+
+
Shares

भिसा दुरुपयोग गरी विराटनगरमा व्यापार गरिरहेका चिनियाँ नागरिक पक्राउ

विराटनगरको सेन्ट्रल मलमा ६ वटा सटरमा सञ्चालनमा रहेको ‘योनो मार्ट’ दोलखा जिरीका धिरेन बिकेको नाममा दर्ता छ । बिकेलाई चिनियाँ समूहले ‘डमी’ साझेदार बनाएको प्रहरीको दाबी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते १७:५७

८ असोज, विराटनगर ।  विराटनगरको सेन्ट्रल मलमा पसल सञ्चालन गरेर बसेका चिनियाँ नागरिक पक्राउ परेका छन् ।

सूचना प्रविधि (आईटी) कम्पनीमा वैदेशिक लगानी भित्र्याउने अनुमति लिएर विराटनगरमा खुद्रा पसल योनो मार्ट सञ्चालन गरिरहेका चिनियाँ नागरिक जिङ्सियान सिएलाई पक्राउ गरेको हो ।

बुधबार प्रहरी, जिल्ला प्रशासन कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयको संयुक्त टोली अनुगमनका लागि पुगेका थियो । तर, अनुगमन टोलीलाई चिनियाँ नागरिकले अवरोध गरेका थिए ।

अनुगमनमा अवरोध गरेपछि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । जसमा भिसाको उद्देश्य नै दुरुपयोग गरेको देखिएको मोरङ प्रहरी प्रमुख कवित कटवालले जानकारी दिए ।

उनका अनुसार मार्ट भने नेपाली नागरिकको नाममा दर्ता छ । तर, सञ्चालन भने चिनियाँ नागरिकले गर्दैआएका थिए ।

अनुगमनका क्रममा बिल छलेर व्यापार सञ्चालन भइरहेको भेटिएपछि मार्टमा प्रशासनले सिलबन्दी समेत गरेको छ ।

नेपालको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन अनुसार खुद्रा व्यापार (रिटेल बिजनेस) मा विदेशी लगानी ल्याउन पाइँदैन । तर, यो चिनियाँ समूहले काठमाडौंमा सूचना प्रविधि कम्पनी दर्ता गरेर विराटनगर घरायसी खुद्रा सामग्री बिक्री गरेको  गराएको पाइएको छ ।

यो समूहले २०८२ कात्तिक २३ गते ‘तोङ आईटी ग्रुप प्राइभेट लिमिटेड’ कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरेको थियो । तर, वर्षको २४ वटा सफ्टवेयर उत्पादन गर्ने दाबी गरेको यो समूहले आईटीको कुनै काम नगरी चीनबाट घरायसी सामान ल्याएर खुद्रा पसल चलाउँदै आएको प्रहरी स्रोतले बताएको छ  ।

विराटनगरको सेन्ट्रल मलमा ६ वटा सटरमा सञ्चालनमा रहेको ‘योनो मार्ट’ दोलखा जिरीका धिरेन बिकेको नाममा दर्ता छ । बिकेलाई चिनियाँ समूहले ‘डमी’ साझेदार बनाएको प्रहरीको दाबी छ ।

नेपाल आउजाउ गरिरहेका जिंसियान सन् २०२६ जुलाई २२ मा बिजनेस भिसा लिएका थिए ।

उनीमाथि थप अनुसन्धानका लागि अध्यागमन विभागमा जिम्मा लगाउने मोरङ प्रहरी प्रमुख कटवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?