+
+
Shares

हिमालय एयरलाइन्सले काठमाडौं-सांघाई-काठमाडौं सिधा उडान फेरि थाल्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते १२:०३

८ असोज, काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं- सांघाई- काठमाडौं पुनः सिधा उडान गर्ने भएको छ ।

हिमालयले त्रिभुवन विमानस्थलबाट पुडोङ अन्तर्राष्ट्रिय विमानस्थल सांघाई सोमबार, सेप्टेम्बर २८, २०२६ देखि नियमित सिधा उडान सेवा पुनः सुरु गर्ने घोषणा गरेको हो ।

उडान सेवा पुनः सुरु भएसँगै हिमालय एयरलाइन्स काठमाडौं-सांघाई-काठमाडौं मार्गमा नियमित सिधा उडान सञ्चालन गर्ने एकमात्र वायुसेवा कम्पनी बन्नेछ । यससँगै नेपाल र चीनको प्रमुख विश्वव्यापी महानगरमध्ये एक सांघाईबीचको रणनीतिक रूपमा महत्त्वपूर्ण हवाई सम्पर्क पुनःस्थापित हुनेछ ।

काठमाडौं- सांघाई- काठमाडौं उडानले यात्रुहरूलाई नेपालको राजधानी काठमाडौँ र चीनको सबैभन्दा ठूलो शहर तथा प्रमुख विश्वव्यापी वित्तीय केन्द्र सांघाईबीच सहज र सिधा हवाई यात्रा सुविधा प्रदान गर्नेछ ।

काठमाडौं- सांघाई- काठमाडौंले यात्रुलाई सुविधाजनक, सुरक्षित र प्रभावकारी यात्रा सेवा प्रदान गर्ने हिमालय एयरलाइन्सको प्रतिबद्धतालाई थप मजबुत बनाउने कम्पनीको भनाई छ । यसले नेपाल–चीन द्विपक्षीय सम्बन्ध तथा दुई देशका जनताबीचको सम्पर्क र आदानप्रदानलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने समेत कम्पनीको भनाई छ ।

नेपालको मुख्य पर्यटन सिजनको सुरुवातसँगै हवाई सेवा पुनः सञ्चालन हुनुले यस रुटको रणनीतिक महत्वलाई थप बढाउनेछ । यस रुटले चीनबाट नेपाल आउने पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि ल्याउनुका साथै समग्र आतिथ्य तथा पर्यटन क्षेत्रलाई समेत सकारात्मक योगदान पुर्‍याउने कम्पनीको भनाइ छ । यसले नेपालको आर्थिक पुनरुत्थान तथा आर्थिक वृद्धिका लक्ष्यलाई समेत सहयोग पुर्‍याउनेछ ।

हिमालय एयरलाइन्सले सुरुमा यस रुटमा साप्ताहिक दुई उडान सञ्चालन गर्नेछ । काठमाडौं–सांघाईतर्फका उडानहरू हरेक सोमबार र शुक्रबार प्रस्थान गर्नेछन् भने सांघाई–काठमाडौं फर्कने उडानहरू हरेक मंगलबार र शनिबार सञ्चालन हुनेछन् । यात्रुको माग तथा उडानको यात्रु भारका आधारमा आगामी दिनमा उडान संख्या थप गर्ने बताएको छ ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले काठमाडौं–सांघाई–काठमाडौं रुटमा नियमित उडान पुनः सञ्चालन हुन लागेको बताए । उनले हिमालय एयरलाइन्स नेपाल र चीनबीच व्यापार, पर्यटन तथा जनस्तरको सम्पर्क मजबुत बनाउन तत्पर रहेको बताए ।

उनले भनेका छन्, ‘हामीले सधैं चीनमा नयाँ नयाँ गन्तव्य खोज्दै नियमित उडान सञ्चालन गर्दै आएका छौँ । काठमाडौं-सांघाई-काठमाडौं रुटमा पूनः सुरु हुन लागेको यस उडानले दुई राष्ट्रका नागरिक–नागरिक बीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्धन गर्ने हाम्रो एयरलाइन्स्को उद्देश्यलाई प्रोत्साहन गर्दछ ।’

हिमालय एयरलाइन्स नेपाल–चीन बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हो । यसको स्थापना सन् २०१४ मा भएको थियो । हिमालय एयरलाइन्ससँग हाल ४ वटा विमान छन् ।

हिमालय एयरलाइन्सले हाल मध्यपूर्व र दक्षिण एशियाका राष्ट्र संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनमा यात्रुवाहक उडान सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?