+
+
Shares

राष्ट्रसंघको महासभामा इरानी राष्ट्रपतिले भने- इरानी जनता आतंकवादका पीडित हुन्

पेजेस्कियानले सम्बोधन सुरु गरेलगत्तै अमेरिकी प्रतिनिधिमण्डल महासभाबाट बाहिरिएका थिए । यसअघि हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गर्दा इरानी र क्युबाली प्रतिनिधिमण्डल महासभाबाट बाहिरिएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते २१:४२

संयुक्त राष्ट्रसंघको महासभामा इरानी राष्ट्रपति मसुद पेजेस्कियानले सम्बोधन गरेका छन् । उनले सम्बोधन गर्दा अमेरिकी प्रतिनिधिमण्डल भने महासभामा उपस्थित थिएन ।

पेजेस्कियानले सम्बोधन सुरु गरेलगत्तै अमेरिकी प्रतिनिधिमण्डल महासभाबाट बाहिरिएका थिए । यसअघि हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गर्दा इरानी र क्युबाली प्रतिनिधिमण्डल महासभाबाट बाहिरिएका थिए ।

महासभालाई सम्बोधन गर्दै इरानी राष्ट्रपति पेजिस्कियानले अमेरिका र इजरायलको आक्रमणको निन्दा गरे । उनले इरानी जनता ‘आतंकवादका पीडित भएको’ टिप्पणी गरे । उनले इरानमाथि भएका अमेरिकी हमला अवैध भएको दाबी गर्दै महासभामा निन्दा गरेका हुन् ।

‘म त्यही इरानबाट आएको हुँ, जहाँ हाम्रा सम्मानित सर्वोच्च नेता कुनै कानुनी प्रक्रिया वा कारणबिना हत्या गरिए,’ उनले भने । उनले यसो भनिरहँदा अमेरिका र इजरायलको हमलामा मारिएका इरानका तत्कालीन सर्वोच्च नेता आयतुल्लाह अलि खामेनीको तस्वीर हातमा बोकेर महासभालाई देखाएका थिए ।

‘म त्यही इरानबाट आएको हुँ, जहाँ वास्तवमा एउटा विद्यालयमा बमबारी गरियो,’ उनले फेरि विद्यालयको तस्वीर देखाउँदै भने ।

पेजेस्कियानले इरानले अमेरिकी आक्रमणको जवाफ दिएको पनि दाबी गरे ।

‘उनीहरू वरपरका क्षेत्रमा प्रवेश गरे र हाम्रा विश्वविद्यालय, स्वास्थ्य केन्द्र, विद्यालय, अस्पताल तथा पूर्वाधारलाई निशाना बनाए–यी सबै अन्तर्राष्ट्रिय कानुनविपरीत थिए,’ पेजिस्कियानले भने ।

उनले अमेरिका र इजरायलको आक्रमणपछि इरानले पूर्ण शक्तिका साथ आफ्नो रक्षा गरेको पनि दाबी गरे ।

‘हाम्रा निर्दोष जनता हाम्रो देशमाथि थोपरिएका कायरतापूर्ण आक्रमण र आक्रामणका निशाना बने,’ उनले भने, ‘हामीले पूर्ण शक्तिका साथ आफ्नो रक्षा गर्‍यौँ ।’

‘इरानले २०० वर्षमा कसैमाथि आक्रमण गरेको छैन’

इरानी राष्ट्रपति पेजिस्कियानले पछिल्ला २०० वर्षमा इरानले कसैमाथि आक्रमण नगरेको दाबी गरे । तर, इरानलाई क्षेत्रीय अस्थिरताको स्रोत र आतंकवादीका रूपमा चित्रण गरिएको भन्दै उनले आपत्ति जनाए ।

‘हामी आक्रमण वा आक्रामकता गर्न शक्ति खोज्दैनौँ,’ उनले भने, ‘हामी प्रगतिका लागि ऊर्जा चाहन्छौँ, समाजलाई हतियारमार्फत धम्की दिन होइन ।’

‘परमाणु हतियार बनाउँदैनौं, आणविक प्रविधिको अधिकार छ’

पेजेस्कियानले इरानले परमाणु हतियार निर्माण गर्न नखोजेको आफ्नो दाबी गरे । तर उनले आणविक ऊर्जासहित शान्तिपूर्ण आणविक प्रविधि प्रयोग गर्ने अधिकार इरानसँग रहेको बताए ।

‘हामी प्रगतिका लागि ऊर्जा चाहन्छौँ, समाजलाई हतियारमार्फत धम्की दिन होइन,’ उनले भने, ‘हामी टाउको झुकाउने छैनौँ र स्वाभाविक रूपमा हाम्रो अधिकार रहेको अधिकार त्याग्ने छैनौँ ।’

इरानमाथि यसरी दबाब दिइँदा इजरायलसँग परमाणु हतियार रहेको तर उसमाथि निरीक्षण नहुने भन्दै उनले प्रश्न उठाए । उनले इजरायल परमाणु अप्रसार सन्धिको हस्ताक्षरकर्ता समेत नभएको उल्लेख गर्दै भने, ‘तर निरीक्षकहरूलाई इरानमा आउन भनिन्छ ।’

पेजेस्कियानले इजरायलले गाजामा ७० हजारभन्दा बढी निर्दोष मानिसको ‘क्रूरतापूर्वक हत्या’ गरेको आरोप पनि लगाए । तर वार्ताको टेबलमा रहेको इरानमाथि बमबारी गरिएको उनले बताए ।

‘प्यालेस्टाइनको बेवास्ता गरेर शान्तिको कुरा गर्न सकिँदैन’

महासभामा इरानी राष्ट्रपतिले प्यालेस्टाइनलाई बेवास्ता गरेर शान्तिको कुरा गर्न नसकिने पनि बताए ।

‘गाजामा निरन्तर भइरहेको हत्या र व्यापक विनाशका बाबजुद यसले प्रतिरोधप्रतिको जनताको विश्वासलाई बलियो बनाएको छ । बम र नाकाबन्दीबाट प्रतिरोधलाई नष्ट गर्न सकिँदैन, यो मानव स्वभाव हो,’ उनले भने ।

यदि कुनै मानिसलाई आफ्नो भूमिबाट निकालिन्छ भने उसले प्रतिरोध गर्ने उनले बताए । ‘यदि उसको घरमा बमबारी, आक्रमण र हिंसा हुन्छ भने उसले प्रतिरोध गर्छ । उनीहरूसँग अर्को विकल्प के छ ?’, उनले प्रश्न गरे ।

‘इरान कहिल्यै घुँडा टेक्दैन’

पेजेस्कियानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नामै लिएर आफ्नो सम्बोधन टुंग्याए ।

‘प्रतिबन्ध, बढ्दो दबाब र बढ्दो धम्कीको सामना गर्दा इरानी जनताको प्रतिरोध अझ बढ्नेछ भन्ने कुरा उनले बुझ्नुपर्छ,’ उनले भने, ‘हामी कहिल्यै टाउको झुकाउने छैनौँ, न त घुँडा टेक्नेछौँ ।’

उनले इरानलाई धम्की दिनेहरूले यो बुझ्नुपर्ने बताए । उनले अगाडि भने, ‘श्री ट्रम्प र हामीलाई धम्की दिन खोज्नेहरूले यो बुझ्नुपर्छ कि हामी शक्ति प्रयोगको भाषा स्वीकार नगरी संवाद, कूटनीति र वार्ताका लागि तयार छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?