१३ असोज, काठमाडौं । १ वैशाखदेखि १२ असोजसम्म साढे पाँच महिना अवधिमा झन्डै ३ लाख नयाँ किसान ‘किसान सूचीकरण प्रणाली’ मा दर्ता भएका छन् ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार यस अवधिमा देशभरिबाट २ लाख ९४ हजार ९ सय ८८ नयाँ किसान प्रणालीमा थपिएका हुन् । यससँगै हालसम्म प्रणालीमा सूचीकृत हुने किसानको कुल संख्या २६ लाख ७९ हजार पुगेको छ ।
वास्तविक किसानको सही पहिचान सुनिश्चित गर्दै तथ्यांकमा आधारित कृषि योजना तर्जुमा गर्न मन्त्रालयले यो अभियानलाई तीव्रता दिएको हो ।
राज्यबाट उपलब्ध गराइने सेवा–सुविधामा पारदर्शिता र सुशासन अभिवृद्धि गर्ने उद्देश्यले मन्त्रालय मातहत सम्पूर्ण कार्यालय, निकाय तथा आयोजनालाई कृषि कार्यक्रम सञ्चालन गर्दा लाभग्राही किसानको सूचीकरण दर्ता नम्बर अनिवार्य रूपमा प्रयोग गर्न र गराउन निर्देशन दिइएको छ ।
सरकारी अनुदान, मल वितरण सेवा तथा अन्य सुविधामा वास्तविक किसानको पहुँच सुनिश्चित गर्न यो प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन गर्न मन्त्रालयले आग्रह गरेको छ ।
कृषिमन्त्री गीता चौधरीले पनि पछिल्लो समय किसानलाई सूचीकरणमा अनिवार्य सहभागी हुन विशेष आग्रह गरेकी छिन् ।
वर्गीकरण र प्रमाणीकरण अवस्था
हालसम्मको प्रगति विवरण हेर्दा १ सय २३ पालिकामा किसान सूचीकरणको काम पूर्णरूपमा सम्पन्न भइसकेको छ भने १९ पालिकामा ९० प्रतिशत किसान प्रमाणीकरणको काम सकिएको छ । देशभरिबाट हालसम्म ८ लाख ८२ हजार किसानको प्रमाणीकरण सम्पन्न भइसकेको छ ।
सूचीकरण सम्पन्न भएका १ सय २३ पालिकाका ६ लाख १ हजार २ सय ९६ किसानको विवरण आधार मानेर मन्त्रालयले उनीहरूको वर्गीकरण समेत गरेको छ ।
जसअनुसार सबैभन्दा धेरै २ लाख ८५ हजार ८ सय ८३ निर्वाहमुखी किसान छन् । त्यस्तै १ लाख ६६ हजार ५ सय ४३ साना व्यावसायिक, १ लाख १४ हजार ५ सय ९६ मझौला व्यावसायिक र ३४ हजार २ सय ७४ ठूला व्यावसायिक किसान छन् ।
यद्यपि, वर्गीकरण हुन सक्ने ६ लाख किसान भए पनि वडा तथा पालिका स्तरीय प्रमाणीकरण नभएका कारण त्यस्ता प्रमाणीकरण नभएका किसानलाई हाल परिचयपत्र भने दिन नसकिने मन्त्रालयले स्पष्ट पारेको छ ।
प्रतिक्रिया 4