+
+
Shares

घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझौं : रास्वपा सांसद रेग्मी

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते ११:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नयाँ न्यूनचापीय प्रणालीका कारण भारी वर्षाको सम्भावना बढेसँगै सांसद डा. धनञ्जय रेग्मीले बाढी र पहिरोको जोखिमबारे सतर्कता अपनाउन आग्रह गरेका छन्।
  • प्रतिनिधि सभा बैठकमा उनले पहिरोका पूर्वसंकेत जस्तै जमिनमा चिरा, धसावट र ढल्केका रुखबारे नागरिकलाई सचेत गराउन सरकारको ध्यानाकर्षण गराए।
  • उनले एफएम, टेलिभिजन, मोबाइल एप्स, कलरिङ ब्याक टोन र सामाजिक सञ्जालमार्फत पहिरोका पूर्वसंकेतबारे व्यापक जनचेतना फैलाउन सरकारलाई आग्रह गरे।

८ असोज, काठमाडौं । नेपालमा विकसित न्युन चापीय प्रणालीका कारण आगामी केही दिन भारी वर्षाको सम्भावना बढेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. धनञ्जय रेग्मीले बाढी र पहिरोको जोखिमबारे गम्भीर सतर्कता अपनाउन आग्रह गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले घरमै बस्ने सूचना मात्र पर्याप्त नभई, पहिरोका पूर्वसंकेतहरू पहिचान गर्न नागरिकलाई सचेत गराउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद रेग्मीले पहाडी क्षेत्रमा बसोवास गर्ने नागरिकहरूले आफ्नो घर वरपरको भू–धरातलप्रति विशेष निगरानी राख्नुपर्नेमा जोड दिएका छन् । साथै, उनले पहिरो जानुअघि जमिनमा देखिने असामान्य संकेतहरू जस्तै: जमिनमा नयाँ चिरा पर्नु, जमिन धसिनु, रुख वा बिजुलीका खम्बा अस्वाभाविक रूपमा ढल्किनु, घरको जगमा चिरा देखिनु वा पहिले नभएको स्थानबाट अचानक पानी निस्कनुजस्ता लक्षणप्रति सजग रहन आग्रह गरे ।

यस्ता संकेत देखिएमा जोखिमयुक्त घरमा नबसी समयमै सुरक्षित स्थानमा सर्न उनको सुझाव छ ।

विगतमा रातिको समयमा पहिरोले मानिस सुतिरहेकै अवस्थामा घर पुरिँदा ठूलो मानवीय क्षति भएका घटनाहरूलाई स्मरण गर्दै उनले सरकारसँग स्पष्ट माग गरे ।

‘सरकारले घर बाहिर ननिस्कन आग्रह गर्नु सकारात्मक छ, तर घर वरपरको जमिन कत्तिको सुरक्षित छ भन्ने कुराको जानकारी जनतालाई दिनु झनै जरुरी छ,’ उनले भने ।

बाढीको जोखिमलाई मात्र हेर्ने प्रवृत्तिभन्दा माथि उठेर पहिरोको पूर्वसंकेतलाई प्राथमिकताका साथ प्रचार–प्रसार गर्न उनले आग्रह गरेका हुन् ।

आगामी दिनमा एफएम रेडियो, टेलिभिजन, मोबाइल एप्स, कलरिङ ब्याक टोन र सामाजिक सञ्जालमार्फत पहिरोका पूर्वसंकेतबारे सरल भाषामा व्यापक जनचेतना फैलाउन उनले सरकारलाई आग्रह गरे । विपद् आएपछि उद्धारमा जुट्नुभन्दा सही सूचना समयमै जनताको घर–घरमा पुर्‍याएर ज्यान जोगाउनु नै प्रभावकारी विपद् व्यवस्थापन भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?