+
+
Shares

लुम्बिनी प्रदेश सांसद काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

जसपा नेपालकी लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते १४:५४

६ असोज,बुटवल । जनता समाजवादी पार्टी (जसपा) नेपालकी लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले मंगलबार प्रदेश सभा सदस्य काफ्लेलाई पदमुक्त गर्ने लुम्बिनी प्रदेश सभा सचिवालयको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चले अन्तरिम आदेशका लागि छलफलमा झिकाउने आदेशसमेत गरेको छ ।

पार्टी केन्द्रको निर्णयबाट पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित भइसकेका संसदीय दलका नेता सन्तोषकुमार पाण्डेको सिफारिसमा प्रदेश सभा सचिवालयले काफ्ले पदमुक्त भएको सूचना निकालेको थियो । त्यसविरुद्ध उनी सर्वोच्च अदालतमा पुगेकी थिइन् ।

प्रदेश सभा अधिवेशन चालु नरहेको अवस्थामा सभामुख तुलाराम घर्तीको निर्देशनअनुसार काफ्लेलाई पदमुक्त गरिएको थियो ।

पार्टी केन्द्रीय समितिको बैठकले संसदीय दलका नेता पाण्डे, भण्डारीलाल अहिर, आदेश अग्रवाल र हेमा केसी बेल्बासेलाई पार्टीको निर्देशनविपरीत मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिएपछि पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरी सो को जानकारी पत्र प्रदेश सभा सचिवालयलाई  दिएको थियो ।

उक्त पत्रबारे भने सभामुख र प्रदेश सभा सचिवालय मौन रहनुले सभामुखको तटस्थ र निष्पक्ष भूमिकामाथि प्रश्न उठेको जसपा नेपाल र अन्य विपक्षी दलहरुले बताउँदै आएका छन् ।

जसपा नेपालले प्रदेश सभा सचिवालयमाथि छानबिन र कारबाहीको माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?