सीपमा, धर्ममा, भूगोलमा कि जात व्यवस्थाको सामाजिक इतिहासमा ?

यो प्रश्नको पूर्ण उत्तर अझै खोज्न बाँकी छ। तर विश्वकर्मा पूजाको अवसरमा यो प्रश्न उठाउनु भने आवश्यक छ। किनकि सीपको सम्मान र सीप गर्ने मानिसको सम्मान अलग–अलग कुरा हुन सक्दैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?